
नरैनापुर ५ माघ । बाँकेको नरैनापुर गाँउपालिकामा दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप प्रदान दिन सुरु गरिएको छ ।
बिहिबार देखि जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समुहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो । दादुरा रुबेलाका लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी बालबालिकाहरुलाई खोप लगाउन अनुरोध गरिएको नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताए ।
हालसम्म नरैनापुरमा १४ जनामा दादुरा देखिएको छ । दादुराकै कारण बाँकेमा एक बालकको मृत्यु समेत भइसकेको अवस्था छ । नरैनापुरमा तीव्र गतिमा फैलिरहेको दादुरा महामारीे नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ ।
दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको अध्यक्ष शाहले बताए । अध्यक्ष शाहले प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको बताउदै धर्मगुरु र समुदायसँग छलफल गरेर खोप अभियानमा सहयोग गर्न आग्रह गरिएको जिकिर गरे ।
नरैनापुर वडा नम्बर २ का बालबालिकामा अन्य वडामा भन्दा दादुरा धेरै देखिएको छ । स्वास्थ्य शाखाका प्रमुख शाहका अनुसार सबैभन्दा बढी ६–१५ वर्ष मुनिका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । दादुरा बिरुद्धको खोप अभियानको पहिलो दिन नरैनापुरमा २६६१ जना बालबाबालिकाले खोप लगाएको बिबेक पौडेलले जानकारी दिए । उनले ६ वटै वडामा ११ वटा खोप केन्द्र मार्फत खोप दिने काम सुरु गरिएको बताए ।
नरैनापुरमा सुरु भएको खोप अभियानको सुरुवात गाउँपालिका अध्यक्ष शाह, वडा अध्यक्षहरु प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, भरत महतो र स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठ लगायतले गरेका थिए । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ ।