‘जनताका काममा एकाकार हुने अवसर हुन’ – विनोदकुमार शाह

दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि एमाले बाट उम्मेदवार रहेका विनोदकुमार शाहले यसबाट प्राप्त हुने जिम्मेवारीलाई मैंले जनताका काममा एकाकार हुने र विकास, सुशासन र समृद्धिका लागि योगदान दिने अवसरका रूपमा लिएको बताएका छन ।

प्रदेश सभा सदस्यका तोकिएका विभिन्न जिम्मेवारी छन् । निर्वाचित सदस्यको विशिष्ट जिम्मेवारी प्रदेश सभा भित्रको राजनीतिक शक्ति सन्तुलनको अवस्थामा पनि भर पर्छ । त्यसैले म प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्राप्त हुने जुनसुकै जिम्मेवारी कुशलताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्छु शाहले जनतासंगको घरदैलोको क्रममा बताए । समग्र कर्णालीको विकास र समृद्धिका लागि नेकपा एमालेले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई सचेत, सहजिकरण र परिचालन गर्ने काममा कुनै कमि हुन नदिने शाहले उल्लेख गरे ।

प्रदेश तथा स्थानीय तहबाट हुने सेवा प्रवाह र विकास निर्माणका कामहरूमा सरोकारवालाका लागि सहज वातावरण मिलाउन आवश्यक समन्वय र सहजिकरण समेत गर्ने उनले जनाए । ‘त्यसका लागि आवश्यक नीतिगत र कानूनी प्रवन्धको समुचित व्यवस्था गर्न प्रदेश सभामा मेरो अर्थपूर्ण र प्रभावकारी सहभागिता हुने कुरामा विश्वास दिलाउन चाहन्छु ’ – शाहले भने । उनले सामाजिक न्याय, समावेशिता र सुशासनको प्रत्याभूतिका लागि सदा सक्रिय भई महिला, दलित, जनजाति र पिछडिएको वर्ग समूदायको हक हित संरक्षणका लागि प्रतिवद्ध रहने बताए ।

निर्वाचन क्षेत्र विकासका क्रियाकलाप कर्णाली कोरिडोर र भेरी कोरिडोरको समग्र विकासका प्राथमिकतासँग जोडेर तय गरिनुपर्छ भन्ने मेरो मान्यता छ उनले भने । कृषिको आधुनिकीकरण गरी स्थानीय उत्पादन बृद्धि गर्न पर्यटन व्यवसायमा युवा शक्तिलाई जोडेर स्वरोजगारका अवसरहरू सृजना गरी विकास र समृद्धिको यात्रा अघि बढाउने रणनीतिमा मेरो जोड हुनेछ । बाटो, बिजुली, शिक्षा, स्वास्थ्य, रोजगारीका क्रियाकलापलाई यही रणनीतिको अंग बनाएर काम गर्नेछु । उक्त कार्यका लागि स्रोतको अभाव हुन नदिन स्थानीय तह, प्रदेश र संघबाट प्राप्त हुने स्रोतलाई एकिकृत गरी प्राथिकताका क्षेत्रमा लगानी गर्न सहकार्य गरिने उनले बताए ।

प्रतिक्रिया