आठौं धारा नेपालगन्ज म्याराथनलाई महोत्सवमय बनाइने

नेपालगन्ज : ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आायोजना हुने आठौं धारा नेपालगन्ज म्याराथनमा २०२२ को तयारी तिब्र पारिएको छ । आज मंसिर ५ गते नेपालगन्ज स्थित बीपी चोक र कोहलपुर चौराहमा दीप प्रज्वलन गरिएको छ । नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले र राष्ट्रिय खेलकुद परिषदका सदस्य एलबी क्षेत्रीले कोहलपुर चौराहमा दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो भने बीपी चोकमा अर्का संरक्षक सदस्य सन्तोष खड्काले आरम्भ गरेका थिए । यसबर्ष दुइ दिने कार्यक्रमसहित म्याराथनलाई महोत्सवमय बनाइनेछ । अघिल्लो दिन नगरपालिका परिसरमा एक्स्पो रहनेछ । त्यसका लागि स्थानीय संघसंस्थालाई आह्वान गरिएको छ ।

दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने नेपालगन्ज म्याराथन हरेक मंसिरको पहिलो शनिवार हुने गर्दछ । आमनिर्वाचनका कारण यसबर्ष भने आठौं धारा नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिवार हुँदैछ । नेपालगन्ज उपमहानगरपालिका अगाडि सुरु÷समापन गेट रहने आठौं धारा नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ । लामो दुरीका धावकलाई उत्साह थप्न सम्पुर्ण जिल्लावासीलाई आआफ्नो तहबाट सहभागिता जनाउन आग्रह गरिएको छ । सहभागिता एवं सक्रियताका आधारमा व्यक्ति एवं संघसंस्थालाई सरप्राइज पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनेछ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्ज म्याराथनलाई बर्षेनी स्तरीय बनाउदै राष्ट्रियस्तरको भव्य प्रतियोगिताका रुपमा स्थापित गर्ने आयोजक टिमको परिकल्पना रहेको आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले बताए ।

आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन(४२.१९५किमी)तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिनेछ ।
त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ ।

त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ ।

कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । किड्स रन तथा वाकाथनतर्फ गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । म्याराथन पुरा गर्ने सबैलाई फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए ।

प्रतिक्रिया