नेपालगन्जको रानि तलाउ मण्डिको टमाटरमा अत्याधिक विषादी

प्रदिप राजवंशी,नेपालगन्ज : नेपालगन्जको रानि तलाउ मण्डी थोक तथा खुद्रा तरकारी बजारमा विक्रि वितरण भैरहेको टमाटरमा अत्याधिक विषादी फेला परेको छ ।

रानि तलाउ तरकारी मण्डिमा खान अयोग्य टमाटर फेला परेपछि उक्त तरकारीलाई नष्ट गरिएको छ । खजुरा मनकामनाका एक किसानले उत्पादन गरेको टमाटरमा अत्याधिक विषादी प्रयोग भएको पाइएको हो । विषादी अवशेष दृत विश्लेषण प्रयोगशाला एकाई नेपालगन्जले मंगलबार विहान गरेको परिक्षण गर्दा टमाटरमा विषादी भेटिएको हो । प्रयोगशालाका ना.प्रा.स. ल्याब व्वाय गौरब गौधरीले विहान ११ बजेतिर मण्डिबाट टमाटर परिक्षण गर्न नमुना लगेकोमा विषादी भेटिएको थियो । लिइएको नमुनामा ५२ प्रतिशत विषादी भेटिएको ल्याव व्वाय चौधरीले जानकारी दिए ।

तरकारीमा ३५ प्रतिशत भन्दा कम विषादी भएको खण्डमा मात्र खान लाएकको हुन्छ तर मण्डिमा देखिएको टमाटरमा ५२ प्रतिशत भेटिएको चौधरीले बताए । ३५ देखि ४५ प्रतिशत देखिएको खण्डमा २ देखि ३ दिन क्वारेन्टाइनमा राखेपछि पुन जाँच गर्दा खान योग्य हुन सक्ने ल्याव व्वाय चौधरीले जनाए । पुन चेक गर्दा पनि ३५ प्रतिशत भन्दा कम नआएमा खान नहुने चौधरीले सुझाव दिए । मंगलबार विक्रि भैरहेको टमाटर एक क्यारेट विक्रि भैसकेको थियो । तिन क्यारेट भने नष्ट गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदका अनुसार विषादी युक्त तरकारी खादा तत्काल असर नदेखिएपनि पछि विस्तारै रोगहरुको सिकार हुनुपर्ने हुन्छ ।

जटिल अवस्थाका विरामी, अङ्ग भङ्ग हुने, अपाङ्गता भएका बच्चा जन्मिने लगाएतका थुप्रै समस्या देखा पर्ने हुदाँ बेलैमा सचेत बन्नुपर्ने उनले सुझाव दिए । विषादी अत्याधिक हालेर विक्रि गर्न ल्याउने किसानको पहिचानको टुंगो नलागेकोले खोजी कार्य जारी रहेको ज्ञान केन्द्रले जनाएको छ । हेर्दा राम्रो चिल्लो देखिने उक्त टमाटरमा अत्याधिक विषादी भएपछि तरकारीको चेकजाँचमा कडाई गरिएको छ । कृषि उपज बजार संचालक समितिले किसानहरुलाई बारम्बार विषादी रहित तरकारी विक्रि गर्न आग्रह गरेको भएपनि केहि किसानहरुले छिटो प्रतिफल लिन बदमासि गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया