नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले किसानहरुलाई हिउँदे घाँसको वीउ वितरण गरेको छ । खजुराको पशुसेवा शाखाको आयोजनामा किसानहरुलाई विउ वितरण गरिएको हो ।
व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको माध्यम बाट पशुपालन गर्न सहजहोस भन्ने उदेश्यले वीउ वितरण गरिएको पशुसेवा शाखाका प्रमुख कर्ण प्रसाद खत्रिले जानकारी दिए । दुई लाख बराबरको घाँसको विउ खरिद गरी किसानलाई वितरण गरिएको खत्रिले जनाए । बर्षिम र जै घाँसको विउ वितरण गरेको पशुसेवा शाखाले किसानलाई आफै विउ उत्पादन गर्ने गरि योजना समेत बनाएको जनाएको छ ।
वीउ वितरण कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले किसानको चाहना अनुरुप विउ वितरण गरिएको जनाए । विउ लिन आएका व्यवसायिक किसानहरुले विउ कम मात्रमा उपलव्ध गराएको भन्दै गुनासो गरेपछि अध्यक्ष विकले थप वीउ खरिद गरि किसानलाई वितरण गर्ने उल्लेख गरे । कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले किसानलाई व्यवसायिक बनाउने योजना गाउँपालिकाले बनाएका कारण यस तर्फ सबैको चासो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारी, वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेष लगाएतको उपस्थिती रहेको थियो ।