‘महापुरूष’ प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

फिल्म प्रदर्शनभन्दा चार/पाँच अगाडि प्रिमियर आयोजना गर्नु आफैंमा ठूलो आँट हो । यो आँट गर्न सक्ने मेकर नेपालमा औंलामा गन्न सकिने मात्र छन् । फिल्मप्रति शतप्रतिशत विश्वास भएपछि मात्र मेकरले प्रदर्शनभन्दा केही दिन अगावै प्रिमियर राख्ने आँट गर्छन् । किनकि, प्रिमियरमा मिलेको प्रतिक्रियाले फिल्म चम्किन र डुब्न पनि सक्छ । त्यसैले प्रिमियरले फिल्मको भविष्य बोल्छ ।

भाइटीकाको भोलीपल्टबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महापुरूष’को पनि प्रदर्शनको ५ दिन अगावै आइतवार काठमाडौंमा प्रिमियर आयोजना गरियो । प्रिमियरभन्दा केही दिन अगाडि नाम चलेका निर्देशक, निर्माता तथा कलाकारलाई फिल्म देखाएपछि ढुक्क भएर निमाताले प्रदर्शनको ५ दिन अघि प्रिमियर राखेका हुन् । र, प्रिमियरमा फिल्मले तारिफ र प्रशंसा मात्र कमाएको छ ।

एकल पिताको बुढ्यौली उमेरमा अंकुराएको प्रेम र विवाह गर्न खोज्दा परिवार र समाज कसरी बाधक बन्छ भन्ने कुरालाई मनछुने ढुंगबाट प्रस्तुत गरिएको फिल्मले प्रिमियरमा उपस्थित हरेक पाहुनालाई भावुक बनाएको थियो । सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा धेरै सेलिब्रेटीका आँखा ओभानो भइसकेका थिएनन् । कति आँशु पस्दै बाहिरिएका थिए भने कोही निःशब्द भएका थिए ।

कलाकार किरण केसीले ‘महापुरूष’ उत्कृष्ट फिल्म बनेको भन्दै तारिफ गरे । प्रिमियरभन्दा अगावै फिल्म हेरिसकेका निर्देशक निश्चल बस्नेतले पनि फिल्मको प्रशंसा गरे । निर्देशक प्रदीप भट्टराईको अर्को ब्लकबस्टर फिल्म भन्दै उनले हरेक एक कलाकारको अभिनय सशक्त रहेको बताए । धेरैपछि कलाकार हरिवंश आचार्यको अब्बल अभिनय हेर्न पाएकोमा उनले खुसी भाव प्रकट गरे ।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म हेर्दा मज्जा आएको प्रतिक्रिया जनाइन् । उनले भनिन्, ‘फिल्ममा जुन कुरा देखाइएको छ, त्यो धेरै राम्रोसँग पस्किएको छ । कलाकार छनोट एकदमै राम्रो छ । नयाँ कलाकार अरुण क्षेत्रीले त फाडिदिएको छ । प्रदीप भट्टराई दाईले अब डबल ह्याट्रिक गर्नुहुनेछ ।’ अर्की अभिनेत्री बेनिशा हमालले फिल्म राम्रो मात्र नभइ धेरै राम्रो बनेको भन्दै प्रशंसा गरिन् ।

त्यस्तै, अभिनेत्री केकी अधिकारी ‘महापुरूष’लाई फिल्म मात्र भन्न चाहन्नन् । यो फिल्मले हरेक मानिसको दिमागमा प्रश्न उठाउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘यो फिल्म मात्र होइन, बलियो सन्देश बोकेको फिल्म हो । फिल्मले प्रश्न खडा गर्छ । बुबा-आमाको सम्बन्ध हामी स्वीकार गर्दैनौं । हामीले यो सही गरेका छौं कि गलत भनेर फिल्मले प्रश्न उठाउँछ । कलाकारको काम उत्कृष्ट छ ।’

कलाकार खगेन्द्र लामिछाने ‘महापुरूष’लाई बाको कथामा बनेको उत्कृष्ट फिल्म भन्न चाहन्छन् । ‘नेपालमा बाहरुको कथामा फिल्मै बनेका थिएनन् । ‘महापुरूष’ले बाको कथा उठाएको छ । फिल्म अत्यन्त बलियो छ,’ उनले भने, ‘फिल्ममा इमोसन, कमेडी, सन्देश सबै छ । यो फिल्म बच्चादेखि बुढासम्मलाई हेराउनु पर्छ । परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो फिल्मले देखाएको छ ।’

प्रिमियरमा पाहुनाहरुबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित देखिएका कलाकार हरिवंश आचार्य ‘महापुरूष’ थ्रि इडियट्स (निर्देशक प्रदीप भट्टराई, निर्माता द्वय रविन्द्र सिंह बानियाँ र म्यास दिपेश खत्री) ले बनाएको बताउँछन् । नेपालमा फिल्म बनाउनु आफैंमा रिक्स रहेको अवस्थामा यस्तो गम्भीर कथामा फिल्म बनाउने मेकर इडियट नै रहेको कलाकार आचार्यको भनाई थियो । 

आचार्य भन्छन्, ‘फिल्ममा मैले पाएको भूमिका निर्वाह गर्न सकेँ जस्तो लागेको छ । यो टिमप्रति म आभारी छु ।’ त्यस्तै, फिल्मका कलाकार मदनकृष्ण श्रेष्ठले प्रिमियरमा प्राप्त प्रतिक्रियाले मन खुसी भएको बताए । उनले फिल्म राम्रो बनेको बताउँदै भोलीका दिनमा पनि फिल्म खेल्ने वाचा गरे । अभिनेत्री गौरी मल्लले मह जोडीसँग काम गर्ने सपना साकार भएकोमा खुसी व्यक्त गरिन् ।

फिल्मका कलाकार राजाराम पौडेलले आफूले धेरै फिल्ममा काम गरेको भए पनि ‘महापुरूष’लाई लिएर प्रियिमरभन्दा अगाडिसम्म मनमा डर रहेको बताए । ‘मैले धेरै फिल्म खेलेँ । अरु फिल्म खेल्दा मलाई खासै वास्ता हुँदैन थियो । तर, यो फिल्मलाई लिएर म चिन्तित थिएँ । के हुने हो, कस्तो होला भन्ने लागिरहेको थियो । फिल्म हेरेपछि भने म ढुक्क भएँ । फिल्म ब्लास्ट छ,’ उनले भने ।

प्रिमियरमा सबैभन्दा बढी प्रशंसा कमाएका डेब्यू अभिनेता अरुण क्षेत्रीले पर्दामा देखिएको आफ्नो काम अग्रजहरुको आर्शिवाद र छत्रछायाँका कारण सम्भव भएको बताए । यही फिल्मबाट डेब्यू गरेकी अभिनेत्री अन्जना बराइलीले ‘महापुरूष’बाट आफूले धेरै सिक्न पाएकोमा खुसी प्रकट गरिन् । उनी भन्छिन्, ‘मैले देखेको सपनाभन्दा धेरै पाएकोमा आफैंलाई सम्हाल्न गाह्रो भएको छ ।’

प्रतिक्रिया