काठमाडौं : निर्देशक एसएस राजामौलीले ब्लकबस्टर फिल्म ‘आरआरआर’को दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका छन् । फिल्मका लागि पिता बी विजयन्द्रसँग मिलेर कथा लेखन थालेको उनले जनाएका छन् ।
नेपालमा समेत १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको ‘आरआरआर’ले हालै जापानी बक्स अफिसमा रेकर्ड राखेको थियो । साथै, जापानमा सर्वाधिक कमाउने तेस्रो भारतीय फिल्मको कीर्तिमान पनि यसले रचेको छ ।
‘बाहुबली’का समेत निर्देशक राजामौलीको ‘आरआरआर’ले दुई तेलुगू स्वतन्त्रता सेनानीहरु अल्लुरी सीताराम राजु (रामचरण) र कोमाराम भीम (जुनियर एनटीआर)को जीवनमा आधारित काल्पनिक कथा प्रस्तुत गर्छ । फिल्मले विश्वभर ११ सय भारुभन्दा बढी कमाइ गरेको छ ।
इण्डिया टुडेको विवरणअनुसार राजामौलीले हालै अमेरिकाको सिकागोमा आयोजित कार्यक्रममा भनेका छन्, ‘मेरो बुबा मेरा सबै फिल्मका कथाका लेखक हुनुहुन्छ । हामीले आरआरआर २ को बारेमा केही छलफल ग¥यौं र उहाँ कथामा काम गर्दै हुनुहुन्छ ।’
‘आरआरआर’ले औपचारिक रुपमा भारतबाट यस वर्ष ओस्कार अवार्डमा सहभागिता नजनाए पनि निर्माताले अमेरिकी वितरकको तर्फबाट उत्कृष्ट फिल्मसहित ओस्कारका अन्य विधामा आवेदन दिएका छन् ।