
खगेन्द्र दाहाल : खजुरा गाउँपालिका वडा नम्बर ६ पुरैनामा निर्माणाधिन औद्योगिक ग्राम अलपत्र अवस्थामा छ । नेपाल सरकारको मन्त्रि परिषद बाट २०७६ साल असोज ७ गते खजुरामा औद्योगिक ग्राम बनाउने निर्णय भएको थियो । देशैभरी जम्मा ३२ वटा गाउँपालिका स्तरमा औद्योगिक ग्राम बनाउने निर्णय भएकोमा खजुरा पनि एक थियो ।
खजुरा गाँउपालिकाको भित्र वडा नम्बर ६ पुरैना स्थित नेपालसरकारको नाममा रहेको जग्गा जो साविकको उढरापुर गाविस वडा नम्बर २ मा पर्दछ । हालको कित्ता नम्बर ७०, ९५ लाई २१ विगाह भित्रबाट पनि यि दुई कित्ताहरु लिन सफल भएको देखिन्छ । यो क्षेत्रमा जाने गरि १३९ र १४० कित्ताका जग्गाधनीहरुलाई समेत मनाएर औद्योगिक ग्राम निर्माण गरिने ठाँउ जाने बाटो निर्माण गर्ने कार्य पनि गरिसकेको अवस्था छ । १६ विगाह क्षेत्रफललाई तारबार गर्ने, भित्रि जग्गाहरुको ले आउट छुट्टाउने, चौकीदार भवन निर्माण गर्ने लगाएतका कार्य अय अघिको गाँउपालिकाको सरकारले गरिसकेको छ । विचमा भु माफियाहरुले जग्गा अतिर्कमण गर्ने कार्य गरेको, बस्ति बसालेको त्यस विचमा प्रहरी प्रशासनको सहयोगमा उक्त बस्तिलाई हटाइएको थियो ।
सरकारको यस जमिनमा भु– माफियाहरुको गिद्धे नजर लागिसकेको छ । भु– माफियाहरुको त्यो कार्य असफलहुदाँ अहिले सर्बोच्च अदालतमा उक्त जमिन व्यक्तिको हो नेपालसरकारबाट फिर्ता हुनु पर्छ भनेर मुद्धा समेत परेको अवस्था छ । संरक्षित जमिनलाई भु माफियाहरुले गिद्धे नजर लगाउदाँपनि अहिलेको स्थानिय सरकार चुप लागेको बसेको स्थानिय गुनासो गर्छन । नेपालसरकारद्धारा हाल सम्म दुई पटक गरि करिब १ करोड ८४ लाख बजेट उक्त औद्योगिक क्षेत्र निर्माणका लागि आएको र त्यसैबाट बाटो, तारबार, चौकीदार भवन लगाएतको काम भएको खजुरा गाँउपालिकाका सुचना अधिकारी दिल बहादुर पौडेलले जानकारी दिए ।
औद्योगिक ग्राम क्षेत्रमा रहेको चौकीदार भवन अहिले जिर्ण अवस्थामा पुग्दैछ भने लगाएको तारबार र गेट पनि उक्काएर चोरी भैसकेका छन । यसको संरक्षणका लागि पालिकाले कुनै पहल नगरेको स्थानिय बताउँछन । औद्योगिक ग्रामका लागि आवश्यक विद्युत, पानि लगाएत गरि कम्तीमा न्युनतम उद्योगहरु संचालन गर्नुपर्नेमा स्थानिय सरकारले आफ्नो कार्य योजनामा नै उक्त कार्यलाई नराखेको स्थानियले गुनासो गरे । औद्योगिक ग्राम खजुरा गाँउपालिकाको एक गौरबको योजना थियो तर अहिले यो कार्यका लागि पालिका सुतेको अनुभव भएको खजुराका उद्योगि व्यवसायि बताउँछन । स्थानिय स्तरमा उत्पादन हुने कच्चा पदार्थलाई सदुपयोग गर्ने हेत्तुले पनि साना तथा मझौला उद्योगहरु तत्काल संचालन गर्न पहलकदमी आवश्यक रहेको खजुराका व्यापारी भक्त गोदारले बताए । खजुरामा संचालन हुने भनिएको औद्योगिक ग्रामले संचालन पछि खजुराको विकासमा टेवा पुगाउने हुदाँ यस तर्फ स्थानिय सरकारको पहलकदमी अति आवश्यक रहेको खजुरा गाउँपालिका वडा नम्बर ४ का पुर्ववडाध्यक्ष तिलकविर सुनारले बताए । २१ विगाह जग्गा भनिएकोमा अहिले पनि कति जमिन पुन कव्जा गरिदै गएको पाइएको छ ।
‘राम्रा कामहरुको निरन्तरता नदिनु जनतालाई धोका दिनु हो’ – कक्षपति
खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले औद्योगिक ग्राम बनाउन र संचालन गर्न पालिकाका नेतृत्वले चासो नदिनु दुखत रहेको बताए । ‘औद्योगिक ग्राम कुल ३२ करोडको योजना हो तर अहिलेको नेत्तृत्वले कुनै चासो दिएको देखिएको छैन– कक्षपतिले भने ।’ नेपालसरकारको बहुवर्षिय योजना भएपनि खजुराको विकासमा यसले एउटा कोषेढुंगा खडा गर्ने थियो । पुरानो स्थानिय सरकारले गरेको राम्रा कामहरुको निरन्तरता दिनुको साटो चासो नै नदिनु खजुराका जनतालाई धोका दिनु सरह हो निवर्तमान अध्यक्ष कक्षपतिले उल्लेख गरे । कक्षपतिले औद्योगिक ग्राम बनेको खण्डमा सयौ जनताले आफ्नै घर नजिक रोजगार पाउने बताए । ‘म गाउँपालिका अध्यक्ष डम्बर जि को टिमलाई आग्रह गर्छु कि खजुराको विकास रोक्नलाई भन्दा बढाउन तिर लाग्नुस्,– कक्षपतिले बताए । औद्योगिक ग्राम सगै थुप्रै गौरबका योजना अलपत्र छन त्यसलाई पनि प्राथमिकता दिन आवश्यक रहेको उनले बताए ।