खजुरामा राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशनको प्रभातफेरी

खजुरा : राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपालको २५ औं स्थापना दिवस खजुरामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । खजुरा गाउँपालिका कमिटी, बाँकेको आयोजनामा खजुरा बजार देखि एक नम्बर बजारसम्म प्रभातफेरी गरिएको थियो ।

प्रभातफेरी पछि गरिएको छलफल कार्यक्रममा शिक्षाको विकासमा निजि विद्यालयको भुमिकाका बारेमा चर्चा गरिएको हो । खजुरा गाउँपालिका कमिटीका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारी, वडानम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्री, वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेष, शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल, इलका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रेम प्रसाद रेग्मी, खजुरा प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा. इन्द्र बहादुर भण्डारी लगाएतको उपस्थिती रहेको थियो । खजुरामा १० विद्यालय आवद्ध रहेको एशोसियशनमा प्रि प्राइमेरी लेवलका धेरै रहेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले शिक्षाको विकासमा निजि क्षेत्रको भुमिका अतुलनिय रहेको बताए । निजि क्षेत्रको विकासका लागि स्थानिय सरकारको सहयोग रहने प्रतिवद्धता समेत अध्यक्ष बिकले जनाए । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपालका केन्द्रिय सह सचिव कुसुम रानाभाटले निजि तथा आवासिय विद्यालयहरुले शिक्षाको क्षेत्रमा खेलेको भुमिकालाई सरकारले गम्भिर रुपमा हेर्नपर्नेमा जोड दिए । उनले निजि विद्यालयमा पनि सरकारका कार्यक्रम पुग्न ध्यानाकार्षण गराए ।

खजुरा क्षेत्र सस्थागत विद्यालय संगठन(इसाका)का अध्यक्ष डिबि तामाङले स्थानिय सरकारले निजि विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुदै गएपनि यसको प्रतक्ष प्रभाव भने नदेखिएको गुनासो गरे । कार्यक्रममा २० जना शिक्षक तथा प्रध्यानाध्यापकहरुलाई सम्मान गरिएको थियो । ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समेत एकसाथ मनाइएको थियो ।

प्रतिक्रिया