– निशु जोशी
सरकारले प्लाष्टिकको माला आयातमा प्रतिबन्ध लगाएपछि फूलको माग बढेको छ । तर असोज १८ गतेदेखी करिब एक साता परेको बेमौसमी बर्षातका कारण बाँकेमा यसवर्ष फूल उत्पादन घटेको छ । फूल फूल्ने बेलामा वर्षा भएपछि यसवर्ष फूलको उत्पादन घटेको पुष्प व्यवसायीहरुको भनाई छ । कोहलपुरमा बसेर विगत ५ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएकि कोहलपुर २ कि पुष्प व्यवसायी विष्णु चौधरीले यसवर्ष एक क्विन्टल फूल मात्रै उत्पादन भएको बताइन् ।
उनले यसअघि ८ कट्ठा जमिनमा फूलखेति गर्दै आएकोमा यसवर्ष १५ कट्ठामा रोपेकि थिइन् । तर यसवर्ष परेको बेमौसमि वर्षातले फूल फूल्ने बेलामा क्षति पुगेपछि उत्पादन घटेको बताइन् । हरेक वर्ष तिहारमा मात्रै १० क्विन्टल फूल खपत हुने गरेको छ । २÷३ क्विन्टल फूल दांग र पाल्पाबाट मगाएको उनले बताइन् ।
नेपालगन्जकी पुष्प व्यवसायी विन्दु चर्ति मगरले पनि करिब २ विघा जमिनमा फूल खेति गर्दै आएकि छिन् । बेमौसमी वर्षाका कारण फूल उत्पादन घटेकाले बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
यसवर्ष बाँकेमा करिब एक दर्जन जतिले व्यवसायीक रुपमा सयपत्रि फूलको खेति गरेको पाइएको छ । नेपालगन्ज, खजुरा र कोहलपुर क्षेत्रमा फूल खेति फष्टाउन थालेको छ ।
कोहलपुरमा आफूले प्रोत्साहन गरेपछि मदनचोकमा केहि युवाहरुले ५ कट्ठामा फूल रोपेको व्यवसायी विष्णु चौधरीले बताइन् । यससंगै कोहलपुरको खड्गबार, खजुरा लगायतका ठाँउमा धेरथोरै सयपत्रि फूलको खेति गरेको पाइएको छ ।
तर बेमौसमी वर्षातले फूल विगार्नुका साथै यसवर्ष तिहार छिटो परेकाले फूल फूल्न नपाएको कोहलपुरकी महिला उद्यमी बसन्ती तिरुवाले बताइन् । उनले पनि २ कट्ठा जमिनमा फूलखेति गरेकि छिन् ।
फूलखेतिमा आर्कषण बढ्दै
बाँकेमा व्यवसायीक फूलखेतितर्फ युवाहरुको आर्कषण देखिएको छ । एक पटक रोपिएपछि लगातार ३ महिना सम्म फूलबाट लाभ लिन सकिन्छ । तिहारसंगै विवाह, पुजा, शुभकार्य र विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा फूलको अत्याधिक प्रयोग बढेको व्यवसायी चर्तिको भनाई छ ।
फूल खेति व्यवसायीक रुपमा गर्नका लागि स्थानीय सरकारले समेत किसानलाई अनुदान दिदै आएको छ । यसले पनि फूलखेति तर्फ किसानहरुको आर्कषण बढेको हो । २०७५ सालमा कोहलपुर नगरपालिकाले व्यवसाय सुरु गर्न २ लाख ५० हजार रुपैँया अनुदान पाएको व्यवसायी विष्णु चौधरीले बताइन् । समरसेवल, टनेल लगायतका आवश्यक सामाग्री किन्न अनुदानले सघाएको उनले बताइन् ।
कृषि निर्देशनालय बुटवलबाट करिब ३ लाख समेत अनुदान र आफ्नो लगानीमा कोहलपुरमा उनले पुष्प विक्रि केन्द्र पनि सन्चालन गरिरहेकि छिन् । यता कृषि ज्ञान केन्द्र बाँकेले ६ लाख अनुदान दिने भनेर कृषकहरु छनौट गरेपनि प्रक्रिया ढिलाई हुँदा चौधरी लगायतका किसानहरुले पाउन सकेका छैनन् ।
व्यवसायीक रुपमा फूल खेति गर्ने व्यवसायीहरुले बाह्रै महिना फूल खेति गर्दै आएका छन् । फूल खेतिसंगै व्यवसायीहरुले विक्रि केन्द्र समेत आफैले सन्चालन गर्दै आएका छन् ।
सयपत्री फूल ६ सय रुपैँया किलो
यसवर्ष सरकारले प्लाष्टिकको माला आयातमा प्रतिबन्ध लगाएपछि सयपत्रि फूलको माग बढ्ने देखिएको छ । बेमौसमि वर्षात र तिहार छिटो परेपछि सयपत्री फूल मंहगीएको छ ।
यसवर्षको तिहारमा बाँकेका पुष्प व्यवसायीहरुले ६ सय रुपैँया किलो फूल विक्रि गरिरहेका छन् । एउटा सयपत्री मालाको एक सय पचास रुपैँया देखि करिब दुई सय रुपैँयाका दरले विक्रि भइरहेको बताएका छन् ।