डोल्मा

आज डोल्मा निकै नै खुसी छिन् । खुसीले गर्दा उनी एकै ठाउँमा स्थीर भएर रहन पनि सकेकी छैनिन् । आनन्दले गर्दा शरीरको रोमरोम रोमान्चित भएको छ उनको । यिनको नजरमा संसारनै खुसीले छताछुल्ल छ । त्यसमाथि घरपरिवार र छरछिमेकमा तीजको चाडवाडले रौनक ल्याएको छ । पोखराबजारलाई त एक महिना अगाडि देखिनै छपक्कै छोपेको छ तीजले । रातो पहिरनमा सजिएका महिलाहरुलाई पार्टी प्यालेसका भोजभतेर र नाचगाँंनमा भ्याईनभ्याई छ । महिलाको नामको भोजमा पुरुषहरुको रजाँईले गाँजेको छ । मानौं यो चाड उनीहरुको पनि हो । पसलमा सामान खरिद गर्नेको घुइँचो छ, खुट्टा टेक्ने ठाँउ छैन । सार्वजनिक स्थानका साथसाथै घरघरमा समेत चेलीवेटीलाई निम्ता गरी खुवाउने र नाचगान गरी रमाईलो गर्ने चलन बढेर गएकोे छ । चाडवाडकोे सुकृतिमा विकृति भित्रिन थालेकोमा जनमानसलाई चिन्तीत पनि तुल्याएको छ ।

रातो पहिरन माथि सिँउदोभरी सिन्दुर र गहनाले सजिएकी डोल्मा साठीको नेटोमा पनि लेकको गुँरास झै फक्रेको देखिन्छिन् । तिजका गीतमा नेपाली लयमै नाच्न जानेकी छिन् । मनसा कमर्णा यही माटोको महकसंग अन्तरघुलन भएकी छिन् । यिनीसंगसंगै महिला नातेदार र छोरीचेलीे एलईडी स्क्रिनको ठूलो भोलुममा धीत मर्ने गरी नाच्दै रमाएका छन् । नरमाउनु पनि किन? आज त तीजको दरखाने दिन हो । स्क्रिनमा पशुपती शर्माको र राधिका हमालको ‘लरक्कै लक्र्याे रातो सारी भुईमा’ भन्ने गीतको आवाज गुञ्जिरहेको छ ।

नाच्दानाच्दै भावनामा बहदै चट्टै छोडेर डोल्मा आफ्नो कोठातर्फ लाग्छिन् । केही बेरमा कोठाबाट निस्केर छततर्फ लाग्छिन् । उत्तरतर्फ वर्षा ऋतृले धोई पखाली गरेर कन्चन भएका हिमचुचुरा दाँतका पङ्क्तिझै उज्याला देखिन्छन् । धौलागिरि र अन्नपूर्र्णको खोँचबाट अझै पर हेर्न खोज्छिन् । त्यो क्षितिजभन्दा पनि अझैं पारि छ उनको जन्मघर । चरी भए उडी एकपटक जन्म घरकोे आँगनमा पुग्ने थिँए भन्ने उनको ईच्छा अब पुरा हुने भएको छ । हातमा लिएको हरियो पासपोर्टमा नजर लगाउँदै एकपटक निधारमा छोएर इष्टदेवलाई धन्यवाद दिन्छिन् । उनको पासपोर्टमा हिजै मात्र तिव्बत जानको लागि भिसा लागेर आएको छ । बर्षौँ अँध्यारोले ढाकेको मनमा उज्यालो छाएकोे छ । अब जन्मघर जान पाउने छिन् । त्यतिनै बेला फेवातालबाट उडेका सारसका जोडीहरु सन्ध्याकालको कावा खाँदै शिरैमाथिबाट उत्तर लाग्दछन् । कौतुहल हुँदै मनमनै आफ्नो खवर पनि लैजा चरी भन्दै यिनको उडानलाई ओझेल नपर्दासम्म नियालिरहन्छिन् । एकोहरो टोलाउँदै गर्दा मनमा पचासौं बर्ष अगाडिको त्रासदीपूर्ण घटनाले गाँज्छ । शरणार्थी भएर कष्टका साथ जन्मघर छोडी हिड्दाका ती कालादिनहरु पत्रपत्रहुँदै उप्किदै जान्छन् ।
यिनको पुरा नाम ल्हामो डोल्कर हो । तर बाबुआमामायाले डोल्मा मात्रै भनेर बोलाउँथे । यो नाम घरदेखि पर डाँडामाथिको गुम्बाका लामाले मन्त्र पढ्दै राखेका थिए । ती गुम्बाका लामाहरु विशेष दिनहरुमा आउँथे र उनीहरुको आशीर्वचनपछि कार्यक्रम शुरु हुन्थ्यो ।

