गुराँसका दुई वडामा बालमैत्री शासन

दैलेखको गुराँस गाउँपालिकाका दुईवटा वडामा बालमैत्री शासनको सुरुवात गरिएको छ। बालश्रममुक्त, हिंसारहित र बालविवाह निषेधित यी दुई वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडा नम्बर ८ का अध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए। बालमैत्री स्थानीय शासन स्थानीय तहमा बालअधिकार सुनिश्चित गर्न ल्याइएको शासकीय अवधारणा भएकाले पछिल्ला दिनहरूमा बढ्दै गएको बालविवाह रोकथाम गर्न यो अभियानले निकै सहयोग पुग्ने ओलीको भनाइ छ।

‘बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’को विषय पालिकाले प्रभावकारी रूपमा उठान गर्ने उनको भनाइ छ। ४१९ घरधुरी रहेको वडा नम्बर ८ मा दुई हजार चार सय २९ जनसंख्या छ। बालबालिकाको सहभागिता सुनिश्चित गर्न, अधिकार संरक्षण गर्न चालू आर्थिक वर्षमा १४.४ प्रतिशत बजेट विनियोजन गरिएको वडा अध्यक्ष ओलीले जानकारी दिए।

वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण गरिएको छ।बालमैत्री शासन कार्यान्वयनको चरणलाई प्राथकिमतामा राख्दै सबै वडामा बिस्तार गरेर पालिकालाई नै बालमैत्री घोषणा गर्ने गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया