प्रयास्चित – रामचन्द्र आचार्य

तराईको उखरमाउलो गर्मी भनि साध्ये थिएन । शरीरलाई पसिनाले निर्थुक्क भिजाएको थियो । उनासी साल वैशाख तीस गतेको स्थानिय निर्वाचनमा आयोगले सुस्तापूर्व नवलपुरको कावासोती नगरपालिकाभित्र ग्रामिण भेकमा मतदान अधिकृतकोे रुपमा खटाएको थियो । सम्बन्धित केन्द्रमा पुगेर आवश्यक तयारीमा व्यस्त थियौँ । मतदानको अघिल्लो दिन पुनः सर्वदलिय बैठक बस्यो । सरकारी स्कुल कोठाको दुईवटा सिलिङ फ्यानले तातो हावा फालिरहेको थियो । यस्तैमा स्थानिय राजनैतिक दलहरुको बैठक सकेर हामीहरु चियाचमेना गर्न थालेका थियौं । मैदानमा जनपद र म्यादी प्रहरीको सहयोगमा साथीहरुले मतदान बुथको निमाणर् गरी सक्नु भएको थियो । गाउँका बुढाहरु खानेपानीको टंकी नजिकै रहेको पिपलबोटको सिँयालमा बसेर हेरिरहेका थिए । त्यसै मध्येका एक बृद्वले अगाडी आएर ‘बाबुको घर कता पर्‍यो नि’ भन्दै सोधे । उनले गरेको सम्बोधन मीठासपूणर् थियो । मैले उनको आशय बुझेर ‘पहाड घर बागलुङ्तिर हो’ भने । उनको अनुहारमा चमक आयो ।
‘हाम्रो पनि बाग्लुङ् नै हो । गल्कोटतिर पर्छ । बरु, हजुरको कता नि?’ आत्मीयता साथ सोधपुछ गरेको हुँदा म पनि झुम्मिएर कुराकानी गर्ने मुडमा आएँ ।

‘मेरो घर त बजारमाथि भान्सातिर पर्छ’ भने । उनले बृद्वहरु तिर देखाउँदै – ‘त्यहाँ बजारतिरका पनि छन्’ भने । हामी त्यतै लाग्यौं । उनले एकएक गरी सबैको पहाड घर सहित परिचय गराए । कसैको एक पुस्ता कसैको तीन चार पुस्ता पनि भैसकेको रहेछ पहाडबाट झरेको । तीमध्ये एकजना मलिन अनुहारका बृद्व हाम्रो गाँउठाउँका रहेछन् । उनको अनुहारको नाकको डाँडी हेर्दै मैले लख काटेँ । यिनी पाखाका जेठा बोधराजकाका हुन् भन्ने । यो ठाउँमा भेट होला भन्ने पत्यारै थिएन । मधेस झरेपछि गाउँ गएको थाहा पनि पाइएको थिएन । कसैको बंश चिन्नको लागि नाकको आधार लिइन्छ भन्छन् । चित्रकारले पनि अनुहारको स्केच गर्दा पहिले नाकनक्शा मिलाएर अगाडि बढ्छन् रे ।
‘तपाइँ बोधराजकाका होइन र?’ हातले इसारा गर्दै सोधें ।
‘ हूँ….।’ चासोपासो केही नभएजस्तो गरे । उनले नाम सुने र हो भने । मलाई चिनेकोजस्तो लागेन । अर्का बृद्वले ‘तपाइँको गाँउठाँउको हुनुहुन्छ रे । तपाइँलाई चिन्नु भयो ।’
अलि चर्को स्वरमा कानैमा भने । अलि टाँठो हुँदै मतिर हेर्दै सोधे – ‘कसका छोरा हुनुहुन्छ ?’
मैले उनलाई ‘भक्तिविलासको भनेँ । उनले मेरो हात समाउँदै लरबराएको स्वरमा ‘जेठा कि कान्छा? दुई भाइ होइन र?’ भने ।
‘हो !’
‘जेठो हरिप्रसाद हुँ, नोकरी यतै छ’ भनें ।
पुराना कुराहरु याद आउन थाले । म विगततर्फ फर्किएँ । उहाँ मेरो बुवाको दौंतरी हुनुहुन्थ्यो । बाटोमा तलमाथि गर्दा दाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । लैनो भैंसीको जोहो गर्नु पर्‍यो भने यिनैलाई भने हुन्थ्यो । किलोमै ल्याएर बाँधिदिन्थे । यिनको घर गाउँको छेउतिरको पाखोमा थियो । गाउँमा सबैले पाखाका जेठा भन्थे । गाउँलेहरु यस्तै नामले बोलाउन अभ्यस्त थिए । यिनका दुई भाइ अलि चिड्चिडे स्वभावका तुलोमा जोख्दा बराबर खाले थिए । सानोतिनो झैझगडामा पनि आँगन नाघेर पिँढीसम्म पुग्न बेर लगाउदैनथे । छिमेकीहरु पनि अर्मपर्म सरसापट गर्नमा हिचकिचाउँथे । तीन चारवटा भैसी पाल्ने बजारमा दुघ बेच्ने, पशु चौपायाको खरिदबिक्री गर्ने कामले राम्रो आम्दानी गर्थे । पैसाले चडेका थिए । बिनाप्रसङ्ग ठाउँ कुठाउँ हामीजस्ता जागिरेलाई निचो देखाउन महिनाको तलब कति हुन्छ? भनि ठाडै सोधि पनि हाल्थे ।
भर्खरभर्खर चाइनाले पोखरादेखि बागलुङ्सम्मको लागि मोटरबाटो खन्दै थियो । खच्चडले सामान ढुवानी गर्ने र हुनेले घोडामा सवारी गर्ने यातायातका साधन थिए । बजार छेउछाउका काँठमा बस्नेहरुले वारिपारिका गाँउमा बस्ने नाता कुटुम्बहरुलाई बजारका बासिन्दाझैँ धाक लगाउन पछि पर्र्दैनथे । उत्तरतिरका गाँउबस्तीलाई ख्वाले भनेर हेप्ने गर्थे । चेलीवेटी लेनदेन गर्दा भरसक जोड गर्दैनथे । ख्वालेमा दर्ज भएका ठाउँका भने खै ! किन हो? चेली लिनभन्दा दिन आतुर हुन्थे । दैनिक जोहोको लागि यी गाँउलेलाई भन्दा काँठमा बस्नेहरुलाई बढी सकस थियो । बजारको बेसाह रातीराती घरमा ओसार्थे । गाँउलेहरु बेसाहलाई इज्जत गएको मान्थे । कोदो मकै मिलाएर भए पनि बर्षकै गर्जो टार्थे ।

पहाड खाने, आईमाईले मधेस खाने गोरुले भन्छन् । घरको काममा कज्याउनको लागि छोराको बिहेवारी कलिलो मै गरिदिएका थिए । स्कुलको पढाई पनि सकेको थिएन । आफू कखरा भन्दामाथि थिएनन् । छिमेकी भनेको दुःखमा रोईलाई खुसीमा खाईलाई भन्छन् । यिनको छोराको जन्ती गई दुलही भित्राउने हामी छिमेकीलाई खानपानको ब्यवस्था पनि थिएन । मुखामुख हुदै जन्तीहरु घरघर फर्किएका थिए । ‘लोभीको निम्ता सुनी टोपल्नु, ढाँटको भोज खाई पत्याउनु’ भन्ने उखानको झल्को भएको थियो हामीलाई ।

डोलीमा मुल ढोका भित्रिएको दिनदेखि बुहारी जमुनाका कहरका दिन शुरु भएका थिए । चौविसै घन्टा घरको काममा खटेकी हुन्थिन् । हामी बिछ्यौनाबाट नउठ्दै बजारमा दुध पुराएर फर्केकी हुन्थिन् । मेलापात, अर्मपर्म उनैले धानेकी थिइन् । बिनाकाम बसेको देखिदैनथ्यो । बुहारी होइन बधुँवा मजदुरसरी हाड घोटेको देखिन्थ्यो । छिमेकीलाई तरस नआएको पनि होइन । कठैबरा ! भन्नबाहेक अर्थोक थिएन । सहानुभुति राख्नु भनेको झगडाको बिउ थियो । उनको मनको दुख पोख्ने साथिनै छैनन् जस्तो लाग्दथ्यो हामीलाई । खाजा खाने चिजबिज त माइतीले नै पठाइरहन्छन् भन्थे छिमेकका महिलाहरु । त्यो घरमा छोरी दिने बाउलाई त सरापै लाग्ने भो भन्ने पनि सुनिन्थ्यो ।

बिनाप्रसङ्ग सासु चाही पानी पधेरामा बुहारीको उछितो काड्थिन् । ‘ख्वालेकोे छोरीसित गर्जुवामा आएका सामान टटेलामात्र, बज्दो (गहौ) एउटा छैन’ भन्थिन् । बुहारीको पक्ष लागेर कसैले कुरा गरे झगडा शुरु हुन्थ्यो । सुत्केरी हँुदा पनि उनले चैन पाएकी थिइनन् । ‘हरिपदेखि दैव डराई’ थियो ।

दिनहरु यसैगरी बिती रहेका थिए । एक दिन अपरान्हपछि बोधराजको बुहारी घरको धनसारमा पासो लगाएर आत्महत्या गरिन् भन्दै हारगुहार भयो । हामी अफिसबाट फर्कदा प्रहरीले मुचुल्का उठाइ लाशलाई पोष्टमार्टम गर्न अस्पताल पठाइसकेको रहेछ । मानिसहरु झुण्डझुण्ड भै आपसमा कुराकानी गरिरहेका थिए । त्यति होचो ठाँउमा झुन्डिएर मर्ने कुरा हामीलाई पत्यारै लागेन । त्यसमाथि दोजिया थिइन् भनेर सुन्नमा आयो । मन त्यसै सन्न भएर आयो । पिँडीमा सासु भन्नेको काखमा दुई बर्षे बच्चा थियो । उनले आँसु पुछिरहेकी थिइन् तर हामीले गोहीका आँसु सम्झियौं ।

केही दिनमा प्रहरीले साक्षी प्रतिवेदनआदि कानुनी सबै प्रकृया पुरा गर्‍यो । छिमेकी सबैले सारमा ‘आफै ज्यानखत गरेको मान्दैनौ तर यी आँखाले देखिएन’ भन्ने ब्यहोराको बकपत्र गरे । ठूलै सम्पर्क र पहुँच के कसरी पुर्‍याए छन्? अड्डाबाट केही समयपछि यिनै छुटेर आए । एक बर्षको फेरोभित्र छोरा पनि छुटेर आयो । ‘दुईटा बेरुबा औँठी गयो’ भन्ने कुरा छिमेकीले सुनियो भन्न थाले । न्याय मरेको देश, जमुनाको आत्माले कतैबाट न्याय पाएन । न घर न माइती, न समाज न अदालत । छिमेकीहरुले एउटै मतो गरी त्यो परिवारलाई बहिस्कार गर्ने, लेनदेन र सम्बन्ध नराख्ने निणर्य गरे । अरु गर्न सक्ने के थियो र ! थकथक मान्दै सबै आफ्नै सुरमा फर्किए ।

त्यसको एकाध महिनापछि दुबै भाइले सबै लट्टीपट्टी बेचबिखन गरेर मधेस झरे रे भन्ने सुनियो । आज यस्तो माहौलमा करिब तिस बर्षपछि उनैसंग भेट भयो । यो भेटले मेरो मनमा कुनै हर्ष पनि आएन । बिस्मात् पनि लागेन ।

– –
यिनले धेरै दुःख पाएका छन् हजुर । छोरा बुहारीले झुक्क्याएर जग्गा,जमिन बेची भरतपुर सरे । घरमा बस्नै दिएनन् । न खानेको ठेगान छ, न बस्नेको ठेगान छ ।’ एकजना बृद्वले मसंग फिराद गरे । मानांै मैले कुनै उपाय लगाउन सक्छु । उनको अनुहारतर्फ हेरें मैले । उनी मबाट उत्तर आउने प्रतिक्षामा थिए ।
‘देवघाटमा पुर्‍याई दिनु न । उतै बस्छन् खान बस्न पाइन्छ । कि यतै बृद्वाश्रम भए राखिदिनू’ भने ।
‘कतै पनि ठहरेनन् । उकुसमुकुस हुन्छ भन्छन् । मन मान्दैन हिँडी राख्नुपर्छ भन्छन् । जोई पनि छिट्टै खसिन् । कडा रोग रहेछ । क्यान्सरै रहेछ । रगतै छादेर मरिन् बिचरी ! दुख पाए पनि मरेर जानेले सुख पायो । यिनी बितरा परे ।’
बुढाहरुको यी कुराले अक्क न बक्क परे पनि मेरो मनमा भने सहानुभुति जाग्न सकेको थिएन । दिन ढल्किदै गएको थियो । घाम अस्ताइसकेका थिए । एकएक गर्दै बुढाहरु उठ्दै हिड्न थाले । कसैले यिनलाई जाउँ पनि भनेनन् ।
एक्लै भएपछि कुरा गर्न रहर जागेजस्तो गरे । आँखाका चेपहरु रसिला बनाउँदै भने — ‘यता आएपछि छोराले मतवाली केटी लिएर आयो । उनीहरु भच्छे,अभच्छे खानपिन गर्न थाले । संगै बस्न सकिएन । एउटै घरमा छुट्टिएर बसेका थियौं । एउटै छोरो त्यो पनि दुष्ट भएर निस्कियो । झुक्क्याएर सबै बेचेर भरतपुर सर्‍यो । अरबतिर जाने आउने गर्छ रे । बुहारीले सहन्न । म त्यता जान्न’ खोपिल्टा परेका गालाबाट बर्र आँसुका थोपाहरु बलेनीबाट पानी झरेझैं झारे ।
यिनको अवस्था देख्दा साह्रै टिठ लागेर आयो । अधबैँसमा हट्टाकठ्ठा देखेको मान्छे आज निःसहाय थिए । उमेरले भन्दा पनि सन्तापले फत्रक्कै गलेका थिए । अनुहार पढ्दा मनभित्र शान्ति कत्ति पनि थिएन । मनको अशान्तिले तड्पिई रहेका थिए पानी बाहिरको माछाझैँ । मुखमुद्रामा कुनै चहक थिएन क्लान्त थिए । उमेरमा गरेको ठूलो अपराधको पीडाले थिचिरहेको जस्तो थियो । त्यही पीडाबाट उम्कन खोज्दै थिए । कुहिराको कागझै भौंतारिरहेका थिए । मार्ग पहिल्याउन सकेका थिएनन् ।
मैले सान्त्वना दिने भावमा सोधेँ — ‘बुहारीको पाप लाग्यो कि काका ?’
उनले हातका पञ्जा भुइँमा बजार्दै — ‘यिनै हात हुन् त्यो पाप गर्ने’ भन्दै हातमैं थुक्न थाले । एक छिनपछि सुक्सुकाउँदै रुन थाले । मैले बृद्व मानिस यसरी रोएको देखेको थिइन । मेरो मनलाई एकछिन त विदीणर् बनायो । के कुरा गरुँ? होसै रहेन ।
उनले मलाई हरिबाबुको सम्बोधन गर्दै भने — ‘त्यो गाईजस्ती सोझी प्राणीको घाँटी यिनै हातले पेटमाथि कुल्चेर थिचेको हो । छोरोले गोडा च्याप्यो आमाले हात च्यापी । आमा भन्न पाइन उसले । अनि पासोमा लगाएर राख्यौँ । हामी अपराधी हौं अपराधी । तिकडम लगाएर अदालतबाट छुटकारा त पाइयो तर हाम्रो मनले कहिल्यै छुट्कारा दिएन । सधैँ अपराधी भनिरह्यो, खेदिरह्यो । अझै हाम्रो मनमा नयाँ बुहारी भित्राएर सम्पत्ती जोड्ने सपना थियो । थुक्क हाम्रो बुद्वी !’
उनी एकछिन शान्त भएर टाउको झोक्राएर बसे । मलाई यिनको मनमा अझै केही छ जस्तो लाग्यो । आेंठ चलिरहेको थियो । मेरो गोडा समाउँदै रुन्चे स्वरमा भने – ‘बाबु ! म ब्यभिचारी हुँ, बुहारीप्रति ब्यभिचारी थिएँ ।’
खसीको भुँडी फुत्तबाहिर निस्केझैँ बाँकी कर्तुत पनि बाहिर आयो । यो कुराले मेरो छातीमा ढक्क भयो । शिरदेखि पैतला सिरिङ्ग गरे । यिनको आँखाबाट पानी झरीझैँ बगिरहेको थियो । यति ठूलो अर्को अपराध मैले कल्पना पनि गरेको थिइन । यति धेरै अपराध बोकेर मान्छेहरु कसरी सास फेर्छन्? कसरी जिउन सक्छन्? सोच्दा नै आङ सिरिङ्ग भएर आयो । मनभित्र थुप्रिएका उकुसमुकुस सबै बाहिर आएर होला अलि हलुङ्गोजस्तो देखिए उनी ।
मैले यिनलाई कसैको प्राण लिने हक ईश्वरसंग मात्र छ । अरु कसैसंग छैन भने । तपाइँहरुले अक्षम्य अपराध गर्नु भएको छ । पश्चातापले यो पापबाट मुक्ति मिल्दैन । जन्मजन्मान्तरको प्रायश्चित गर्नुपर्छ । मैले यसो भन्दा उनी आज्ञाकारी बालकझैँ सुनिरहेका थिए । बीचमा मेरो कुरा काट्दै बोले — ‘म फाल हाल्न नारायणीको तिरैतिर कति धाएँ कति, तर के ले रोक्यो, रोक्यो । मर्न चाहेर पनि मर्न सकिनँ । सहज मृत्यु पनि उपहार रहेछ । यो उमेरमा ज्ञान भयो । अब जति बाँच्छु प्रायश्चित गरेर बस्छु । बरु के उपाय छ ? बाबु !
म केहीबेर सोचमग्न भएँ । खै ! मलाई थाहा नै भएन । कुन विधि हो पापको प्रायश्चित गर्ने । शास्त्रले के भन्छ ? स्नान गरी तप साधनामा बस्नु । स्नानपछि गौदान गर्नु । पीठहरुको तिर्थाटन गर्नु । अझै निराहार व्रत गर्नु र भगवानप्रति भक्तिभाव राख्नु । प्रयाप्त छन् यी विधि? प्रायश्चित पुरा भयो? त ! यसरी पापकर्मको मार्जन हुन्छ त ! हाम्रो शास्त्रबमोजिमको प्रचलित चन्द्रायण विधि नै अन्तिम परिशोधनको माध्यम हो त ! एकछिन म आफै पनि ट्वाल्ल परिरहेँ । आखिर म पनि कुनै पण्डित त होइन निणर्यसिन्धु नै पल्टाएर ब्याख्या गर्न सक्ने !म चुपचाप भएको देखेर यिनले मलाई विनित् भावमा भने ‘ भन्नुहोस् न हरिबाबु ! अब म के गरुँ? कुनै उपाय छैन?’
काकाको यो आग्रहलाई नकार्न सक्ने शक्ति ममा थिएन । मेरो पुर्वाग्रहको क्लेश पनि घट्दै गएको थियो । मैले उनलाई एउटा कथा सुनाएँ — ‘हेर्नु काका ! तपाईलाई थाहा नै होला रामायणको कथा । त्रेतायुगमा भगवान रामले रुखको छेल पारेर बालीलाई वाण हानेर मारेका थिए । त्यसबेला बाली र सुग्रीवको बिचमा युद्व भैरहेको थियो । रामको यो अपराध थियो । द्वापर युगमा भगवानको कृष्णको रुपमा अंशअवतार भयो । कृष्णलाई एउटा ब्याधाको वाण लागेर मर्नुपर्यो । त्यो ब्याधा त्रेता युगको बालीको पुनर्जन्म थियो । भगवानले त कर्मफल भोग्न जन्म लिनुपर्छ भने हामी त मनुष्य हौं । कर्मफल भोग्न कसरी रोक्न सकिन्छ र ? यो सबै विधाताको खेल हो । तपाइँ हामीलाई उसैले खेलाइरहेको छ । हामीले सत्मार्गको पथ त्याग्नु हुदैन । बाँकी जीवन जीउने कला ज्ञान, भक्ति र योगबाट नै सिक्ने हो ।’
उनको अनुहारमा चमक आएको देखेँ । कुराले घत परेछ । साँझ पर्न थालिसकेको थियो । उनी हिड्ने तरखर गर्दै उठे । मैले केही पैसा ईस्टकोटको पकेटमा राखिदिएँ । आभारी भएको भाव व्यक्त गरे । स्कुलको चौर कटेर मूल बाटो पक्रिए । यिनी संगसंगै बत्तीको प्रकाशले बनाएको ठूलो छाया पनि हिँडिरहेको थियो । मलाई किन हो, गरुड पुराणमा भोक र प्यासले आक्रान्त भएको प्रेतात्मा प्रचण्ड गर्मीमा बैतरणी नदीतर्फ हिँडिरहेको याद आयो ।
भोलिपल्ट हाम्रो केन्द्रमा शान्त वातावरणमा मतदान भैरहेको थियो । अपरान्हतिर स्कुलको बाटो हुँदै एक हुल मलामीहरु शव लिएर खोलातर्फ जाँदै गरेको देखियो । बुझ्दा त्यो शव बोधराजकाकाको रहेछ । मलाई काकाले प्रायश्चितको यात्रा शुरु गर्नु भएछ भन्ने लागेर आयो ।

प्रतिक्रिया