नेपालगन्ज : नेपालगन्ज म्याराथनको आयोजकले पत्रकार माथि भएको दुर्वहारप्रति स्पष्टिकरण दिएको छ । आयोजक नेपालगन्ज म्याराथन (क्रियटिभ ह्याण्ड्स)का अध्यक्ष टिएस ठकुरीले एक विज्ञप्ती जारी गरी स्पष्टिकरण दिएको हो । विज्ञप्तीमा पत्रकारकालागि दिइएको स्पष्टिकरणमा यस्तो लेखिएको छ–
आठौं धारा नेपालगन्ज म्याराथन २०२२ को शुभारम्भका बेला केही स्थानीय पत्रकार साथीहरुसँग भएको असमझदारीप्रति आयोजक दुख व्यक्त गर्दछ । हजारौंले भाग लिने यस्ता प्रतियोगिताको रिपोर्टिङ गर्दा पत्रकारहरुले पनि केही महत्वपुर्ण सुरक्षा सावधानी अपनाउनै पर्छ, मापदण्ड पुरा गर्नैपर्छ भन्नेमा हामी प्रष्ट छौं । परिचय खुल्नेगरी प्रेस ज्याकेट, कार्ड वा परिचयपत्र नलगाई निषेधित क्षेत्रमा प्रवेशको छुट आयोजकले कसैलाई पनि दिन सक्दैन । म्याराथन स्टार्ट प्वाइन्टमा भिडभाड बढेर स्कुले छात्रछात्रा जोखिममा परेपछि हाम्रा स्वयंसेवक एवं आयोजक सदस्यले अनधिकृत रुपमा निषेधित क्षेत्रमा प्रवेश गरेका व्यक्तिलाई हटाउने क्रममा केही पत्रकारलाई पनि असुविधा भएको सत्य हो । सम्बन्धित पत्रकारलाई पुगेको असुविधाप्रति तत्कालै माफी मागेर त्यो विवाद तत्कालै समाधान भइसकेको सन्दर्भमा नियतवश नै आक्रमण वा दुव्र्यवहार भएजसरी वक्तव्यबाजी र विरोध भइरहेको छ, त्यसमा सत्यता छैन ।
पृष्ठभुमिका हिसाबले हामी केही आयोजक सदस्य नै व्यवसायिक पत्रकारिताबाटै आएका छौं । त्यसैले पुर्ण प्रेस स्वतन्त्रताप्रति हाम्रो इमान्दार प्रतिबद्धता छ । हामी आयोजक रहेका सबैजसो खेल प्रतियोगिता र कार्यक्रमहरु सफल हुनुमा सञ्चार जगतको पनि ठुलो योगदान छ । त्यसैले पनि सम्पुर्ण सञ्चार क्षेत्रप्रति हामी आभारी छौं । म्याराथन सञ्चालनका क्रममा भएका कमीकमजोरी सच्याउँदै आउँदा दिनमा रिपोर्टिङको व्यवस्थित एवं सहज वातावरण बनाउने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।
अन्त्यमा, पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुर जोड्ने धारा नेपालगन्ज म्याराथनका आउँदा संस्करणलाई पनि तपाईंको साथ, समर्थन र सहयोग सदैव रहनेछ भन्नेमा हामी विश्वस्त छौं ।
शान्तिका अग्रदुत भगवान् गाैतम बुद्धकाे जन्मथलो लुम्बिनीबाट शान्तिकाे सन्देश नेपालगन्ज म्याराथनले दिएको आयोजकले जनाएको छ ।