तल दक्षिण भागमा लमतन्न भएर बगेगी यार्लुङ्ग नदीको नीलो पानीको रङ्गका दायाँबायाँका बगर घामको प्रकाशमा चाँदीझैँ टल्केका देखिन्थे । (आसाममा आइपुग्दा ब्रम्ह्पुत्रको नामले चिनिन्छ यार्लुङ नदी) बगरदेखि माथि दुबै भागमा आँखाले नभ्याउने खेतीपातीका तरेली परेका फाँटहरु साँगा उपत्यकाभित्र थिए । यही यार्लुङ्ग नदीको बालुवा खच्चडमा बोकाएर बाबु केसाङ्गले दिदी र भाईलाई खेल्ने ठाउँ बनाई दिएका थिए । छिमेकका दौँतरीसंग यिनीहरु अभ्यास गर्दथे । केसाङ्गले आफ्नो समाजमा सबैलाई परिआएमा प्रतिरक्षा गर्न सक्ने गरी अभ्यासको अभियान चलाएका थिए । सरकारी प्रतिनिधिको दर्जाले पनि यिनको मानमनितो थियो । युवाहरुमा नयाँजागरणको विकास आएको थियो । डाँडामाथिको गुम्बाको छानाबाट घामले चियाँउदासम्म यिनीहरु अभ्यास गरिरहन्थे । बिहानी घाममा गुम्बाको ध्वजा, लुङ्गदर र घ्यार्चोक घामको किरणसंग फरफराएको हेर्दा नीलो आकाशमा अनुपम दृश्य देखिन्थ्यो । देवहरुले विचरण गर्ने यो पवित्र भुमिको आकाशमा दैत्यरुपि कालो बादल मडारीरहेको थियो पूर्वी क्षेत्रबाट ।

चीनमा साम्यवादी शासन आएपछि गाँउघरमा ग्यामीहरु (चीनियाँ) पसेर धर्म संस्कृति मान्नदिदैनन् नष्ट गर्छन् भन्थे । बिना ज्याला काममा खटाउँछन् भनि त्रसित थिए मानिसहरु । दलाई लामाको सरकार र चीनियाँबिचको खटपट चारैतिर फैलिएको थियो । चीनसंग जोडिएका पूर्वी क्षेत्र छाम्दो र खाम क्षेत्रमा जस्तो अशान्त उत्तर पश्चिममा नभए पनि आगोको फिलुङ्गो कुन बेला आइपुग्ने हो ? भन्ने भय र त्रास बढेर गएको थियो ।

बाबा यो क्षेत्रको प्रतिनिधि भएको कारणले सरकारी कामकाजमा घरको सेतो घोडा चडेर महिनाको एकपटक ल्हासा जानुहुन्थ्यो । उपत्यकाभरिका मानिसहरु प्रायः बाबालाई भेट्न घरमा आउथे । आउने मानिससंग कुराकानी हुँदा जानकारी पाएको थिएँ ल्हासाको बारेमा । दलाई लामा र पोतला दरवारको बारेमा । चिनियाँले आफ्नो सैनिक क्याम्पमा सरकारी भण्डारबाट टनकाटन जौ लैजादाँ ल्हासामा भोकमरी र अनिकाल परेको घटना । छाम्दो र खामप्रदेशमा जबरजस्ती सैनिक महत्वको सडक खनाइएको र सर्वसाधारण र चिनियाँहरुबिच भएको खटपटमा चीनियाँ घाईते भएको हनाले ल्हासामा अशान्त छ भन्ने सुनेको थिएँ । मेरो बालमष्तिकमा अरु कुरा नबुझे पनि अब कष्टका दिन आँउदैछन् लागेको भन्ने थियो । अन्य बिपत्तिको कुनै आभास थिएन । मोनलम उत्सवको लागि भनि ल्हासा जानुभएको बाबा यसपटक भने लामो समयसम्म पनि घरमा आउनु भएको थिएन । खवर पनि केही पाइएको थिएन । आठ बर्षमै भाइलाई पढ्न भनि गुम्बामा पठाइएको थियो । भाइभन्दा पुगनपुग पाँच बर्षले जेठी म र आमा मात्र थियौ घरमा । काम गर्र्नेहरु सबेरै आएर बेलुका आफ्नै घरमा जान्थे । भोटे नश्लको एउटा खी (कुकुर) थियो त्यसैले घरको रखवारी गर्दथ्यो ।

ल्हासाका समाचारहरु अपुष्ट रुपमा भयभित गराउने गरी गाँउमा फैलिरहेका थिए । दलाई लामा पोताला दरबारमा छैनन् । सबै जनताले हजार कोठा भएको पोतलादरबार घेरेर राखेका छन् रे भन्ने खवर आयो । पछि दरवारमा तोप हान्यो भन्नेदेखि बजारमा चिनीयाँ सैनिक र जनताबिच झडप भैरहेको र धेरै जनता हताहती भएको कुराले सबैलाई सशंकित बनाइरहेकोे थियो । पछि त गुम्बाहरुको तोडफोड र चिनियाँ सैनिकले मान्छे पक्रिदै क्याम्पमा लैजादै गरेको खवरले सबैलाई झन् त्रस्त बनायो ।
लामो समय कुनै खवर पनि पाइएन । बाबा पनि आउनु भएन । अन्यौलअन्यौलमा समय बितिरहेका थिए । छ महिनाको बिचमा गाँउघरमा नयाँनयाँ मानिसहरु देखिन थाले । उनीहरु उपत्यका भरी घुमिरहन्थे । कसैले हतियार पनि भिरेका हुन्थे । उनीहरुले गाउँनजिकै क्याम्प खडा गरेका थिए । नयाँनयाँ उर्दी लगाउँथे । पछि बिनाज्याला बेठबेगार लगाउने र बाटो खन्ने काममा समेत जबर्जस्ती गर्न थाले । कसैले प्रतिवाद ग¥यो कि पके्रर क्याम्पमा लैजान्थे । यिनीहरुले गाउँको सरल जीवनचर्यालाई भताभुङ्ग पारेका थिए । बिनामुल्य अन्नपात घरघरबाट उठाउँथे । शान्त बातावरणमा भुचाल आएजस्तो जीवन जीउन दुरुह बनाएका थिए ।
गाँउमाथिको गोरेटो बाटोमा खच्चड र याकमा सरसामान बेकाएर केटाकेटीसहित दक्षिण पश्चिमतर्फ मानिसहरुको पलायन भएको ताँती देखिन थाल्यो । कोही भेडा च्याङ्राको बथान सहित टाउकामा प्लाष्टिकका प्रशून लगाएका घोडामा सवारी गरेको देखिन्थ्यो । खच्चड र याकको घाँटीमा बाधेँको घन्टीको आवाजले हाम्रो मुटुमा सुईरोले कोपेजस्तो हुन्थ्यो । आफ्नो मातृभूमि छोडौँ कसरी छोडौँ ? बसौँ कसरी बसौँ……. । आमाका आखाँमा चिन्ता र पीरले आँखीभौ वरिपरि कालो परतले छपक्कै छोपेको थियो । गाउँलेहरु दलाई लामा नै नभएपछि अब हामी कसरी बस्ने भन्दथे मानौ रानोबिनाको घारजस्तो !
नभन्दै एकदिन हाम्रो लागि पनि कालो दिन बनेर आयो । एकाबिहानै गुम्बाको तोडफोड र लामाहरुलाई भाटे कारवाई भैरहेको खवर फैलियो । खवर फैलिए संगै भय र त्रास झन् बढेर आयो । आमा चुम्पोलाई (भाइ) लिन भनि त्यता जानु भयो । म छिमेकमा थिएँ । छिमेकीहरु थातथलो छोड्ने तयारीमा थिए । हाम्रो घरपरिवार पहिलो टार्गेटमा छ । त्यसैले पनि मलाई संगसंगै जाउँ हिँड भनिरहेका थिए । चिनियाँ सेना आउनु भन्दा पहिले नै हिड्ने तयारीमा थिएउ नीहरु । भाइ लिन जानु भएको आमा लामो समय आउनु भएन । दिन ढल्किदै जान थाल्यो । लामागुरुहरु नै सुरक्षित नदेखेपछि कसैले पनि आफूलाई सुरक्षित मानेनन् र क्रमशः आफ्नो लट्टीपट्टी सहित थातथलो छोड्न थाले । आमाले बनाएर राखिदिएको वालेप (रोटी) पोका पारी यिनै घर छोड्ने मानिसहरुको बिचमा म पनि मिसिएँ । संगसंगै हाम्रो घरको कुकुर (खी) पनि पुच्छर हल्लाउँदै पछि लाग्यो । हुरीमा सुकेका पातपतिङ्गर उडे झैँ म पनि छिमेकीहरुको आडभरोसामा अनिश्चित भविश्यतर्फ उडेँ । पश्चिम तर्फको हिमालको काखबाट सूर्य अस्त हुने बेला कुकुरले मलाई हेर्दै भुकिरह्यो र फर्कियो । केहिबेर मैले नियालीरहेँ । उसले पेट हल्लाउँदै गति बढाइरहेको थियो । यात्राभर मैले आमा र भाइसंग भेट हुन्छ कि? भनि दृष्ट पछाडि लगाइरहेँ, हुलकाहुल मानिसको बिचमा आमालाई कतै देखिनँ, कहिल्यै भेटिन ।

तीन दिनको रातबिरात पहाड र हिमालको जङ्गार पार गर्दै भेडा च्याङ्ग्रा, घोडा, खच्चड सहितको टोलीले एउटा गाँउमा आएर बिश्राम लियो । यो गाँउ अतिनै सुन्दर थियो । मलाई रमाईलो र अनौठो लागिरहेको थियो । सबै घरहरुलाई एउटै पर्खालले घेरिएको थियो । यहाँ राजाको दरवार पनि थियो । गुम्वाहरु थिए । मानिसहरु उस्तैउस्तै भए पनि भाषा बुझिदैनथ्यो । ईसारामा कुराकानी हुन्थ्यो । अलि पर लामागुरुहरु कुनै धार्मिक अनुष्ठानमा व्यस्त थिए । एकछिन पछि मानिसको लाशलाई मंत्रोच्चारण सहित टुक्राटुक्रा पारेर शिकारी पन्छीहरुलाई खुवाउन थाले । बाँकी मानिसहरु हामीलाई अनौठो मानेर हेरिरहेका थिए । अगाडि आउने टोलीहरु ठाउँठाउँमा पाल टाँगेर बसिरहेका थिए । यसरी आउने मानिसहरु प्रायः खुसी भएको देखेर मलाई हामी सुरक्षित ठाँउमा आइपुगेको जस्तो लाग्यो । हप्ता दिन बढी हामीहरु यो ठाँउमा बस्यौँ । अहिले बुझ्दा यो ठाउँ उपल्लो मुस्ताङ रहेछ ।
बिस्तारैबिस्तारै मानिसहरुले बसाईसराई तलतल गर्दै लगे । हाम्रो टोली पनि नदीको किनारकिनार हुँदै दक्षिणै लाग्यो । कुनै ठाँउहरु समथर थिए भने कतै भिर पाखापखेरा थिए । एक ठाउँमा अग्लो पहाड माथिबाट झरेको झरना अतिनै रोमान्चक थियो । यी धरातलको सडक छिचोल्न बस्तुभाउ सित कठिन थियो । यस्तै कष्टकर यात्रा तय गर्दै दाना भन्ने ठाउँमा आएर टोलीले अड्डा जमायोे । हाम्रो रसदपानी सकिदै गएको हुदाँ भेडा च्याङ्रा दिएर अन्न साट्दै गएको थियौं । कतै अन्नपात बिनामुल्यमा पनि पाउथ्यौं । दयालु मानिसहरुको बस्तिमा खाना बनाएर पनि खुबाए । बिरानो देशमा माया पनि पाइयो । दुःख कष्ट पनि पाईयो । भेडा च्याङ्ग्रा सहित गाँउगाँउ बस्दै जाँदा मानिसहरुले उत्सुकतापुूर्वक हाम्रो टोलीलाई नियालीरहन्थे । असल र खराव प्रवृत्ति सबै माटोमा हुने रहेछ । देश छोडी शरणमा आएका हरुको भेडा च्याङग्रा कति ठाउँमा लुकाइदिन्थे । कतै लुट्न खोज्थे तर गाँउका मुखियाकहाँ उजुरी गर्दा न्याय पाइन्थ्योे । ढाढस पनि दिन्थे । बाटोमा पर्ने बेनीको बजारमा आईपुग्दा हाम्रो टोलीले बाँकी रहेका ता (घोडा) पनि कौडीको मुल्यमा बिक्रि गरी हिड्यो । हामी धेरैको मन रोयो, हाम्रो समूहका सिङ्गो (मुली) ले –‘हामी खाने कि ता (घोडा) खाने ? भनेर सम्झाए । बाँकी रहेका भेडा च्याङ्ग्रा ततेर्दै अगाडी बढ्यौं । बाटोमा हामीलाई कसैले भोटेभोटेनी भन्थे, केटाकेटीहरु टोपा टोपेनी भन्दै जिस्काएर सानासाना ढुङ्गाले पनि हिर्काउँथे ।

