वैदेशिक रोजगारीबाट फर्केकाको विवरण संकलन गर्दै खजुरा

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा वैदेशिक रोजगारीमा गएका र फर्केकाहरुको विवरण संकलन गर्न सुरु गरिएको छ । वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन नियन्त्रणका लागि योजना निर्माण गर्ने उदेश्यले उक्त विवरण संकलन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष एकमाया विकले जानकारी दिइन् ।

गाउँपालिकामा गठित मानव बेचबिखनविरुद्धको समितिले एक वर्षमा गरेका कामहरुको सार्वजनिक समीक्षा कार्यक्रममा विकले सो जानकारी दिएकी हुन् । उक्त समितिका संयोजक समेत रहेकी विकले माइति नेपाल, सामी परियोजना लगायतका संस्थाहरुसँग सहकार्य गरी मानव बेचबिखनविरुद्धको कार्ययोजना निर्माण गरिएको र सोही योजनाअनुरुप तथ्यांक संकलन गर्न लागिएको जानकारी दिइन् ।

विकका अनुसार उक्त विवरणमा वैदेशिक रोजगारीमा जानुको कारण, पारिवारिक र आर्थिक अवस्था, फर्केकाहरुको अवस्था र राज्यबाट अपेक्षा लगायतका विषयमा करिब एक सय ६० भन्दा बढी प्रश्नहरुको प्रश्नावली तयार गरी विवरण संकलन गरिँदैछ । तथ्यांक संकलनको जिम्मा सामी परियोजनाले लिएको छ । उक्त विवरणले विशेषगरी रोजगारीको अभावका कारण हुने बेचबिखन नियन्त्रणका लागि योजना बनाउन र रोजगारी वृद्धिका लागि योजना बनाउन सघाउ पुग्ने विश्वास उपाध्यक्ष विकले व्यक्त गरिन् ।

माइति नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बाँकेका चारवटा स्थानीय तहमा मानव बेचबिखनविरुद्ध स्थानीय सरकारलाई नै जिम्मेवार बनाउने परियोजनाअन्तर्गत समितिहरु गठन गरेको जानकारी दिए । तीमध्ये कोहलपुर र खजुराले कार्ययोजना बनाइसकेका छन् भने नेपालगन्ज उप–महानगरपालिका र बैजनाथ गाउँपालिका अन्तिम चरणमा रहेका उनले बताए ।

खजुराले कार्ययोजना निर्माण गरी वडास्तरमा पनि समितिहरु गठन गरिसकेको छ भने वयस्क मनोरन्जन क्षेत्रहरुको व्यवस्थापन निर्देशिका पारित गरेको, वयस्क मनोरन्जन क्षेत्रहरुको अनुगमन गरिएको, आन्तरिक बेचबिखनको जोखिममा परेकाहरुको उद्धार र पुनस्र्थापना गरिएको लगायतका काम गरेको समीक्षा कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, योजना अधिकृत दिलबहादुर पौडेललगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया