सुर्खेतमा साँझ ७ बजेपछि देउसीभैलो खेल्न नपाइने

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले साँझ ७ बजेपछि देउसीभैलो खेल्न निषेध गरेको छ । तिहारको समयमा राति अबेरसम्म देउसीभैलो खेल्दा झगडा, विवाद र विभिन्न अपराधिक घटना हुने भन्दै साँझ ७ बजेपछि देउसीभैलो बन्द गरेको हो ।

प्रशासनले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा दियो, मैनबत्ती, पालाहरू बाल्ने एवं विद्युतीय उपकरणहरू प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरू हुन सक्ने भएकाले राति ७ बजेपछि तिहारको गतिविधि नगर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ले बताए । विगतका वर्षमा राति १० बजेसम्म देउसीभैलो खेल्दा विभिन्न घटना भएकाे मल्लको भनाइ छ ।

प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, अतिसबाजी जस्ता प्राेज्ज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ ।

दीपावली तथा छठपर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया