विश्वकप फुटबलको फाइनल पोल्याण्डका रेफ्रीले खेलाउने

कतार विश्वकप फुटबलको फाइनल खेल पोल्याण्डका रेफ्रीले खेलाउने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आइतबार फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलका लागि पोल्याण्डका सिजमोन मार्सिनीकलाई रेफ्री तोकेको हो ।

कतारको लुसेल स्टेडियमा नेपाली समय अनुसार राति पौने ९ बजे फाइनल खेल हुँदै छ ।

पोल्याण्ड अहिलेसम्म विश्वकपको फाइनलनमा नपुगेकाले पनि मार्सिनीक विश्वकपको फाइनलमा नेतृत्व गर्ने पहिलो पोल्याण्डका नागरिक पनि बन्ने छन् ।

मार्सिनीकले डेनमार्क र फ्रान्सबीचको समूह चरणको खेलमा रेफ्री रहेका थिए । यसैगरी राउन्ड अफ सिक्सटीनमा अर्जेन्टिना र अष्ट्रेलियाबीचका खेलमा पनि मैदानमा रहेका थिए ।

उनलाई पावेल सोकोलनिकी र टमसाज लिस्टकिवक्जले सहयोग गर्ने छन् ।

४१ वर्षिय मार्सिनीकले युईएफए च्याम्पियन्स लिगमा रेफ्री गरेका छन् भने युरो २०१६ मा यो भूमिकामा रहेका थिए ।

यस्तै, शनिबार मोरक्को र क्रोएशियाबीचको तेस्रो स्थानका लागि हुने खेलको रेफ्रीमा भने कतारका अब्दुलरहमान अल जसीमलाई नियुक्त गरिएको छ ।

उनले विश्वकपको समूह चरणमा अमेरिका र वेल्सको खेलमा रेफ्री गरेका थिए ।

उनले २०१९ मा लिभरपुल र फ्लेमेंगोबीचको फिफा क्लब विश्वकपको फाइनलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

अल जसिमलाई तालेब अल मरि र सउद अहमदल अलमकलेहले साथ दिने छन् ।

प्रतिक्रिया