मानव अधिकार रक्षकहरुको प्रदेश सम्मेलन सुरु

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षकहरुको लुम्बिनी प्रदेशस्तरीय सम्मेलन आज लुम्बिनी प्रदेशको बुटवलमा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा लुम्बिनी प्रदेशमा मानव अधिकार रक्षकहरुको अवस्था, मानव अधिकार रक्षकका लागि आवश्यक कानून तथा संयन्त्र निर्माण, मानव अधिकार रक्षकका संरक्षणका सम्बन्धमा आयोगको भूमिका र सीमान्तीकृत समुदायका मानव अधिकार रक्षकको विशेष सुरक्षालगायतका विषयमा प्रस्तुति तथा छलफल गरी प्रदेशस्तरीय घोषणापत्र (स्थितिपत्र) जारी हुनेछ । सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १०० जना मानव अधिकारकर्मीको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख माननीय अमिक शेरचनले मानव–मानव बीचको विभेद मानवले नै सिर्जना गरेको, मानव अधिकारको उल्लंघन राज्यबाट नै हुने गरेको, बलात्कार र महिला हिंसाका घटना बढिरहेको र नागरिकहरु गास बास कपास जस्तो न्यूनतम मानव अधिकारबाट समेत बञ्चित भएको हुँदा सबैका सबै अधिकारको सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले लुम्बिनी प्रदेश मानव अधिकार रक्षकको कानुन जारी गर्ने पहिलो प्रदेश हुनका लागि कार्य गरिरहको बताउनुभयो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक मा.फकरुदिन खाँले मानव अधिकार रक्षकहरुको सुरक्षा सम्बन्धी कानून निर्माणमा आफ्नो पार्टीले आवाज उठाउने धारणा राख्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले मानव अधिकार रक्षकको सुरक्षामा आयोग प्रतिवद्ध रहेको बताउँदै सम्मेलनले मानव अधिकारको बुझाइमा स्पष्टता, कानून निर्माणको अपरिहार्यता, मानव अधिकारको संरक्षणमा सहकार्य तथा समन्वयको औचित्यता, सञ्जालीकरण र मानव अधिकारका कतिपय सवालमा स्पष्टता हुने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा आयोगका लुम्बिनी प्रदेश शाखा कार्यालय प्रमुख उपसचिव झंकरबहादुर रावलले सम्मेलनको औचित्यको बारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रम सञ्चालन आयोगका अधिकृत इन्द्रजित सहनीले गर्नुभएको थियो । उद्घाटन सत्रमा प्रदेश सरकारका प्रमुख सचिव डिल्लीराम शर्मा, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायतले मानव अधिकारको संरक्षण तथा सम्बर्धनमा अग्रपंक्तिमा रहने मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दै सम्मेलनको सफलताको कामना गर्नुभयो ।

प्रतिक्रिया