‘रनिङ शिल्ड प्रतियोगिताले नयाँ खेल प्रतिभाको उजागर गर्नेछ’

राप्ती सोनारी गाउँपालिकाले १४औं राष्ट्रपति रनिङ शिल्ड तथा चौथो राप्तीसोनारी गाउँपालिकास्तरीय अध्यक्ष कप प्रतियोगिता आयोजना गर्दैछ । कोरोना महामारीका कारण यसवर्ष साविकभन्दा केही ढिलो गरी आयोजना गरिएको प्रतियोगिता राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मी माध्यमिक विद्यालय राप्ती सोनारी-२, मदुईमा आयोजना हुँदैैछ । प्रतियोगिता फागुन १८ गते बुधबारदेखी फागुन २१ गते सनिबारसम्म संचालन हुनेछ । प्रतियोगिताको आयोजना, व्यवस्थापन र आतिथ्यताको जिम्मेवारी पाएको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं प्रतियोगिता आयोजक समितिका सदस्य सचिव लक्ष्मण आचार्यसँग प्रतियोगिताका बारेमा खबरगन्जले गरेको संवाद ।


प्रतियोगिताको तयारीबारे बताइदिनुस् न l
यो प्रतियोगिता नियमितरुपले विद्यालयहरु संचालन भइरहेको भए अलि अगाडि नै सम्पन्न हुनुपर्ने थियो । तर कोरोना महामारीका कारण साविकमा प्रतियोगिता हुँदै आएको समयमा गर्न सकिएन । धेरै स्थानीय तहहरुले त यो प्रतियोगिता गर्न नसकिने निणर्य नै गरे । तर हामीले अहिले कोरोनाको खोप पनि लगाइसकेको अवस्था र विद्यार्थीहरुमा विविध कारण शैक्षिक क्रियकलापको निरन्तरतामा आएका अन्यौलताको प्रभावलाई ध्यानमा राख्दै प्रतियोगिता गर्ने निणर्य गरेका छौँ ।

राप्ती सोनारी गाउँपालिकाका आदरणीय अध्यक्ष ज्यूको अग्रसरतामा गाउँपालिकाले प्रतियोगिता गर्ने निणर्य गरेपछि फागुन १२ गतेदेखि मात्रै हामीले प्रतियोगिताको तयारी सुरु गरेका हौँ । यस अवधिमा तयारीका थुप्रै कामहरु गर्नुपर्ने थियो । त्यसमा हाम्रो विद्यालयले अगुवाई गरिरहेको छ ।

प्रतियोगिताको सम्पूणर् व्यवस्थापनको जिम्मा पाएको विद्यालय भएकोले पनि हामीले तीव्ररुपमा तयारीको सक्रियता अघि बढायौँ । हाम्रो विद्यालयको व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, सबै विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, जनप्रतिनिधि, स्थानीय खेलाडी र खेलप्रेमीहरुको सहयोगले छोटो अवधिमा पनि प्रतियोगिताको तयारी गर्न सफल भएका छौँ ।

प्रतियोगितामा कति विद्यालयहरु सहभागी हुँदै छन् ?
करिब ७२ वटा विद्यालयहरु प्रतियोगितामा सहभागी हुनुपर्ने हो । तर कोरोनाका कारण प्रतियोगिताको समय अलि पछि भइदिँदा र शैक्षिक सत्रको अन्तमा प्रतियोगिता हुन लागेकोले विद्यार्थीको संख्या केही घट्छ कि भन्ने अनुमान गरेका छौँ । यद्धपि हाम्रो अपेक्षा सबै विद्यालयको सहभागिता होस् भन्ने हो ।

कस्ता खेलहरु प्रतियोगितामा समावेश छन् ?
यो प्रतियोगितामा विशेषतः आधारभूत तहको छुट्टै इभेन्ट हुन्छ भने माध्यमिक तहको छुट्टै इभेन्ट हुन्छ । कक्षा १ देखि ८ सम्मका लागि छुट्टै खालका प्रतियोगिताहरु गरिनेछन् । त्यसभन्दा माथिका कक्षाका लागि छुट्टै प्रतियोगिताहरु गरिनेछन् ।


आधारभूतको हकमा कक्षा १ देखि ३ सम्मलाई गणित दौड छ । ४, ५ मा पनि गणित दौड छ । आधारभूत तह १ देखि ८ मा सय मिटरको दौड, दुई सय मिटरको दौड र चार सय मिटरको दौड छ । माध्यमिक तहको हकमा सय, दुई सय, चार सय, आठ सय मिटर, १५ सय मिटर दौड र तीन हजार मिटर दौड छ । यसैगरी चार गुणा एक सय मिटर रिले दौड र चार गुणा चार सय मिटर रिले दौड पनि माध्यमिक तहका लागि समावेश गरिएको छ ।

यसैगरी लङ जम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभ्लिङ थ्रो पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । यसबाहेक कबड्डी र मार्शल आर्ट पनि यो रनिङ शिल्डमा हुन्छ । तर यसवर्ष उक्त इभेन्टलाई समावेश गरेका छैनौँ ।


प्रतियागिताको व्यवस्थापनकाका लागि कस्ता कस्ता उपसमितिहरु बनाइएका छन् ?
बाँके जिल्लामा सदरमुकाम बाहिर जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने विद्यालय लक्ष्मी मावि मदुई नै हो । त्यसअर्थ जिल्लास्तरीय रनिङ शिल्ड संचालन गरिसकेको अनुभव भएको विद्यालय भएकोले यस विद्यालयलाई विश्वास गरेरै गाउँपालिकाले हामीलाई जिम्मेवारी दिएको हो भन्ने हामीले बुझेका छौँ ।

तर यसवर्ष प्रतिकूल समयका कारण हामीलाई व्यवस्थापनमा हामी अलि बढी दौडधुपका साथ खटिनुपर्ने भएको छ । त्यसो भएर हामीले प्रतियोगितालाई भव्य, सभ्य एवं व्यवस्थित रुपले संचालन गर्न विभिन्न उपसमितिहरु बनाएका छौँ । हाम्रो विद्यालयका शिक्षक कर्मचारीहरु सम्मिलित करिब १२ वटा उपसमितिहरु बनाएका छौँ । सबै शिक्षक र कर्मचारीहरुलाई कार्यविभाजन गरिएको छ ।

यसका साथै हामीले प्रतियोगितामा अफिसियलका लागि स्थानीयस्तरमा रहेका खेलाडीहरु र खेल क्षेत्रमा विज्ञता भएका महानुभावहरुलाई नै अवसर दिएका छौँ ।

आर्थिक व्यवस्थापन कसरी गरिएको छ ?
यस प्रतियागिताको आयोजक एवं आर्थिक स्रोत राप्तीसोनारी गाउँपालिका नै हो । त्यसको साथ साथै प्रधानाध्यापकहरुको बैठकबाट निणर्य गराएर यो रनिङ शिल्डमा समावेश हुने विद्यालयहरुसँग इन्ट्री फी स्वरुप १ देखि ५ सम्म पढाई हुने विद्यालयसँग एक हजार पाँच सय, ८ सम्म पढाई हुने विद्यालयसँग दुई हजार र १२ सम्म पढाई हुने विद्यालयसँग तीन हजार रुपैयाँ गरेर शुल्क संकलन पनि गरेका छौँ । त्योभन्दा बाहेक केही विद्यालयहरुले आफ्नो स्वईच्छाले सहयोग गर्नुभएको छ । यसरी हामीले आर्थिक व्यवस्थापन गरेका छौँ ।

यो प्रतियोगिताको आयोजनासँग जोडिएर अन्तमा केही भन्नु छ ?
यो प्रतियोगिताको आयोजनाको जिम्मा मात्रै हाम्रो हो । तर यो प्रतियोगिता सम्पूणर् राप्तीसोनारी गाउँपालिकावासीको हो । त्यसकारण गाउँपालिकावासी सबै अभिभावकहरु, संघसंस्थाहरुलाई प्रतियोगिताको सफलताका लागि आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दछु ।

अर्कोतिर यस प्रतियोगिताले विद्यालयहरुमा रहेका खेल प्रतिभाहरुको उजागर गर्ने गर्दछ । त्यस्ता प्रतिभाहरुलाई चिन्ने र उनीहरुको प्रतिभाबारे सबैलाई जानकारी दिने अवसर पनि यो प्रतियोगिता हो । त्यसकारण विशेषगरी विभिन्न मिडियाका साथीहरुलाई प्रतियोगिताको बारेमा समाचार सम्प्रेषण गरेर सहयोग गर्नुहुन पनि अनुरोध गर्दछु ।

प्रतिक्रिया