सादगी नेता ओली निर्वाचनमा : चुनाव प्रचारप्रसारमा साइकल

राप्तीसाेनारी-१४ कार्तिक: बाँकेमा लामो समयसम्म सुकुम्बासी आन्दोलनको नेतृत्व गरेका सादगी नेताको रुपमा परिचित वीर बहादुर ओली बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको लागी निर्वाचनमा होमिएका छन् । बाँकेमा सादगी नेताको रुपमा परिचित ओली आफ्नो पार्टी नेकपा माक्र्सवादी (पुष्पलाल) पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ को लागी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । ओलीले नौबस्ता चिसापानीको सुकुम्बासी बस्ती निर्माण, खजुरा वडा नम्बर तीन स्थित एलानीको सुकुम्बासी बस्ती, गिजरा लगायतको सुकुम्बासी बस्ती निर्माण र सर्वहारा सुकुम्बासीको निम्ती बासको ब्यवस्थाको लागी लामो समयसम्म राज्यसंगको आन्दोलनको नेतृत्व सम्हालेका थिए ।

उक्त समयमा कयौं पटक जेल समेत गएका ओली बाँकेमा सादगी तथा सैद्धान्तिक रुपमा बिचलित नभएर सिद्धान्तनिष्ट लाभको राजनिती नगर्ने नेताको रुपमा परिचित छन् । ओली हालका दिनमा दैनिक आफ्नो चुनाव प्रचारप्रसारको क्रममा साइकलको प्रयोग गर्ने गरेका छन् । बिहानै देखी राती अबेरसम्म बाँके क्षेत्र नम्बर ३ का घर दैलोमा पुग्ने ओलीको साधन भनेकै साइकल हो । साइकलमा बाधिएको चुनाव चिन्ह (गैती) अङ्कित एउटा झण्डा र केही थान चुनावी घोषणा पत्र ओलीका साथी हुन् । बाँके क्षेत्र नम्बर ३ मा गठबन्धन दल र एमालेका ह्यावी वेटका नेताहरु चुनावी मैदानमा तामझामका साथ होमिएका बेला ओलीको प्रचार भने बेग्लै रहेको छ । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका किशोर सिंह राठोर, एमालेबाट किस्मत कुमार कक्षपति उम्मेदवार रहेका छन् ।

ह्वावीवेटका नेताहरुको चुनावी अभियान भन्दा बिल्कुलै फरक तरिकाले साइकलमा प्रचारप्रसारमा हिड्दै गरेका भेटिने ओलीले नेपालको अक्सर कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट नीति, बिचार र सिद्धान्तलाई आत्मसात नगरेको भन्दै फरक मत राखेर लामोसमय देखी हालका कम्युनिष्ट पार्टीको आलोचना गर्दै आएका छन् । खजुरा गाउँपालिका वडा नम्बर ३ मा पुनर्वास कम्पनीले स्थापना गरेको बस्ती बिकासको क्रममा बसोबास गरेर त्यहीँबाट राजनिती सुरु गरेका वीर बहादुर ओलीले हालको बैजनाथ गाउँपालिकामा पर्ने पितमारीको सुकुम्बासी बस्ती बसाउन नेतृत्व लिएका कारण यी दुई पालिका र सो क्षेत्रमा ओलीको राम्रो पकड रहेको मानिन्छ ।

प्रतिक्रिया