खजुरा : कृषि अनुसन्धान निर्देशनालय खजुरामा रहेको माछा इकाईले माछाका भुरा उत्पादनको तयारी गरेको छ । माछा इकाईमा ह्याचरी निर्माण भैरहेको भएपनि माछाको उत्पादनलाई बढाउन र अनुसन्धान गर्न इकाईले भुरा उत्पादनको तयारी गरेको हो ।
फाल्गुन दोश्रो हप्ता देखि इकाईले कमन कार्प, रहँु, नैनी, सिल्भरकार्प, विगहेड कार्प र टिलापिया जातका माछाका भुराहरु उत्पादन तथा विक्रि वितरण गर्ने इकाई प्रमुख सुदिप कुमार लामिछानेले जानकारी दिए । जसका लागि काका बन तयारी भैसकेको र भाले पोथि माछाहरु छनोट गर्ने कार्य भैरहेको इकाई प्रमुख लामिछानेले बताए । अनुसन्धानको माछा इकाईमा ८ हेक्टर क्षेत्रफलमा रहेको ६ वटा माउ पोखरी रहेका छन भने १२ वटा नर्सरी पोखरी र १४ वटा परिक्षण पोखरी र १ वटा उत्पादन पोखरी छन ।
कुल ३३ वटा पोखरी रहेको माछा इकाईमा उत्पादन हुने माछाका भुराहरु दाङ, बाँके, बर्दिया लगाएतका किसानहरु लाभान्भीत हुने छन । केन्द्रले १० देखि १५ लाख विभिन्न जातका माछाका भुराहरु वितरण गर्ने लक्ष्य राखेको छ । इकाईले यसै वर्ष माछाका लागि चाहिने दाना आफै मिल बाट उत्पादन गर्ने गरि मिल स्थापना समेत गर्न लागेको इकाई प्रमुख लामिछानेले जनाए । अनुसन्धानले माछामा गर्न लागेको यो कामले किसानहरुलाई खुसि तुल्याएको छ ।
माछामा भैरहेको अनुसन्धान र पश्चिम नेपालमा किसानले खोजेको माछाका जातहरुका बारेमा काम हुन थाल्ने भएपछि थप आशा पलाएको किसान झविन्द्र जिसीले बताए ।