बाँकेमा राजनीतिक दलमा एक्ली महिला प्रमुख

जो बनिन् समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्य

लक्ष्मी तिवारी बाँके जिल्लामा रहेका राजनितिक दलहरुमध्ये प्रमुखको जिम्मेवारीमा रहेकी एक्ली महिला हुन् । त्यसमा पनि ‘जान्नेलाई छान्ने’ नारा बोकेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको । उनी संभवतः बाँकेमा कुनैपनि राजनीतिक दलको पहिलो संस्थापक प्रमुख पनि बन्न सफल भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको उनी एक्ली जिल्ला सभापति महिला हुन् । उनि हालै सम्पन्न प्रतिनिधि सभा सदस्य तर्फ समानुपातिक उम्मेदवार थिइन् । अहिले समानुपातिक तर्फ उनको नाम सिफारिस भैसकेको छ ।

राजनीतिमा आउनुअघि लक्ष्मीको परिचय सूचना अभियन्ताको रुपमा रहेको थियो । साथै उनले कानुनअनुसार नागरिकता नपाएर समस्यामा परेकाहरुलाई साथ दिएर उनीहरुलाई नागरिकता दिलाउने, विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता गराउन वा न्याय दिलाउन पनि भूमिका खेल्दै आएकी थिइन् । यसका साथै राजनीति र राज्यको वेवास्ता एवं अकर्मण्यताका कारण नागरिकले भोग्नुपरेका समस्यालाई उनले नजिकबाट नियाल्दै आएकी थिइन् । अन्ततः उनी राजनीतिमा सक्रिया हुने निधोमा पुगिन् । ‘हामीले गर्दै आएको काम गर्ने र भोग्दै आएका समस्याहरु समाधान गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपछि मैले राजनीतिमा औपचारिक रुपमा सक्रिय हुने निधो गरे,’ उनले भनिन् ।

२०३१ साल भदौ २४ गते भगवानपुरमा जन्मिएकी लक्षी तिवारीका पिता इन्द्रजित तिवारी नेपालगन्जमा प्रतिष्ठित वकिल थिए । तिनै इन्द्रजित र तारा तिवारीका पाँच छोरी र एक छोरामध्येकी दोस्रो सन्तान हुन लक्ष्मी । उनको समयमा बाँकेको मधेसी समाजमा छोरीलाई पढाउने चलन बिरलै थियो । पढाउने अभिभावक र पढ्ने छोरीहरूले समाजको टोकेसो र रुढ धारणा सृजित कुराहरू सहनु पर्थ्यो । त्यस्तो अवस्थामा पनि लक्ष्मी तिवरीले पढ्न पाइन् । उनले पढ्न पाउनुमा आमाको ठुलो हात रहेको उनी सम्झिन्छिन् ।

समाजले के भन्ला? कसो होला भन्ने अन्यौल रहेको बेला उनकी आमाले छोरीलाई पनि बढाउनुपर्छ भन्ने अड्डी कसिन् । श्रीमान्लाई छोरीलाई नेपालगन्जमा राखेर पढाउन दवाब दिइन् । फलस्वरुप लक्ष्मीसहित उनका सबै दिदीबहिनी र दाजुले पढ्न पाए । उनका दाजु विश्वजित तिवारी अहिले नेपालगन्जका एक ख्यातिप्राप्त वकिलका रुपमा रहेका छन् । महेन्द्र माविबाट एसएसली पास गरेकी लक्ष्मीले भारतबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनका श्रीमान् रविन्द्र ज्ञवाली पनि सूचना अभियन्ताकैरुपमा कार्यरत छन् ।

जीविकोपार्जनका लागि लक्ष्मीले स्टेशनरी पसल सन्चालन लगायतका विभिन्न व्यवसायहरु गरिन् । फेसन डिजाइनरको तालिम लिएर अरुलाई समेत तालिम दिइन् । उनले महिला उद्यमी संघमा ९ वर्षसम्म महासचिव पदमा रहेर महिला उद्यमीहरुका समस्या र उनीहरुका आकांक्षाहरु बुझ्ने अवसर पाएकी छन् । उनी एम्नेष्टि इन्टरनेश्नलको ग्रुप ६२ को सभापति हुँदै केन्द्रिय सदस्यसमेत रहेर काम गरेकी छन् । फातिमा फाउण्डेसन र युनेस्को बाँकेको संस्थापक सदस्यसमेत रहेकी उनी आफूलाई बाँकेको समाजलाई राम्ररी बुझेको व्यक्तिका रुपमा अथ्र्याउँछिन् ।

