फागुन, नेपालगन्ज : विगत ४ वर्ष यता बाँकेसहितका ४ जिल्लामा जींकयुक्त मकै खेती उत्पादन सुरु गरीएको छ । मानवस्वास्थ्यका लागि आवश्यक मानीएको पोषक तत्व जींकको कमीले वर्षेनी विश्वमा ४ लाख मानीसहरुको ज्यान जाने गरेको छ । जींक भनेको मानीसको शरीरलाई चाहिने सुक्ष्म पोषक तत्व हो । दाल, फर्सिको बियाँ, रातो मासुमा पनि पाइने भएपनि सबैभन्दा बढि यो मकैमा पाइने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
अन्य मकैमा सामान्यतया २१ प्रतिशत जींक हुने गरेकोमा नयाँ विकास गरीएको मकैमा साढे ३१ प्रतिशत भेटिएपछि बाँकेसहितका ४ जिल्लामा यसको उत्पादन सुरु गरीएको हो । प्रयोगशालामा परीक्षण गर्दा यस्तो नतिजा पाइएपछि बाँके, बर्दिया, रुकुम र जाजरकोटमा यो मकैको विउ उत्पादन सुरु गरीएको ग्लोबल एग्रिटेक प्रालि नेपाल (गेट नेपाल) बाँकेका प्रमुख टिकाराम रिजालले बताए । ‘यो हाइब्रिड जातको मकै पनि होइन्, लोकल पनि होइन’ उनले भने – ‘ यो मकै सेतो रंगको हो । गतवर्ष आर्थिक वर्ष ०७७/७८ को बैशाख, जेठ र असारमा पहिलो चरणमा खेति गरिएको हो ।
बर्दियाको मैनापोखर, बाँकेको बेतहनी, रुकुमको खोलागाउँ र जाजरकोटको कार्किगाँउ गरी पहिलो चरणमा १० हेक्टर जमीनमा यसको खेती गरीएको उनले बताए । यो मकै प्रतिहेक्टर ६ मेट्रिकटनका दरले उत्पादन क्षमता भएकोमा विउका रुपमा गतवर्ष ३ मेट्रिकटन उत्पादन भएको थियो ।
बर्दियाको बारबर्दिया नगरपालिकामा ३ हेक्टर अर्थात साढे ४ विघामा रोपिएको थियो । यसवर्ष पनि बारबर्दियामा गत मंसिरमा यो मकै रोपिएको छ । यो मकै रोपेको १ सय १० दिनमा तयार हुन्छ । सरदर मकै बर्खामा १२०–१२५ दिनमा, माघ १५– फागुन१५ सम्ममा रोपिएको मकै ११० दिनमा तयार हुने गरेको छ भने मंसिर दोस्रो सातामा रोप्दा १२० दिनमा तयार हुने गरेको छ ।
बाँके जिल्लाको बैजनाथ, बेतहनी लगायतका क्षेत्रमा गतवर्ष रोपिएको भएपनि गतवर्ष मौसमका कारणले दोश्रो लटको खेती नभएको उनले जानकारी दिए ।
ग्लोबल एग्रिटेक प्रालि नेपाल (गेट नेपाल) बाँकेको आयोजनामा नेपालमा जिंकयुक्त मकैमा बिगत ४ बर्ष अगाडिदेखि अध्ययन हुदै आएको भएपनि गतवर्षबाट मात्रै जींकयुक्त मकैको विउविजन उत्पादन, बजारीकरणको सुरुवात गरिएको हो ।
राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र रामपुर चितवन र गेट नेपाल बाँकेले संयुक्त रुपमा प्रपोजल तयार पारि राष्ट्रिय विउविजन गुणस्तर नियन्त्रण कार्यालयमा यो जातको मकै दर्ता गर्नका लागि यस सम्बिन्धी कागजात पेस गरिसकिएको छ ।
अन्य जातको मकैभन्दा धेरै फल्ने, विउ बनाएर बेच्दा नाफा हुने भएपछि किसानहरु पनि खुशी भएका छन् । बर्दिया बढैयातालका किसानले गेट नेपालले विउ किनीदिने भएपछि थप सहज भएको बताए । क्विन्टलको ४ हजार ८ सय रुपैयामा विक्रि गरेको उनले बताए । सिंचाई कम हुदाँ पनि फल्ने भएकाले किसानहरु खुशी भएका छन् ।
यसैविच, जींकयुक्त मकै प्रबद्धन कार्यक्रम सम्बन्धी आज बुधवार यसक्षेत्रका सरोकारवालासंग छलफल गोष्ठी गरीएको छ । गोष्ठिमा बिउ विजन प्रजननकर्ता डार्विन जोशीले यो जातको मकै उत्पादनमा भएका रिसर्च, यसको उत्पादनका बारेमा जानकारी दिएका थिए । यस्तै भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले जींकको फाइदा, बेफाइदा लगायतका विषयमा सहजीकरण गरेकि थिइन् ।
यस क्षेत्रका गल्ला व्यापारी सहकारी, विउ उत्पादक किसान, सिड ल्याव, कृषि अनुसन्धान कार्यालय नार्क, अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रका विउ प्रजनकहरुका विच छलफल गोष्ठि गरीएको हो ।