खजुरामा जारी तेस्रो कोसेबाली कार्य समुह बैठक सकियो

नेपालगन्ज : बाँकेको खजुरामा जारी तेस्रो कोसेबाली कार्य समुह बैठक सकिएको छ । कोसेबाली अनुसन्धान कार्यक्रम खजुराको आयोजनामा सोमबारदेखि चलेको बैठक मंगलबार सकिएको हो । देशैभरीबाट कृषि अनुसन्धान तथा सम्बन्धित कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागि रहेको बैठकले कृषि विकासको गति बढाउन कोसेबालीको क्षेत्र बढाउनुपर्नेमा जोड दिएका थिए ।

कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. राजेन्द्र दराईको अध्यक्षतामा भएको बैठकमा रोगकिरा झारपातको समस्या बढ्दै जादाँ किसानले लगाउने क्षेत्रफल घट्दै गएको निकर्ष निकालेका थिए । बैठकमा किसान क्षेत्रबाट कोसेबालीको प्रभावकारिताको खोजि हुन आवश्यक रहेको सहभागिले बताए । अनुसन्धान गरिएका कोसेबालिहरु किसानमाझ पुगाउन जरुरी रहेको र त्यसको लागि प्रसार प्रचार गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरिएको थियो । विउ एकै किसिमको लगाउने किसानलाई परिवर्तन गर्न सहजिकरण गर्न आग्रह गरिएको छ ।

रोग किरा व्यवस्थापन तिर पनि ध्यान दिन जरुरी रहेको सहभागिले जोड दिए । बैठकमा कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. राजेन्द्र दराईले खाध्य सुरक्षामा कोसेबालीहरुको अवस्था र कोसेबालीमा विध्यमान चुनौती, आगामी रणनीति लगाएतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै कोसेबालीका मुख्य रोग, तिनका स्कोरिंग र व्यवस्थापनका विषयमा बालि रोग बैज्ञानिक लक्ष्मण अर्यालले प्रस्तुति दिएका थिए ।

बैठकमा कृषि अनुसन्धान निर्देशनालय लुम्ले, कृषि अनुसन्धान निर्देशनालय तरहरा, कृषि अनुसन्धान निर्देशनालय सुर्खेत, कृषि अनुसन्धान केन्द्र जुम्ला, कृषि अनुसन्धान केन्द्र बेलाचापी, राष्ट्रियबाली रोग अनुसन्धान केन्द्र खुमलटार, राष्ट्रिय कृषि अनुवांशिक श्रोत केन्द्र खुमलटार, राष्ट्रिय खाध्य अनुसन्धान केन्द्र खुमलटार, अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट, वागबानी अनुसन्धान केन्द्र दैलेख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (भटमास जोन) किर्तिपुर डडेल्धुरा, ग्लोबल एग्रीटेक प्रा. लि बैजनाथ बाँके लगाएतले कोसेबालीमा भैरहेको काम तथा प्रगतिका बारेमा प्रस्तुती दिएका छन । बैठकमा कृषि अनुसन्धान निर्देशनालय खजुरा, कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुरा, माटो प्रयोगशाला खजुरा, कृषि ज्ञान केन्द्र बाँके, विभिन्न सहकारी र किसानहरुको सहभागिता रहेको थियो ।

बैठकमा हालसम्म भएका कार्य प्रगती र आगामि आर्थिक वर्षका लागि परियोजना छनोटको प्रारम्भीक कार्यका विषयमा छलफल भएको कोसेबाली अनुसन्धान कार्यक्रमका सुचना अधिकारी बैज्ञानिक पदम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया