सरकारको खातामा ३८ अर्ब ६९ कराेड रूपैयाँ बढ्यो

काठमाडौं : सरकारको खातामा ३८ अर्ब ६९ कराेड रूपैयाँ रकम बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गतवर्षको तुलनामा यसवर्ष सरकारको खातामा जम्मा भएको रकम बढेको हो।

२०७९ भदौ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २६६ अर्ब ३८ करोड रूपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ। २०७९ असार मसान्तमा यस्तो मौज्दात २२७ अर्ब ६९ करोड रूपैयाँ थियो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० को दुई महिनामा संघीय सरकारको कुल १३४ अर्ब ३४ करोड रूपैयाँ खर्च भएको छ। यस अवधिमा चालु खर्चतर्फ १०८ अर्ब ७३ करोड रूपैयाँ, पुँजीगततर्फ ५ अर्ब ८६ करोड रूपैयाँ र वित्तीय व्यवस्थातर्फ १९ अर्ब ७५ करोड रूपैयाँ खर्च भएको छ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व १४३ अर्ब ८१ करोड रूपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन भएको छ। यसमध्ये कर राजस्वतर्फ १ खर्ब ३० अर्ब ७० करोड रूपैयाँ र गैर कर राजस्व तर्फ १३ अर्ब ११ करोड रूपैयाँ परिचालन भएको छ।

प्रतिक्रिया