नेपालगञ्ज : खेलकुदको संरक्षण, प्रवद्र्धन र विकासका लागि योजनावद्धरुपमा काम गर्न बाँकेको खजुरा गाउँपालिकाले खेलकुद विकास समिति गठन गरेको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकको अध्यक्षतामा गठन भएको समितिमा छविलाल विष्ट सदस्य सचिवको रुपमा रहनुभएको छ । गाउँपालिकाले समितिलाई आगामी आवदेखि अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्डको संचालन र ब्यवस्थापन को जिम्मेवारी दिने निर्णय गरेको छ ।
समितिको सदस्यमा लालवहादुर मल्ल, केशमाया श्रीष, विकास काउचा, सिमन गुरुङ, चन्द्रवहादुर राना, साकिर खाँ, गुलाम खाँ, मुजमिल खाँ, जनार्दन खत्री र सलिल खड्का सदस्यको रुपमा रहनुभएको छ । सदस्य सचिव विष्टले खजुरालाई खेलकुदका माध्यमबाट चिनाउन समिति क्रियाशिल हुने बताउनुभयो । खजुरामा खेलाडी उत्पादनका लागि एकेडेमी स्थापना गर्ने, खजुराको छुट्टै ब्यावसायिक क्लव बनाउने लगायतका योजना रहेको उहाँले बताउनुभयो ।