मंसिर, नेपालगन्ज : ७४ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शिक्षाको अधिकार र स्थानीय सरकारको भुमिकाका विषयमा सोमबार नेपालगन्जमा अन्तर्क्रिया गरिएको छ । ‘नि:शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ ‘ भन्ने मुल नाराका साथ शिक्षाका लागि नागरिक सन्जाल बाँकेले नेपालगन्जका नवनिर्वाचित जनप्रतिनिधिसंग छलफल गरेको हो ।
संघियता सँगै नीति निर्माण र कार्यान्वयन गर्ने अधिकार स्थानिय तहले पाएको छ । सडक, बाटोघाटो निर्माण मात्र जनप्रतिनिधिको प्राथमिकतामा पर्ने भएकाले नवनिर्वाचित जनप्रतिनिधिसंग गुणस्तरीय शिक्षाका लागि चालेका र चाल्नुपर्ने कदमबारे छलफल गरिएको शिक्षाका लागि नागरिक सन्जाल बाँकेका अध्यक्ष तारा खनालले जानकारी दिए ।
स्तरिय शिक्षाले नै मानवअधिकार सुनिश्चित गर्ने भएकाले यस विषयमा सम्पुर्ण सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने अधिवक्ता वसन्त गौतमले बताए। अहिलेको अवस्थामा शिक्षामा देखिएका समस्या, आगामी दिनमा चाल्नुपर्ने कदम, यससम्बन्धी बनेका कानुन र कानुन कार्यान्वयनको अवस्था लगायतका विषयमा अधिवक्ता गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए।
युनिसेफको तत्थ्यांक अनुसार अझै पनि नेपालमा १.५ वर्ष देखि १२ वर्ष मुनिका ७ लाख ७० हजार बालबालिका विद्यालय बाहिर रहेका छन्। प्रारम्भिक बाल शिक्षामा ५१ प्रतिशत मात्र उपस्थिति देखिन्छ। त्यसैले विद्यालय आउने वातावरण बनाउनका लागि स्थानीय सरकार, शिक्षक, अभिभावक सबै जुट्नुपर्ने उनको भनाई थियो।
नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखाका भिम बहादुर बुढाले गएको ५ वर्ष शिक्षा सम्बन्धी आवश्यक नीति निर्माणमा वितेको बताए। स्थानीय तहले सबै बालबालिकाको अधिकार सुनिश्चित गर्ने, उनिहरु सबैलाई शिक्षाको पहुँचमा ल्याउने गरि काम गरिरहेको उनी बताउँछन्। नेपालगन्जमा ४३ वटा सामुदायिक विद्यालय,
८३ निजि, ४९ धार्मिक विद्यालय रहेका छन् ।
तर वडाध्यक्षहरु भने वडामा न्यून बजेट आउने भएकाले विद्यालयका विविध समस्या समाधान गर्न नसकेको बताउँछन्। विद्यालयका भवन जिर्ण रहेको, प्रयाप्त खेल मैदान नभएको, अपाङ्गता भएका विद्यार्थहरुका लागि प्रयाप्त शैक्षिक सामाग्री नभएको, विद्यार्थी आवश्यकता अनुसार विषय शिक्षक नभएको लगायतका समस्या रहेको उनिहरुको भनाई छ।
डेढ दशक यताको रिजल्ट खस्कदै गएको अवस्था छ। पछिल्लो समय सामाजिक सन्जालका कारण शिक्षा सुधारमा चुनौती थपिएको बताउदै सहभागीहरुले सरोकारवालाहरु सबै यसमा जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
लग्दहवा मावि स्कुल वस किन्ने योजनामा
नेपालगन्ज १८ कारकादोमा रहेको लग्दहवा माविले विद्यार्थीको सहजताका लागि स्कुल बस किन्ने तयारी गरिरहेको छ। यसका लागि विद्यालय परिसरमा ७ वटा सटर निमार्णको काम भइरहेको छ। सुर्खेत रोडको छेउमा रहेको उक्त विद्यालयमा सटर निमार्ण पछि भाडामा दिने वडाको योजना छ। संकलित रकम बाट स्कुल बस किन्नुका साथै विद्यालयको शिक्षा सुधारमा खर्च गरिने वडासदस्य दिग्विजय ढुंगानाले जानकारी दिए।