काठमाडौँ : मध्यम तथा ठूला किसानले पालेका पशुमध्ये वर्षेनी साढे ५ हजार पशुको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ६ हजार ४ सय ८६ पशुपालन व्यवसायमा गरेको सर्वेक्षणमा यस्तो देखिएको हो ।
मंगलबार सार्वजनिक गरिएको सर्वेक्षणअनुसार सबैभन्दा बढी रोग र महामारीका कारण मृत्यु भएको छ । रोग र महामारीबाट सन्दर्भ वर्ष (१० वर्ष) मा ३४ हजार ४ सय ६८ पुशको मृत्यु भएको छ । ‘सन्दर्भ वर्षमा ५६ हजार १ सय १ पशुको मृत्य भएको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘रोग र महामारीबाट सन्दर्भ वर्षमा ३४ हजार ४ सय ६८ मृत्यु भएको छ । बाँकी, प्राकृतिक विपत्, प्रकोप, दुुर्घटनाका कारण र प्राकृतिक रूपमा मृत्यु भएको छ ।’
सर्वेक्षणअनुसार प्राकृतिक विपत्, प्रकोपका कारण १० वर्षमा ३ हजार ६ सय ३६ पशुको मृत्यु भएको छ । प्राकृतिक रूपले/दुर्घटनाका कारण १७ हजार ९ सय ९१ पशुको मृत्यु भएको उल्लेख छ । १० वर्षको अवधिमा सबैभन्दा बढी बाख्रा १९ हजार ८ सय ८०, सुँगुर/बँगुर १३ हजार १ सय ८९, भेडा/भेडी १० हजार ७ सय ६१ मृत्यु भएको छ । त्यस्तै, गाई/गोरु ४ हजार ९ सय ६०, च्याङ्ग्रा ४ हजार ४३, राँगा/भैंसी ३ हजार २ सय ६८ वटा मृत्यु भएको छ । सर्वेक्षणअनुसार मध्यम तथा ठूला किसानले धेरैजसो उन्नत जातका पशु पालेका छन् । ‘पशुको संख्यामध्ये उन्नत जातका गाई/गोरु ७५ प्रतिशत, राँगा/भैंसी ७१ प्रतिशत, बाख्रा ४५ प्रतिशत, भेडा/भेडी २६ प्रतिशत र सुँगुर/बँगुरहरू ९२ प्रतिशत पालेका छन्,’ सर्वेक्षणमा भनिएको छ । स्रोत: व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८