राप्तीसोनारीमा पालिकास्तरीय रनिङ शिल्ड उल्लासमय (तस्बिरहरु)

अगैया : राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता बुधबारबाट सुरु भएको छ । राप्ती सोनारी-२ मदुईसिथत लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा १४ औं राष्ट्रपति रनिंग शिल्ड छनौट तथा चौथौं अध्यक्ष कप खेलकूद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको समुद्घाटन राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गरेका छन् ।


लुम्बिनी प्रदेशमा प्रस्तावित नमुना विद्यालय लक्ष्मी माध्यमिक विद्यालयले व्यवस्थापन तथा सन्चालन गरेको प्रतियोगितामा गाउँपालिकाका ७१ वटा विद्यालयको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक झाँकीका साथै सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । साथै कार्यक्रममा डेढ दर्जन विद्यालयहरुले मार्चपास गर्दै गाउँपालिका अध्यक्षलाई सलामी अर्पण गरेका थिए ।
लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गणेश वलिका अनुसार बुधबार उदेघाटनका दिन १ देखि ३ कक्षाको गणित दौड, ४ र ५ कक्षाको गणित दौड, आधारभूत तहको एक सय, दुई सय मिटर दौड, सय मिटर, दुई सय मिटर र चार सय मिटरको सेमि फाइनल खेल भएका छन् ।


प्रतियोगितामा आधारभूतको तहको १ देखि ३ कक्षासम्म एवं ४, ५ कक्षाको फरक-फरक गणित दौड प्रतियोगिता समावेस गरिएको छ । यसैगरी आधारभूत तह १ देखि ८ मा सय मिटरको दौड, दुई सय मिटरको दौड र चार सय मिटरको दौड, माध्यमिक तहको हकमा सय, दुई सय, चार सय, आठ सय मिटर, १५ सय मिटर दौड र तीन हजार मिटर दौड समावेश गरिएको छ । यसैगरी चार गुणा एक सय मिटर रिले दौड र चार गुणा चार सय मिटर रिले दौड पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । यस्तै लङ जम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभ्लिङ थ्रो पनि माध्यमिक तहका लागि समावेश गरिएको छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगिता २१ गतेसम्म सन्चालन हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागी टाढाका विद्यार्थिहरुका लागि विद्यालयले बसाईको व्यवस्थासमेत गरिएको छ ।

प्रतिक्रिया