
नेपालगन्ज : शुक्रबार बाँकेको नेपालगन्जमा लैङ्गिक हिंसाका विषयमा अन्तरक्रिया गरियो । उक्त कार्यक्रममा उपस्थित सहभागीले नेपाली समाजमा अझै पनि लैङ्गिक हिंसाका घटनाहरुमा महिला नै बढी पीडित भएको बताए । साथै समाजमा हुने लैङ्गिक हिंसाका घटनाहरुमा महिलाहरुलाई नै दोषी देखिने गरिएको उनीहरुले बताए ।
रिकभरी नेपालले आयोजना गरेको उक्त कार्यक्रममा रिकभरी नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष इन्द्राकुमारी जिशीले बाध्य भएर महिलाहरुले लैङ्गिक हिंसाका घटनाहरु सहेर बस्नु परेको बताइन् । उनले आफ्नो श्रीमानले दिने यातना एवम् विकल्प नभएका कारण लैङ्गिक हिंसाका घटनाहरु सहेर बस्ने महिलाहरुको संख्या नेपालगन्जमा प्रशस्तै रहेको बताइन् । उनले कार्यक्रममा प्रस्तुतिकरण गर्दै महिलाहरु गर्भ अवस्था देखिनै लैङ्गिक हिंसाको सिकार हुँदै आएको बताइन् । उनले भनिन्, ‘महिलाहरुलाई गर्भ अवस्थादेखि शिशु अवस्था, बच्चा अवस्था, किशोर अवस्था, प्रजनन् अवस्था तथा वृद्ध अवस्थामा पनि लैङ्गिक हिंसा गरिन्छ ।’
त्यस्तै कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले लैङ्गिक हिंशाका विरुद्ध कानुन बनेता पनि प्रयाप्त नभएको र कम सजाय तोकिएको बताइन् । लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी सवैधानिक व्यवस्था (धारा १८) मा समान कामका लागि लैङ्गिक आधारमा समान ज्यालादर, समान वंशीय हकको व्यवस्था गरिएको छ । त्यस्तै पीडितले चाहेमा सिधैं प्रहरी, राष्ट्रिय महिला आयोग, स्थानीय तहमा लिखित तथा मौखिक उजुरी दिने प्रावधान रहेको छ ।
साथै पिडित व्यक्तिले ९० दिनभित्र सिधैं अदालतमा उजुरी दिन मिल्ने पनि प्रावधान रहेको छ । जुन प्रावधान जुन सुकै व्यक्तिमा पनि लागू हुने व्यवस्था रहेको छ । तर सो व्यवस्था भएता पनि पीडित महिलाले आफ्नो विकल्प नभएका कारण उजुरी दिन वा न्यायका लागि कारबाहीको माग गर्न नसकेको कार्यक्रमका सहभागीले बताए ।