कोरोना महामारीसँगै सुस्ताएको नेपालको पर्यटक आगमन यसपटक भने जुर्मुराउन खोजेको छ । गत वर्षको फेब्रुअरीभन्दा सन् २०२२ को फेब्रुअरीमा पर्यटक आगमन दोब्बरभन्दा धेरै देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्ष फेब्रुअरीमा नौ हजार १४६ विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएकामा यस वर्षको फेब्रुअरीमा १९ हजार ७६६ जना नेपाल घुम्न आएका छन् । यो ११६.१ प्रतिशतको वृद्धि हो ।
पर्यटक आगमन वृद्धिमा सबैभन्दा धेरै युरोपेली क्षेत्रको छ ।
त्यहाँबाट अघिल्लो वर्षको फेब्रुअरीमा एक हजार १४२ जना मात्र आएकामा यो वर्षको सोही महिनामा चारहजार ८१३ जना आएका छन् । यो ३२१ प्रतिशतले बढेको हो ।
सबैभन्दा धेरै पर्यटक आउने सार्क क्षेत्रबाट पनि करिब ४५ प्रतिशतले बढेर सात हजार २६२ पुगेको áछ । यसमा भारतीय मात्रै करिब छ हजार छन् ।
समग्र आगमनमा सार्क क्षेत्रको हिस्सा ३६ प्रतिशत छ । धेरै मुलुकबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढेको भए पनि चीन र म्यानमारबाट भने घटेको छ ।
चीनबाट अघिल्लो वर्षको फेब्रुअरीमा ७०८ जना पर्यटक आएकामा यसपटक २०५ जना मात्र नेपाल आएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।