फोर्से भन्ने ठाउँमा नदीको बगरैबगर आईपुगियो । ठाडो खोलाले ढुङ्गाढुङ्गैको बगर बनाएको रहेछ । कति ठाउँमा ढुङ्गामाथिबाटै हिड्नु पर्ने चिप्ला ढुङ्गा । हिँड्दै जाँदा चिप्लीएर दुई ढुङ्गाको कापमा परी मेरो दाहिने खुट्टा प्पाट्टै भाँच्चियो । हाम्रो समुहमा समस्या थपियो । समुहकै पोपो मोमो (बाजेबजै) ले बाँसका सानासाना चोइटाचोइटी बनाएर खुट्टा नहल्लने गरी बाँधीदिनु भयो । हिँड्न सक्ने अवस्था थिएन । भाच्चिएको ठाउँमा सुन्निदै आयो । आमाबाबाको यादले सताईरह्यो । आँखाबाट धर्धरी आँसु खस्न थाले । सबैले सम्झाए । किँकर्तव्यबिमुढ भै रहेको बेला एकजोडी अधबैसे यात्री भगवान बनेर आए । मुक्तिनाथ दर्शन गरी फर्केका रहेछन् । सोधखोज गरे, हारगुहार गरे । काठको डण्डीमा दुई ठाउँमा कपडा बाँधी डोलाजस्तो गरी दुई जनाले बोक्न मिल्ने बनाए । हिड्ने बेलामा कागजमा शायद घरठेगाना हुनुपर्छ लेखि हाम्रो मुलीलाई दिए । मुली त उनको उपकार देखेर पाउमा परे, अरुले हात जोडीरहे । मलाई नजिकै पर्ने बागलुङ्ग अस्पताल लैजान दुई जनाले बोके । म भनेँ हुरीमा बतासिएको रुखको पातछेउ लागेझैँ भएँ । अलि वर झोलुङ्गे पुलसम्म सबै संगै आयौं । जसको भरोसामा म आएकी थिएँ, उनीहरु झिटीझाम्टा सहित नदीको बगरैबगर लागे । हामी पुलतरि बागलुङ्गतिर लाग्यौं । बिछोडिदाँ आधा मुटु चुँडिएर गएजस्तो भयो । आँखाबाट तरतरी आसु बगिरहे ।

अस्पतालमा दश दिनभन्दा बढि बस्न परेन । जीवनमा पहिलो पटक गोरा मानिस मैले त्यही अस्पतालमा देखेँ । यिनीहरुले नै मेरो उपचार गरे । उपचारमा मैले धेरै माया पाएँ । मेरो यो पहिलो अनुभव थियो । अस्पतालबाट पहिलो पटक म उनीहरुको घरमा गएँ, जसले मलाई अस्पताल ल्याउनु भएको थियो । मेरो जीवनमा नयाँ आयाम थपिएको थियो । कोखबाट नजन्मे पनि बाबुआमा पाएको थिएँ । धर्मपुत्री होइन छोरीकै हैसियतमा म यो घरमा हुर्किदै गएँ । उहाँहरु निःसन्तान दम्पत्ती हुनुहुथ्यो । मुक्तिनाथ भगवानको आर्शिवादले –‘तिमीलाई पायौँ’ भन्नुहुन्थो । खुट्टा बिसेक भएपछि म नजिकैको स्कूल बिद्मामन्दिरमा भर्ना गरिएँ ।
एक बर्षपछि सोध्दै खोज्दै गरी दुई जना बाजेहरु (पोपो) आउनु भयो । म स्कूलबाट फर्किदाँ उहाँहरु पटाङ्गिनीमा बस्नु भएको थियो । मलाई देख्दा पहिले त खुसीले बोल्नै सक्नु भएन । धेरैबेर कुराकानी भए । उहाँहरु क्याम्पमा बस्नु भएको रहेछ । उमेरकाहरु भारततिर छिरेछन् । बाबासंग कनीकुथी लामै कुराकानी भयो । मेरो बारेमा कुनै सुर्ता लिनु पर्ने नदेखेपछि खुसीहुदै बाजेहरु उठ्नु भयो अनि मेरो गालामा सगुन स्वरुप मुगाको माला लगाई दिनु भयो । बिदाबादी भै हिड्दा बाबा पनि अलि तल बजारसम्म छोड्न भनि संगै लाग्नु भयो ।

