नेपालगन्ज : स्वस्थ पर्यावरण र समुन्नत स्वास्थ्यको लागि आयुर्वेद भन्ने नारा सहित बाँकेको खजुरामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ति मनाइएको छ । नागरिक आरोग्य सेवा केन्द्र खजुराको आयोजना भएको कार्यक्रममा अस्वस्थकर जिवनशैलिका कारण विभिन्न रोगको सिकार बन्न परिरहेकोले स्थानिय श्रोत साधनलाई जुटाएर भएपनि आयुर्वेदको प्रयोग गर्नु उपयोगि हुनेमा जोड दिइएको थियो ।
खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीको अध्यक्षतामा दिवस मनाउने क्रममा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले आयुर्वेदको महत्व बढ्दै गएकोले यसको प्रयोग बढाउनुपर्ने बताए । खजुराका नागरिकलाई निरोगि बनाउने अभियान अन्तरर्गत आयुर्वेद औषधिको प्रयोगलाई बढवा दिइने उल्लेख गरे ।
नागरिक आरोग्य सेवा केन्द्र खजुरामा विगत एक वर्ष देखि थन्किएको थेरापि मेसीनलाई छिटै संचालनमा ल्याइने प्रतिवद्धता जनाए । खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले आयुर्वेदको माध्यमबाट गरिने उपचार पद्धती उपयोगि रहने बताइन । कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोका, वडा नम्बर ७ का वडाध्यक्ष राम गोपाल यादव लगाएतले आयुर्वेदको महत्वका विषयमा चर्चा गरेका थिए । कार्यक्रमको संचालन नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनालले गरेका थिए ।