
काठमाडौंः नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकामा हुने भएको छ । नेफ्टा फिल्म अवार्डको आयोजक चलचित्र प्राविधिक संघले नेफ्टा अवार्ड आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अमेरिकाको टेक्सासमा हुने जनाएको छ । नेपालसहित विदेशी भूमिमा सञ्चालन गरिने यो अवार्ड यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा गरिएको थियो ।
टेक्सासमा हुने अवार्ड विदेशी भूमिमा भएको मध्ये पाँचौ हुनेछ । नेपाली चलचित्रको बजारलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्यसहित नेफ्टा अवार्ड अमेरिकामा गर्न लागिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन । नेफ्टा अवार्डबारे आज फिल्मकर्मी, आयोजक, संचारकर्मीसहितको सर्वपक्षीय जुम बैठक सञ्चालन गरिएको छ ।
बरिष्ठ चलचित्रकर्मी निर शाहको प्रमुख आतिथ्यतामा आज जुममा पत्रकार सम्मेलन गरि अवार्ड आयोजनाको औपचारिक घोषणा गरिएको थियो । ६ हजार ३ सय सिट क्षमताको आयोजना स्थलमा अवार्ड समारोह सम्पन्न गरिने आयोजकले जनाएको छ ।
डिजिटल पत्रकार सम्मेलनमा आधिकारिक वेवसाईट लगायतका महत्वपूर्ण घोषणा सहितको जानकारी गराइएको थियो । आज आयोजित पत्रकार सम्मेलनमा महानायक राजेश हमाल लगायत अन्य चलचित्रकर्मि, संचारकर्मि लगाएतको सहभागिता रहेको थियो ।
अमेरिकामा सञ्चालन हुने नेफ्टा अवार्डलाई नेफ्टाले यूएस खबर, फेम नेपाल र आर्यन फिल्म्ससँग सहकार्य गरेको छ । नेपाली कलाकारलाई सम्मान गर्ने कार्यक्रम अमेरिकामा हुनु नेपाली चलचित्र विकासको लागि कोशेढुगा सावित हुने अमेरिका टेक्सास स्थित युएस खबरका सम्पादक ओम आचार्यले बताए ।