मैले स्कुलपछिको बाँकी अध्ययन पनि बाग्लुङ्गमै गरें । यही माटो नै कर्मक्षेत्र भयो । सहपाठी जगत थापासंग कुन बेला मुटु साटियो पत्तै भएन । बाबाले सहर्ष पन्चेबाजामा डोलीमा अन्माउनु भयो । यही माटोको सुगन्धभित्र घर पनि पाएँ, माईती पनि पाएँ । जगतले भारतिय गोर्खा सेनाबाट अवकाश पाएपछि पोखरा मालेपाटनमा बसाइ सरियो ।

पाएसम्म शरणार्थी र खम्पाहरुको बारेमा जानकारी लिएँ । बर्षौ पछि पनि छिटफुट रुपमा तिब्वतीहरु पलायन भै रहे । यिनै संग आमा र भाई सकुशल भएको जानकारी पाइयो । धेरै बर्ष तिब्बती युवाहरुले नेपालको भूमी प्रयोग गरेर बिद्रोह गरे । पछि सहयोग गर्ने निकायहरुले सहयोग गर्न बन्द गरे । देश विदेशको राजनैतिक परिदृश्य प्रतिकुल हुँदै गयो । चीनले कहिले पनि तिब्बतलाई स्वतन्त्र राज्य मान्नै चाहेन । नेपाललाई पनि सधैं अफ्ठ्यारो पार्नु उचित थिएन जसले गर्दा अग्लो शरीर, रातो धागोले बाधँेको लामो कपाल हेर्दा खाईलाग्दा देखिने खम्पा लडाकुहरुको बिद्रोहको बिना उपलब्धि अवसान भयो । गे यसीको समुहले विद्रोह त्यागेर नेपाली नागरिकता पनि पायो । गे वाङ्गदीको समुहको विद्रोहीमा कसैले आत्मसमर्पण त केहिले आत्महत्या गरे भने बाँकी टिँकर, लिपुपासको कारवाहीमा गे बाङ्गदी सहित खम्पा बिद्रोहको अन्त भयो । शरणार्थीहरुमा कसैको परिचयपत्र छ । कसैको परिचयपत्र पनि छैन । यो पृथ्वीलाई एउटै परिवार मानी शरणार्थीको समस्या कसले हल गर्ने हो ? उनीहरुका आँखा कहिलेसम्म रसाउन छोड्ने हुन्? खै ! केही थाहा छैन । यिनै भारत, नेपालका साठी हजार घरवारविहिनको बिचमा मैले बाबालाई चहारें । शुरुमा विद्रोहको मैदानमा हुनुहुन्छ जस्तो लाग्दथ्यो । विद्रोह पनि सकियो तर, बाबालाई कसैगरी पनि भेटिन ।
– – –
गोधुली बेला पश्चिम पञ्चासेको डाँडा छेउबाट सूर्यनारायण पनि अस्त हुनु भयो । अस्त सूर्यको लम्बवत प्रकाशले अझैं हिमचुचुरा चुमिरहेका थिए । तर आज सूर्यको प्रकाशमाथि स्वेत चुचुराहरु ज्वालामुखीका राता लाभाझैं देखिएर एकैछिनमा हराए । यिनै पहाडहरुले डोल्मालाई जन्मघर सहित डाँडामाथिको गुम्बाको याद दिलायोे । गुम्बाको छानामाथिबाट घामले चियाउँदासम्म आँगनमा खि (कुकुर) संग खेलेको याद आएर डोल्मा पनि मुस्काईन् । सो मुस्कानले उनलाई अततिको उत्खनन्बाट वर्तमानमा ल्याइपु¥यो । उनी छतबाट तल झर्न लागिन् । फेरि चन्द्रमाको ज्योतिमा मुस्कुराइरहेका हिमचुचुरा भेटन भनि एक हुलचरा पङक्तिबद्व हुँदै उडे । बैठक कोठाबाट अझै गीतको धून आइरहेको थियो । लरक्कै लर्क्र्यो रातो ………भुईमा ।

लेखक – रामचन्द्र आचार्य

प्रतिक्रिया