२ सन्तानकी आमा रहेकी उनी बचपनदेखि नै गरिब तथा दुःखीहरुप्रति सेवाभाव रहेको बताउँछिन् । त्यही सेवाभावबाट प्ररित भएर उनले सरकारी प्रक्रियाका कारण समस्यामा परेका र विदेशमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्ने काममा मन लागेको उनको भनाइ छ । यसका साथै आफूमा चुनौती स्वीकार गर्ने बानी रहेको उनले बताइन् ।

रवि लामिछानेसँग उनको सम्बन्ध एक दर्शकका रुपमा सुरु भएको हो । आफूहरुले गर्दै आएको काम र भोग्दै आएका समस्यालाई टेलिभिजनमार्फत उठाउन थालेपछि लामिछानेबाट आफू प्रभावित भएको उनी बताउँछन् । जब रवीले पार्टीको घोषणा गरे त्यसको भोलीपल्टै उनले फोन सम्पर्क गरिन् र आफू साथमा रहेको बताइन् । साउनमा नेपालगन्जमा पार्टीको आम भेला आयोजना गरियो । उक्त भेलामा हजारौँ मानिसहरु सहभागी भए । पार्टीको नेतृत्वका लागि आकांक्षीहरु पनि थुप्रै देखिए । त्यसमध्येकी एक थिइन् लक्ष्मी ।

पार्टीको नेतृत्व छान्ने क्रममा एकजनाले महिला भएर तपाईंलाई बाहिर हिडडुलन गर्न गाह्रो हुन्छ भनेर पन्छाउन खोजे । त्यसपछि लक्ष्मीले भनिन्, ‘मलाई त्यति कमजोर महिला नठान्नुस् । म उहिल्यै एक्लै नेपालगन्जबाट बुटवल पुगेर सामाजिक काम र व्यक्तिगत काम गरेकी मान्छे हुँ । म तपाईंहरुभन्दा कुनै हालतमा पनि कमजोर छैन ।’ करिब पाँच छ घण्टाको रस्साकस्सीपछि लक्ष्मी सर्वसम्मतरुपमा पार्टीको बाँके जिल्ला सभापति चुनिइन् ।

सभापति चुनिएपछि उनले जिल्लामा पार्टीको संगठन बिस्तारलाई तीव्रता दिइन् । अहिले जिल्लाका सबै स्थानीय तहमा पार्टीको संगठन बिस्तार भइसकेको छ । तल्लो तहमा बिस्तार हुने क्रम तीव्र छ । ‘दैनिकहरुपमा मानिसहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइरहेका छन् । मसँग एकैदिनमा ३० देखि ४० जना मानिसहर आफै सम्पर्कमा आइरहेका छन् । पार्टीमा कुनै न कुनै रुपमा उहाँहरु संलग्न भइरहनु भएको छ । कतिपय मानिसहरु खुलेर नभएपनि तपाईंहरुलाई हयोग गर्छाै भनिरहनुभएको छ । यसले हामीलाई धेरै हौसला मिलेको छ,’ उनले भनिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार समेत बनिन् । लक्ष्मी राष्ट्रिय स्वतन्त्र पार्टीमा जनताको आकर्षण हुनुका पछाडि पार्टीले अंगालेको जनजीविकाका सवाल, भष्टाचारविरुद्ध शून्य सहनशिलता, सुशासन, नीतीमा स्पष्टता, इमान्दारिता र जवाफदेहिताका मुद्धाहरु कारण रहेको उनको बुझाई छ । यसपटक बाँकेमा घण्टी चुनाव चिन्हले अत्याधिक मायाको उनको बुझाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउन उनी दिनरात खटिइन । बाँकेका ३ क्षेत्रमा कुनैपनि उम्मेदवारले विजयी हासिल नगरेपनि जनताको मत जितेको उनि बताउँछिन् । समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भैसकेपछि अब उनको काम गराई हेर्न बाँकेका जनता आतुर छन ।

प्रतिक्रिया