अगैयामा खुल्यो हिमालयन बैंकको काउन्टर

राप्तीसोनारी–०१ पौष : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा हिमालयन बैंक लिमिटेडको विस्तारित काउन्टर खुलेको छ । राप्ती सोनारी वडा नं. ८ शमशेरगंजमा रहेको हिमालयन बैंकको शाखाको काउन्टर शुक्रबार खुलेको हो । हिमालयन बैंकका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्नेतको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले उक्त काउन्टरको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले वडा नम्बर ६ र ७का स्थानीयका लागि पनि हिमालयन बैंकले केही विकल्प खोज्नु पर्ने बताउँदै सो क्षेत्र पनि काउन्टर विस्तारका लागि अनुरोध गरे । ‘हिमालयन बैंकले गाउँपालिकाको वडा नम्बर ६ र ७ का जनतालाई पनि सेवा प्रदान गर्नका लागि सो क्षेत्रमा काउन्टर विस्तार गर्न मैले अनुरोध गरे,’ उनले भने, ‘यसमा पालिकाले गर्नुपर्ने जे सहयोग हुन्छ, त्यो सहयोग गर्न हामी पूर्णरुपले तत्पर छौं ।’ कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख बस्नेतले राप्ती सोनारी गाउँपालिकामा सहज रुपले सामाजिक सुरक्षा भत्ता वितरण गर्न र राजस्व संकलन गर्ने उद्देश्यले अगैयामा हिमालयन बैंकको काउन्टर खोलिएको बताइन् ।

हिमालयन बैंकको शमशेरगंजमा रहेको शाखाबाट गाउँपालिकाको वडा नम्बर २, ८ र ९ का स्थानीयले मात्र सहजरुपमा सेवालिन सकेका थिए भने अन्य वडाका स्थानीयका लागि अगैयामा नयाँ काउन्टर खोलिएको उनले बताइन् । वडा नम्बर ६ र ७ का स्थानीयका लागि पनि काउन्टर विस्तार गर्नका लागि पालिकाले सहयोग गरे आफूहरुले त्यसको पहल थाल्ने बस्नेतको भनाइ थियो । अब अगैंया काउन्टरले सामाजिक भत्ता र राजस्व मात्र नभएर सो क्षेत्रका जनताको लागि बचत र अन्य सुविधा पनि प्रदान गर्ने हिमालयन बैंक अगैया काउन्टरका कर्मचारी केशव राज खत्रीले जानकारी दिए ।

त्यसैगरी अगैया काउन्टर उद्घाटन समारोहमा हिमालयन बैंकले विद्यार्थीलाई विभिन्न किसिमका शैक्षिक सामग्री वितरण गरेको छ । अगैंयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ६५ जना विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री बैंकले वितरण गरेको हो । बैंकका कर्मचारी खत्रीका अनुसार बैंकले १ सय टि–सट, ३ सय ५० थान कपी र ५०० पिस कलम वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत सो शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर खत्री, राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सालिकराम डाँगी, वडा नं. ९ का वडाध्यक्ष सोहनलाल थारु, राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया