नेपालगञ्ज : नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रमा आगामी २७ वर्ष (सन् २०५०) सम्मलाई धान्नेगरी वितरण र प्रसारण प्रणालीका पूर्वाधारहरुको सञ्जाल निर्माण गर्ने भएको छ। विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरुको सञ्जाल निर्माण गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन्।
नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा भइरहेको शहरीकरण र औद्योगीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत् भाग करिब ८ सय मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ।
देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउन र पर्याप्त, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्तिका लागि नेपालगञ्ज क्षेत्रमा प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार र सुदृढीकरण गर्न लागिएको प्राधिकरणले जनाएको छ। विद्युत् आपूर्तिको तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण, स्तरोन्नति र विस्तार गरिने छ। दीर्घकालीन मागलाई सम्बोधन गर्न र विद्युत् खपत बढाउन ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण गरिने छ।
कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार नेपालगञ्ज क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्यमान प्रसारण र वितरण लाइन तथा सबस्टेसनहरुको स्तरोन्नति, सुदृढीकरणका लागि तत्काल गर्नु पर्ने कामका बारेमा जानकारी लिएको छ।
परामर्शदातासमेत सम्मिलित टोलीले भविष्यको विद्युत् मागलाई सम्बोधन गर्न बनाउनुपर्ने नयाँ लाइन तथा सवस्टेसनहरू निर्माणस्थल, रुटको पहिचानलगायतका विषयमा स्थलगत रुपमा अनुगमन गरेको थियो।
प्राधिकरणले अब यही आधारमा तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने योजना तयार गरी सोही आधारमा प्रसारण र वितरण लाइन र सबस्टेसनहरुको निर्माण अगाडि बढाइने जनाएको छ।
कार्यकारी निर्देशक घिसिङले उपभोक्ताहरुले बेहोर्दे आएको तत्कालको समस्या समाधान गर्न ११ तथा ३३ केभी लाइन तथा सबस्टेसनको सदृढीकरण र विस्तार गरिने बताए। ३३ र ११ केभी लाइन सुधारका लागि आवश्यक काम भइरहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ।
हाल चालू रहेका प्रसारण तथा वितरण प्रणालीले गर्मीयाममा नधान्दा नेपालगञ्ज क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ, भोल्टेज डाउनलगायतका समस्या उपभोक्ताहरुले बेहोर्दै आएका छन्। प्राधिकरणले कोहलपुरमा १३२ केभीको नयाँ सबस्टेसन निर्माण गर्न लागेको छ। सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ। अहिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताहरुको प्रस्ताव मूल्याङ्कन भइरहेको छ।
उक्त सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नेपालगञ्जस्थित ३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाएर लाइन छिराउने योजना बनाएको छ। अहिले नेपालगञ्जमै रहेको अर्को ३३/११ केभी सबस्टेसनको पनि क्षमता विस्तारको काम भइरहेको छ। यसबाट नेपालगञ्ज क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ।
‘भविष्यमा नेपालगञ्ज क्षेत्रमा हुने विद्युत्को मागलाई सम्बोधन गर्न दाङको लमहीबाट राप्ती नदीको आसपासबाट बाँके, बर्दियाको मैनापोखरी हुँदै कैलालीको टीकापुरसम्म दक्षिण करिडोर ४००/२२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरिरहेका छौं, साथै भारतसँगको थप विद्युत् व्यापारका लागि कोहलपुरबाट भारतको नानपारासम्म उच्च क्षमताको लाइन बनाउन लागेका छौं। यसबाट भोल्टेज सुधार हुने छ। भविष्यमा यो क्षेत्रमा हुने बस्ती विकास र खुल्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति दिन सकिने छ, बढी भएको विद्युत् निर्यात गर्न पूर्वाधारसमेत तयार हुने छ,’ घिसिङले भने, ‘बझाङ, दार्चुलाका जलविद्युत् र बाँकेको सौर्य आयोजनाबाट उत्पादित विद्युत् चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने हुँदा गत वर्षभन्दा यो वर्ष भोल्टेजको समस्या कम हुने छ।’
अहिले त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि नजिकमा विद्युत्गृहहरु नहुँदा खासगरी गर्मीयाममा भोल्टेजको समस्या रहेको छ।
प्राधिकरणले भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरु निर्माण गर्ने योजना अगाडि बढाएको छ। ४ सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो २ सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ।