नेपालगन्ज, १५ मंसिर : बाँकेमा लैगींक हिंसाका घटना बढ्दै गएको देखिनुले यस क्षेत्रमा शिक्षाको पहुँच र गुणस्तरमा नै प्रश्न उठाएको बाँकेका सरोकारवालाहरुले बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल काठमान्डौको सहयोगमा एनसिइ बाँकेले विहिबार नेपालगन्जमा आयोजना गरेको एक अन्तरक्रियाका सहभागिले यस्तो बताएका हुन् ।
जिल्लामा विगत तिन वर्षमा करिब दुई हजार बढी घरेलु हिंसाका घटनामा उजुरी परेको तत्थ्यांक छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा ८ सय ४४ वटा घरेलु हिंसाको उजुरी परेका थिए । यस्तै आर्थिक वर्ष ०७७÷०७८ मा ७ सय ३८ वटा उजुरी परेका थिए भने आर्थिक वर्ष ०७६÷०७७ मा ५ सय १८ उजुरी परेको तत्थ्यांक छ । तत्थ्यांकले हरेक वर्ष घरेलु हिंसाका घटना बढ्दै गएको देखाउछ । घटना बढ्दै जानुले अझैपनि ग्रामिण क्षेत्रमा शिक्षाको पहुँच पुग्न नसकेको देखाएको अधिवक्ता सुनिता शर्माले बताइन् । यसका लागि माथिल्लो तहबाटै नीति तथा कार्यक्रम बन्नुपर्नेमा उनको जोड छ ।
‘यसका लागि नीति बनाउने तहमा महिलाहरुको सहभागिता हुन जरुरी छ’ उनले भनिन् –‘संविधानले हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चता गरेको छ । तर ठुला दलहरुले नै यसको कार्यान्वयन गर्ने गरेका छैनन् ।’ कार्यक्रममा विषयवस्तुबारे जानकारी गराउदै स्थानीय सरकारमा महिलाको प्रतिनिधित्व अनिवार्य गरेपनि प्रमुख राजनीतिक दलहरुले टिकट वितरणदेखि गठबन्धनका नाममा उनीहरुको सहभागिता हुने अवसरलाई खोसेको उनको भनाई छ ।
भर्खरै सम्पन्न प्रदेशसभा निर्वाचनमा निर्वाचित कृष्णा केसी नमुना जिल्लाभर प्रत्यक्षमा टिकट पाउने एकजना मात्र महिला थिइन् । नीति संगै कार्यान्वन गर्ने तहमा महिला सहभागिता भए लैंगीक हिंसामा कमी आउन सक्ने उनको भनाई छ । यसका लागि शैक्षिक गुणस्तरमा समेत ध्यान दिनुपर्ने आवश्यक्ता देखिएको उनले बताइन् ।
जिल्लाका कतिपय ग्रामिण क्षेत्रमा अझैपनि बालबालिकालाई पढ्न नपठाउने समस्या छ । सरकारले निःशुल्क शिक्षाको व्यवस्था गरेपनि अभिभावकले वास्ता नगरेका कारण सिकाई उपलब्धी कम देखिएको महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले बताए । यसका लागि जनचेतनाका कामहरु निरन्तर गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा अधिकारकर्मी कृष्णमुरारी प्रसाद भट्ट र लग्दहवा माविका शिक्षिका विमला शर्माले शिक्षाको गुणस्तर कम हुँदा र शिक्षाको पहुँच नहुँदा देखिने समस्याका विषयमा टिप्पणी गरेका थिए ।
महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवको प्रमुख आथित्यतामा भएको कार्यक्रममा एनसिइका लुम्बिनी प्रदेशका सदस्य जयन्ति गीरीको सभापतित्व रहेको थियो । अन्र्तक्रियामा उठेका विभिन्न प्रश्नबारे अधिवक्ता शर्माले छलफल गर्नुभएको थियो । कार्यक्रममा एनसिइ बाँकेका सुनिता विष्ट, शिक्षासेवि विष्णु सुवेदी, समाजसेवि जगदिश ढकाल, शिक्षिका विमला शर्मा लगायत यसक्षेत्रका शिक्षक, अभिभावक, अधिकारकर्मी, राजनीतिक दल लगायतको सहभागिता रहेको कार्यक्रम कारकादोस्थित जयपृथ्वी सामुदायीक सिकाई केन्द्रको हलमा भएको कार्यक्रम सन्चालक भद्र देवकोटाले जानकारी दिए ।