नेपालगन्ज : राष्ट्रिय अपांग महासंघ नेपालको ९ औं महाधिवेसन तथा २१ औं वार्षिक साधारण सभा नेपालगन्जमा सुरु भएको छ । महाधिवेशन तथा बार्षिक साधारणसभाको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका मुख्य न्यायाधिश डा.रत्न बहादुर बागचन्दले उद्घाटन गरेका थिए ।
महाधिवेसनको उद्घाटन गर्दै मुख्य न्यायाधिश डा.बागचन्दले नेपालको संविधानले कसैसंग कुनै भेदभाव नगरि सबै नागरिकलाई समान रुपमा हेरेको जनाउँदै सोही अनुरुप कार्यान्वयन हुनुपर्ने बताए । उनले अपांगता भएका नागरिकलाई सरकारले विशेष महत्व दिएर उनिहरुलाई पनि अवसर र अधिकार दिनुपर्नेमा जोड दिए । महासंघले अपांगता भएका व्यक्तिको हक अधिकारको लागि, बहस, पैरवी तथा अन्य विषमा आवाज बुलन्द गर्दै आएको छ । संविधानले दिएको अधिकार कार्यान्वयन गर्ने कुरामा होस वा अन्य हरेक पक्षमा महासंघले आगामी दिनमा समेत अझैं सशक्त भएर लाग्नुपर्नेमा मुख्य न्यायधिश बागचन्दको जोड थियो ।
महासंघका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको महाधिवेसनको उदघाटन कार्यक्रममा शर्माले परिवारबाट नै अपांगता भएक व्यक्तिहरु विभेदको शिकार भएको बताएका छन् । आगामी दिनमा यी सबैलाई चिर्दै सबल, सक्षम र सुशासन योग्य नेतृत्व चयन गर्नु सबै लाग्न पर्नेमा जोड दिए । राष्ट्रिय अपांग महासंघ नेपालका पूर्व अध्यक्ष वीरेन्द्रराज पोखरेलले अपांगताको परिभाषालाई अझैं स्पष्ट पार्न नसकिएको बताए । मानव अधिकारको आयाममा नेपाल सरकारले महासंघले गरेजस्तो विषय, सीआरपीडीको विषय, दिगो विकासको मध्यावधि लक्ष्या अपांगताको विषय नै समावेश नभएको भन्दै दुखेसो पोखे ।
महासंघका अर्का पुर्व अध्यक्ष सुदर्शन सुवेदीले अबको युग परिवर्तनको युग भएको बताए । अपांग महासंघ अब भोट बैंक होइन, अब परिवर्तनको बाटोतर्फ लाग्नुपर्नेमा उनको जोड थियो । अपांगताको अभियानको नाममा हामी मुखिया बनेका छौं, हामी गाउँमुखी हुन सकेका छैनौं, नयाँ नेतृत्वलाई कसरी सघाउने, पहिलाको नेतृत्वले गरेर राम्रा कामको अनुसरण गरौं । उनले भने । सो अवसरमा बोल्दै महासंघका पुर्व अध्यक्ष दिपक कोइरालाले अपांगता भएका नागरिकका लागि सरकारले विशेष प्रकारको योजना र कार्यक्रम नबनाएसम्म अपांगता भएकाहरुको समस्या समाधान नहुने बताए ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष भोजराज श्रेष्ठले अंपागता भएका न्यूनतम जीवन निर्वाहका सवालमा हामी सफल भयौं कि भएनौं ? राज्यका हरेक निकायमा नेतृत्व गर्न सक्ने हामी भइसक्यौ । हामीले योजना बनाउँदा अरुका लागि हेरेर बनाउ जोड दिए । दुरदराजमा रहेका अपांगता भएक व्यक्तिहरुको बारेमा पनि योजना बनाउदा समेटिनुपर्ने उनले उल्लेख गरे । हाल १० प्रकारका अपांगता भएको व्यक्तिको पहिचान भइसकेको छ । समाजबादी अपांगता संगठन नेपालका रामप्रसाद ढुंगानाले स्थानीय तहहरुले यथोचित मात्रामा बजेट नछुट्याउँदा स्थनीय तहमा कार्यक्रम सहज रुपमा गर्न नसकिएको बताए । हाम्रो अभियानाई स्थानीय पालिकाहरुमा अझैं परिस्कृत गर्दै लैजानुपर्ने देखिएको ढुंगानाले उल्लेख गरे । नेपाल राष्ट्रिय प्रजातान्त्रिक अपांग संघका देवकुमारी पराजुलीले महासंघ अझैं संगठित भएर लागिपर्न आवश्यक रहेको बताए । महासंघ यस्तो साझा संस्था बन्न सकोस् की सबैको साझा महासंघ बनोस्, उनले भने । राजनीतिक रुपमा महासंघले कुनै नेतृत्व स्वीकार नगरोस्, भन्ने उनले चाहना राखे ।
महासंघ अनुशासन समिति संयोजक टेकनाथ न्यौपानेले अपांग महासंघ अपांगता क्षेत्रको राष्ट्रिय धरोहर भएको बताए । राष्ट्रिय अपांगता संगठन नेपालका केन्द्रिय सचिव जगदिश प्रसाद अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री लगायतले अपांगता भएका नागरिकलाई पनि अन्य नागरिक सरह अवसर र अधिकार दिनुपर्नेमा जोड दिनुभयो । बोल्ने अन्य बक्ताहरुले अहिलेको अवस्थामा रणनैतिक योजना बनाएर सबै पक्षलाई समेटेर लैजानुपर्ने अववस्था आएको बताएका थिए । नयाँ नेतृत्वले हामी सबैको साझा महासंघ बनाएर लैजानुपर्ने अवस्था रहेको जनाएका थिए । सबैको समान प्रतिनिधित्व समान हुने गरेर महासंघ हामी सबैको साझा बनाएर लानुपर्ने दायित्व नयाँ नेतृत्वमा आएकोले यसैको अनुसरण गरोस् भन्ने शुभकामना दिएका थिए । निजामति सेवा, सार्वजनिक सेवामा आरक्षणको व्यवस्था गरिएको छ ।
साथै आरक्षणको व्यवस्थालाई आगामी महाधिवेशनले अझैं परिस्कृत गर्नको लागि सरकारको ध्यान केन्द्रित गर्नुपर्नेमा सहभागिले जोड दिए । दुई दिनसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार ५ सय बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको राष्ट्रिय अपांग महासंघ नेपालका महासचिव राजु बस्नेतले जानकारी गराउनुभयो । महाधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चयन गर्ने छ । महासंघको अध्यक्षकालागि चार जनाले दावेदारी प्रस्तुत गरेका छन ।