जिल्लाकै कान्छा उम्मेदवार पौडेल

निशु जाेशी-२९ असाेज: आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि बाँके क्षेत्र नं १ क बाट १० जनाको उम्मेदवारी परेको छ । त्यसमध्यका एक बलिया उम्मेदवार हुन् प्रदिप पौडेल । पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनले चुनाव चिन्ह क्याप (टोपी ) पाएका छन् । उनी यसपटकको निर्वाचनमा बाँके जिल्लाको प्रदेश सभा सदस्य उम्मेदवारमध्ये सम्भवत कान्छा उमेरका छन् ।

विभिन्न राजनीतिक दलमा बसेर काम गरिसकेका उनी स्वतन्त्र उम्मेदवारले दलिय भागवण्डा नहेरी काम गर्ने भएकाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउछन् । कामका लागि अब युवाहरुको जोसलाई प्रयोग गर्नुपर्ने समय आएकाले बुढापाकाले सल्लाह दिनुपर्ने र कामको जिम्मेवारी युवाहरुलाई सुम्पिनुपर्नेमा उनको जोड छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा उम्मेदवारी दिएका उनले ६ सय बढी मत प्राप्त गरेका थिए ।

त्यसवखतको निर्वाचदेखि हालसम्म सिकेका ज्ञान यो निर्वाचनमा काम आउने उनको भनाई छ । स्थानीय युवाहरुको चाहाना पनि राजनीतिमा युवा आवश्यक्ता भएको बुझेपछि प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको उनले बताए । यसपटकको निर्वाचनका लागि उनले नारा नै राखेका छन् ‘स्वास्थ्य, शिक्षा र रोजगारी, युवाको काँधमा जिम्मेवारी’ ।

के छन् चुनावी एजेन्डा ?
बाँकेको राप्ती सोनारी क्षेत्रमा जन्मिएका उनले यहाँको दुःखलाई नजिकबाट नियालेका छन् । राप्ती सोनारी र नरैनापुर क्षेत्रमा अझैपनि शिक्षा लिन सहज पहुँच छैन । उनले पनि वाध्यताका कारण कक्षा १२ भन्दा माथि पढ्न पाएनन् । शिक्षाले नै हरेक क्षेत्रको विकास हुने भएकाले मानीसको जीवनमा सबैभन्दा ठुलो शिक्षा भएको उनलाई महसुस भएको छ । त्यसैले उनले यसपटकको निर्वाचनमा ‘शिक्षा’ लाई प्रमुख एजेन्डा बनाएका छन् । शिक्षामा पनि प्राविधिक धारको शिक्षालाई महत्व दिने उनी बताउछन् ।

यससंगै राप्ती पारिका यी दुबै गाँउपालिकामा वर्षेनी डुबान, कटानको समस्या छ । यहि कारणले यस क्षेत्रको जनजीवन लामो समयसम्म प्रभावित हुने गरेको छ । यहि समस्याले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी लगायतका क्षेत्रमा समेत प्रत्यक्ष रुपमा असर पु¥याउने गरेको छ । यसकारण बाढी, डुबान, कटानको समस्या समाधान गर्नका लागि पहल गर्ने आफ्नो अर्को एजेन्डा रहेको उनले बताए । यससंगै शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायतका आधारभूत आवश्यक्ता पनि उनको एजेण्डामा समावेश छन् ।

को हुन् पौडेल ?
पौडेल राप्ती सोनारी –६ फत्तेपुर (टेपरी)मा २०४७ सालमा जन्मिएका हुन् । उनले गाँउकै सिद्धेश्वर माविबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरेका छन् । हाल उनी गाँउको विकास निर्माणका कामका सहजीकरण गर्दै आएका छन् । उनले २०७४ सालमा नेकपा माओवादिका कार्यहरुलाई सघाएका थिए । माओवादिको क्रान्तिले उनिभित्र राजनीतिको विजारोपण भएको थियो । २०६७ सालमा उनको जीवनमा ठुलो घटना घट्यो । तत्कालिन ज्वाला सिंह समुहले उनका भाई सन्तोष पौडेललाई अपहरण गरे । घटनापछि तत्कालिन गृहमन्त्री रहेका विजयकुमार गच्छदार नेपालगन्जमा आएका थिए । त्यसवखत सुरक्षा चुनौति देखाएपछि गच्छदारकै पहलमा फत्तेपुर ख मा अस्थायी प्रहरी चौकिको स्थापना भयो ।

यस क्षेत्रमा अपराधिक घटना घट्न नदिनका लागि त्यस समयदेखि प्रहरी चौकिले सुरक्षा दिदै आएको छ । गच्छदारको स्वागत योग्य कदमपछि पौडेल उनीबाट प्रभावित भए । फलस्वरुप २०७४ सालमा गच्छदारकै पार्टी मधेसी जनाधिकार फोरमबाट वडा सदस्यमा निर्वाचन लडे । निर्वाचन पश्चात लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसको मेलमिलाप भएपछि कांग्रेसमा रहेर समेत काम गरेको उनी बताउछन् । राजनीतिक दलहरुले निर्वाचन आउनु अघि युवाहरुलाई एक आपसमा भिडाउने, सम्बन्धमा तिक्तता ल्याउने गतिविधि गर्ने तर निर्वाचनको समयमा विभिन्न दलहरुसंग मिलिहाल्ने प्रवृतिले स्वतन्त्र उम्मेदवारी दिनुपर्ने महसुस भएकोले उम्मेदवारी दिएको उनले बताए । दलहरुले पद र पावरका लागि राजनीति गर्ने प्रवृति रहेकाले अब काम गर्ने युवाहरुलाई नेतृत्वको अवसर दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया