राष्ट्रिय अपाङ्ग महासंघको नेतृत्वमा ५ जनाको दाबेदारी

नेपालगञ्ज : राष्ट्रिय अपाङ्ग महासंघको नेतृत्व लिन पाँच जना अगाडि सरेका छन्। मंसिर १३ र १४ गते नेपालगञ्जमा हुने नवौं महाधिवेशन एवं २१ औं साधारण सभाबाट महासंघको नेतृत्व लिन पाँच जना अगाडि सरेका हुन्।

नेपालगञ्जमा पहिलो पटक हुन थालेको महाधिवेशनबाट अध्यक्षका लागि देवीदत्त आचार्य, गणेश केसी, रमा ढकाल, टेकनारायण न्यौपाने र केपी अधिकारीले दावेदारी प्रस्तुत गरेका छन् । नेतृत्व लिन कतिपयले साझा उम्मेदवार त केहीले पार्टीगत प्रचार गरेका छन्।

महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार चार सय बढी मानिस आएका छन् । तीमध्येमा ७ सय ८७ जना मताधिकार भएका प्रतिनिधि भएको महासंघका अध्यक्ष मित्रलाल शर्माले जानकारी दिए।

महासंघमा देशभरमा चार सय संस्था आवद्ध रहेको छ । अपाङ्गता भएका व्यक्तिको संख्या धेरै नै भएपनि राजनीतिक दलले उनीहरुलाई किनारा लगाउदै आएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले अपाङ्ग भएका व्यक्तिलाई उम्मेदवार नबनाएको अध्यक्ष शर्माले बताए।

‘केही दलले समानुपातिकमा नाम राखेका छन् । त्यो पनि धेरै पछाडी नाम रहेकाले खाली अपाङ्ग व्यक्तिको सेन्टिमेन्ट लिन हो जस्तो लाग्छ, अध्यक्ष शर्माले भने, हक अधिकार स्थापित गर्ने ठाउँमा हामीलाई दलले अगाडि सारेका छैनन्।’

महासंघका सचिव राजु बस्नेतले महाधिवेशनबाट नयाँ नेतृत्व चुन्दा भोटिङ मेसिनको प्रयोग गर्ने जानकारी दिए।

प्रतिक्रिया