बजेटमा पहुँच बनाउन बादी समुदायसंग छलफल

नेपालगन्ज, पौष : स्थानिय सरकारको बार्षिक कार्यक्रम तथा बजेट प्रक्रियामा बादी समुदायको पहुँचका विषयमा नेपालगन्जमा वुधबार एक कार्यशाला गोष्ठी गरिएको छ । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल र यू.एन.ओमन नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्जनपूर, डडेलधुरा र दाङ जिल्लाका २६ जना बादी समुदायका महिला नेतृ तथा जनप्रतिनिधीहरुको सहभागितामा कार्यक्रम गरिएको कमिट नेपालका कार्यक्रारी निर्देशक केशव नेपालीले जानकारी दिए । बादी समुदायका मुद्धाहरु, चुनौतिहरु, र अवसरहरुबारे कार्यक्रममा छलफल गरिएको थियो ।

यू.एन.ओमनका डां संग्राम लामाले विकासको अवधारणा, नेपालमा प्रचलित विकासका अभ्यासहरु, महिला उत्तरदायी बजेट र स्थानिय सरकारको बार्षिक कार्यक्रम छनौट प्रक्रिया र त्यसमा सरोकारवालाहरुको भुमिकाको विषयमा सहजीकरण गरेका थिए ।

स्थानिय तहले आफ्नो बार्षिक कार्यक्रम निर्माण गर्ने क्रममा सातवटा चरण पार गर्ने भएकाले यी चरणको बारेमा हरेक नागरिकहरुलाई जानकारी दिनुपर्नेमा जोड दिए । हरेक चरणमा सहभागि भएर आफ्नो सवालहरुलाई बार्षिक कार्यक्रममा राख्नका लागि सहजीकरण गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बादी महिलाहरुले बताएका विभिन्न सवालहरुको समाधानका लागि कार्ययोजना निर्माण गरि कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया