
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका मलेरिया संक्रमणको न्युन जोखिममा रहेको पाइएको छ । खजुरामा चालु आर्थिक वर्षको हाल सम्म दुई जनामा मलेरिया संक्रमण भेटिएको र उक्त संक्रमण निवाकरण समेत गरिएकाले खजुरा न्युन जोखिममा रहेको हो ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विश्व मलेरिया दिवश मनाउने क्रममा गरिएको बहुनिकाय अन्तरक्रियामा शाखाका प्रमुख दिपक ढकालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा ५२१ जनामा परिक्षण गरिएकोमा ९६ जना सक्रिय खोज पडताल गरेको संख्या रहेको स्वास्थ्य शाखाले जनाएको छ । मलेरिया देखिएकोमा वडा नम्बर १ राधापुरमा एक जनामा र वडा नम्बर ६ पुरैनामा एक जनालाई गरि कुल दुई जनामा भेटिएको हो । दुबैजना भारतबाट आएका विरामि रहेको शाखा प्रमुख ढकालले जानकारी दिए ।
अन्तरक्रियामा स्वास्थ्य कार्यालय बाँकेका मलेरिया फोकल पर्शन दुर्गा गौतमले बाँके लुम्बिनी प्रदेशकै जोखिममा रहेको र त्यसमा पनि नरैनापुर गाउँपालिका वडा नम्बर २ र ३ अति जोखिम अवस्थामा रहेको उल्लेख गरिन् । जसमा महिला भन्दा बढि पुरुषमा देखिएको छ । नरैनापुर जोखिम अवस्थामा रहेपनि थप मलेरिया फैलन नदिन संक्रमण नियन्त्रणका कार्यहरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका मलेरिया फोकल पर्सन गौतमले जानकारी दिइन । जिल्लामा गरिएका नियन्त्रणका कार्यहरु प्रभावकारी रहेकोले थप फैलन नपाएको उनले उल्लेख गरिन् । अन्तरक्रियामा बोल्नेहरुले झुलको प्रयोग नै मलेरिया बाट जोगिने उपयुक्त उपाए रहेको बताएका थिए ।
अन्तरक्रियाको अध्यक्षता ग्रहण गरेकी सामाजिक विकास संयोजक कृष्णा पोखरेल विकले समुदायमा रहेका स्थानियहरु सक्रिय भएर संक्रमणको विरुद्ध नलागेमा कम हुनुको साटो बढ्दै जाने भएकाले यसतर्फ सचेत रहन आग्रह गरिन । मलेरियाको संक्रमण बढ्न नदिन परिक्षणको दायरा बढाउनु पर्ने सहभागिहरुले जोड दिए । औलो अर्थात मलेरियाको न्यनिकरणका लागि निजि क्षेत्रलाई समेत समेटेर कार्यक्रम बनाउन आवश्यक रहेको बताउँदै सहभागिले स्थानिय तहमा औलो कार्यक्रमको लागि बजेट विनियोजन गर्न जरुरी रहेको बताएका थिए । कार्यक्रममा जनप्रतिनिधि, ८ वटै वडामा रहेका स्वास्थ्यकर्मि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
