बादी समुदायको नागरिकता बनाउन गाँउपालिकाले सघाउने

नेपालगन्ज, २७ असोज : बाँकेको राप्ती सोनारीमा बसोबास गर्दै आएका बादि समुदायको नागरिकता बनाउनका लागि गाँउपालिकाले सहजीकरण गर्ने भएको छ । सामुदायीक शशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेको आयोजनामा विहिबार राप्तीसोनारी गाँउपालिकामा आयोजित एक अन्र्तक्रियामा बोल्दै गाँउपालिकाका अध्यक्ष तप्त पौडेलले विभिन्न समस्याका कारण नागरिता पाउनबाट बन्चित बादि समुदायको नागरिकता बनाउनका लागि गाँउपालिकाले सहजीकरण गर्ने बताए ।

बादि समुदायको सवाल, सार्वजनीक सेवाको पहुँचका लागि स्थानीय सरकार र सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रियामा बोल्दै गाँउपालिकाका अध्यक्ष पौडेलले गाँउपालिका संरक्षक बनेर पनि नागरिकता दिलाई छोड्ने प्रतिवद्धता जनाए ।

यसका साथै गाँउपालिकामा बसोबास गर्दै आएका बादि समुदायका लागि छुट्टै बजेट निर्माण गर्ने, रोजगारी दिने लगायतका विषयमा आगामी नीति तथा कार्यक्रममा समेट्ने समेत बताए ।

राप्ती सोनारी गाँउपालिकामा २ सय ४० जना बादि समुदायको बसोबास रहेको कमिट नेपालका कार्यक्रम संयोजक प्रकाश नेपालीले जानकारी दिए । जसमध्य महिला ९१ जना र पुरुष ९२ जना रहेका छन् । बादि समुदायमा पुर्खौँदेखि यौन व्यवसाय भएका कारण बुबा पत्ता नलाग्ने र बालबालिकाको जन्मदर्तासंगै अधिकांश महिलाहरुले नागरिकता नपाउदा सरकारी सेवा लिनबाट बन्चित भएको नेपालीले बताए ।

कार्यक्रममा बोल्दै कमिट नेपालका बाँके अध्यक्ष प्रकाश नेपालीले राप्ती सोनारीमा भूमीहिन बादि समुदायको हितमा समेत गाँउपालिकाले काम गर्नुपर्ने अवस्था रहेको बताए । २६ घरधुरी बादि समुदाय मध्यवर्ति सामुदायीक वन अगैयामा बसोबास गर्दै आएका छन् । उनीहरुसंग आफ्नै जमिन छैन । ऐलानी जमिनमा बस्दै आएका उनीहरुको खान, बस्न लगायतको समस्या छ । सरकारले जनता आवास मार्फत घर निर्माण गरिदिने भनेपनि जमिन नभएका कारण उनीहरुले यो सुविधा लिन नपाएको उनको दुखेसो छ ।

मानवअधिकारका विषयहरु उठिरहेको यो समयमा यहाँका बादि समुदायले बाच्नका लागि संर्घष गरिरहेकाले यसतर्फ सरोकारवाला सबैले सहजीकरण गर्नुपर्नेमा नेपालीले जोड दिए ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, वडा नं ३ का अध्यक्ष मिन कुमार थारु, वडा नं ५ का अध्यक्ष झगरु थारु लगायत स्थानीय जनप्रतिनिधि, सामुदायीक वन, मध्यवर्ति वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया