पहिचानदेखी रोजगारीसम्मका एजेन्डा बोकेर चुनावमा होमिए ओभरसियर चौधरी

बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं ७ निवासी सोमराज चौधरी आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएका छन् । उनी बाँकेको क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार हुन् । उनले नागरिक उन्मुक्ति पाटीबाट उम्मेदवारको टिकट पाएका हुन् ।

इलेक्ट्रिकल ओभरसियर समेत रहेका चौधरीले पश्चिम नेपालका धेरै ठाँउ घुमेका छन् । विभिन्न संघसंस्थामा अनुभव बटुलीसकेका छन् । ‘जूनसुकै ठाँउमा काम गर्दा निम्न र मध्यम वर्गले पाउने दुःखलाई नजिकबाट देखेँ। धनीमानीले पैशा र पावरको भरमा भन्न वित्तिकै काम हुन्छ । तर सर्वसाधारणले हरेक काम शास्ति पाउने गरेका छन्’ दैनिक जीवन सहजताका लागि राजनीतिमा होमिएको बताउदै उनले भने ‘यसका लागि कसैले देला र खाउला भनेर बस्नुभन्दा अब आफ्नो गाँउ, आफै बनाउ भन्ने लाग्यो ।’ यसका लागि राजनीतिमा होमिएको थारुले बताए ।

उनले यसै निर्वाचनबाट राजनीतिको सुरुवात गरेका हुन् । नागरिक उन्मुक्ति पाटी रेसम चौधरीले स्थापना गरेको राजनीतिक दल हो ।

पहिचानदेखी रोजगारीसम्मका एजेन्डा

‘पहिचान सहितको समृद्धि’ उनको पहिलो एजेण्डा हो । उनी हरेकको पहिचान, संस्कृति सहितको समृद्धिको चाहाना राख्छन् । यसका साथै उनको पाटीका संस्थापक रेशम चौधरीको रिहाई हुनुपर्ने उनको दोश्रो एजेण्डा रहेको छ ।

यस्तै आफ्नो गाँउ, आफै बनाउ भन्ने नाराका साथ आफ्नो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको विकास समेत आफ्नो एजेन्डामा समावेश भएको बताउछन् । हरेक नागरिकले हरेक क्षेत्रबाट सहज रुपमा सेवा लिन पाउन भन्ने उनको मुख्य चाहाना हो ।

राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बेरोजगारीको ठुलो समस्या छ । त्यसकारण यस क्षेत्रबाट सयौँ युवाहरु रोजगारीका लागि भारत लगायत विभिन्न खाडि मूलुक पुग्ने गरेका छन् । कतिपयले रोजगारीकै क्रममा अकालमा ज्यान गुमाउने गरेका छन् भने कतिपय अपांग बनेर फर्किने गरेका छन् ।

आफ्नै क्षेत्रमा रोजगारीको ठुलो सम्भावना रहेको बताउदै उनले भने–‘हामीकहाँ जग्गा प्रशस्त छ । नभएर लिजमा लिएर पनि काम गर्न सकिन्छ ।’ तर यसका लागि इच्छाशक्ति चाहिने उनको भनाई छ ।

विदेशमा गर्न सकिने मेहनतले गाँउमै सुन फलाउन सकिने बताउदैँ उनी आफ्नो उदाहरण दिन्छन् । तर यसका लागि प्राविधिक शिक्षासंगै मेहनतको खाँचो पर्ने उनको भनाई छ ।

को हुन् सोमराज चौधरी ?

चौधरी २०४६ सालमा राप्ती सोनारी २ अगैयामा जन्मिएका हुन् । सामान्य परिवारमा जन्मिएका उनले वडाकै सरस्वति मावि भवानीपुरबाट कक्षा ७ सम्म अध्ययन गरे । कक्षा ८ देखि व्याचलरसम्मको पढाई सिद्धेश्वर बहुमुखी क्याम्पसबाट पुरा गरेका छन् ।

यसका साथै गाँउका सबै साथिभाईले इन्जिनियर ओभरसियर पढेको देखेर उनले पनि नेपालगन्जबाट प्राविधिक शिक्षा लिए । उनले इलेक्ट्रिकल ओभरसियर बन्न सफल भए । उनले रोयल कन्सट्रक्सनमा रहेर धनगढिमा करिब १० वर्ष जति सेवा गरे । यसका साथै विभिन्न संघसंस्थामा समेत अनुभव बटुलीसकेका उनको अहिले राप्ती सोनारी ७ मा डिलर छ ।

हाल यतै बसोबास गर्दै आएका उनको कुखुरा, चल्लाका लागि आवश्यक पर्ने दानाको व्यापार छ । उनी राजनीतिमा होमिएपछि उनका भाई राजेश चौधरीले व्यापार सम्हालिरहेका छन् ।

यतिबेला सोमराज राजनीतिमा आफूहरु जस्तो शिक्षित युवाहरुको जरुरी रहेको बताउछन् । बुढापाकाले सल्लाह, सुझाव दिनुपर्ने र काम गर्ने जिम्मेवारी आफूहरु जस्तो उर्जावान युवाहरुलाई दिनुपर्ने उनको भनाई छ । उनी साथिभाई, आफन्त, छरछिमेकसंग यतिबेला भेटघाटमा व्यस्त छन् ।

प्रतिक्रिया