खजुरा : बाँकेको खजुरा गाउँपालिकाको रनियापुर क्षेत्रमा मासुका लागि राष्ट्रिय जनावर गाईसहित गोरु काट्ने क्रम बढेपछि प्रहरीले नियन्त्रणका लागि स्थानीयको सहयोग लिएर लगत सङ्कलन कार्य सुरु गरेको छ । रनियापुर क्षेत्रमा गाई,गोरुको तस्करी गर्ने, वध गर्ने कार्यलाई निरुत्साहित गर्ने र कसुर गर्ने ब्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि गाई र गोरुको लगत सङ्कन सुरु गरिएको ईलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
“लगत सङ्कलनका लागि प्रहरी टोली घरदैलोमा पुगेको छ”, प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो,– जिल्ला प्रहरी, ईलाका प्रहरी रप्रहरी चौकी रनियापुरको टोलीले स्थानीय बासिन्दाको सहयोगमा कसको घरमा कति गाई, गोरु छन भनेर लगत सङ्कलन गरिरहेको छ । लगत सङ्कलन पछि हरेक घरपरिवारको घरमा गाई र गोरुको सङ्ख्या एकिन हुने भन्दै प्रहरीले गाउँमा फेरी गाईगोरु काटिएको जानकारी आएपछि घर परिवारमा लगत अनुसार जिवित भएनभएको हेर्न सकिने जनाएको छ । बाहिरबाट रनियापुरमा गाईगोरु लैजान नदिनका लागि चारैतिरबाट प्रहरी टोलीले घेराबन्दी गरेको छ । टिटिहिरिया, सम्झना, सोनपुर–बढवा लगायतका नाकामा प्रहरी परिचालन गरिएको छ ।
केही समययता रनियापुर क्षेत्रमा गाई गोरुका विभिन्न अङ्ग फेला परेपछि ठुलो सङ्ख्यामा मासुका लागि काटिएको स्थानीयको दावी छ । खेतबारीमा अधिकाँश गोरुका अङ्ग यत्रतत्र छरिएको अवस्थामा फेला परेका हुन । स्थानीयबासीको असहयोगका कारण प्रहरीले राष्ट्रिय जनावरको हत्यामा संलग्नलाई पहिचान तथा पक्राउका लागि कठिनाई हुने गरेको जनाएको छ । धार्मिक सद्भावका हिसावले समेत गौवधलाई गम्भिररुपमा लिएर नियन्त्रणको अभियान चालिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले गाईगोरुको चोरी निकासी र वध हुन नदिन प्रहरीले विशेष अभियान थालेको बताउनुभयो । मुलुकी अपराध संहिताको दफा २४९ ले तीन वर्ष सम्म कैद र ५० हजार रुपियाँ सम्म जरिबानाको ब्यवस्था गरेको छ । – लोकप्रिय न्युज बाट साभार