के नाना पाटेकरसँग प्रदीप फिल्म गर्दैछन् ?

फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन भएपछि निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काको भारत आउजाउ बढेको छ । निर्वाचनअघि दुवै केही हप्ता भारत बसेर फर्किएका थिए । चुनाव सकिएपछि फेरि उनीहरु भारत उडे । यतिबेला उनीहरु गोवामा छन् । ‘प्रेमगीत ३’ भारतमा रिलिजपछि दुवैको बलिउडकर्मीसँग पनि निकटता बढेको छ ।

यसैक्रममा, शनिवार गोवामा सन्तोष र प्रदीपले बलिउडका प्रख्यात कलाकार नाना पाटेकरसँग भेट गरेका थिए । पाटेकरकै घरमा उनीहरुको भेट भएको हो । निर्माता सेनले एक प्रोजेक्टको विषयमा कुराकानी गर्नका लागि भेट भएको जानकारी दिए । उनले भने- ‘हामी भारत र नेपालका कलाकारलाई लिएर फिल्म बनाउने योजनामा छौं । त्यसै शिलशिलामा उहाँसँग भेटघाट भएको हो ।’

नानाले सन्तोष र प्रदीपलाई आफ्नै निवासमा बोलाएका थिए । त्यसक्रममा उनलाई फिल्मको वानलाइन स्टोरी सुनाइएको थियो । ‘उहाँलाई कथा मन परेको छ अब स्क्रिप्ट फाइनल भएपछि फेरि भेट गर्नेछौं । उहाँलाई स्क्रिप्ट पनि मन पर्‍यो भने नाना पाटेकर र प्रदीप एकसाथ पर्दामा देखिनेछन्,’ निर्माता सेनले भने । भेटको क्रममा प्रदीपले नानालाई ‘प्रेमगीत ३’को ट्रेलर पनि देखाएका थिए ।

सेनले अब बन्ने फिल्म ‘प्रेमगीत ४’ हुन्छ वा नयाँ भन्नेमा टुंगो नभइसकेको बताए । तर, स्क्रिप्टमा काम भइरहेको उनको भनाई छ । नयाँ फिल्मको तयारी र ‘प्रेमगीत ३’को हिसाबकिताब मिलाउनका लागि आफूहरु केही दिनदेखि भारतमा रहेको उनले जानकारी दिए । उनले चाँडै प्रदीपले बलिउड फिल्म साइन गर्न सक्ने संकेत पनि गरे । अहिले प्रदीपले स्क्रिप्ट पढिरहेको सन्तोष बताउँछन् ।

सेनले फिल्मीखबरसँग अनलाइन संवादमा भने, ‘प्रदीपले एउटा बलिउड फिल्मको स्क्रिप्ट पढिरहेको छ । उसलाई स्क्रिप्ट र चरित्र मन पर्‍यो भने चाँडै बलिउड फिल्म साइन गर्न सक्छ । केही दिनमा ऊ लेखकसँग स्क्रिप्टको बारेमा छलफल गर्न गुजरात जाँदैछ । उसलाई अन्य केही फिल्मबाट पनि अफर आएको छ ।’ ‘प्रेमगीत ३’ले प्रदीपलाई बलिउड प्रवेशका लागि ठूलो ढोका खोलेको छ ।

प्रतिक्रिया