नेपालगन्ज २६, असोज : आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागि बाँकेको क्षेत्र नं १ ‘क’ बाट तिर्थराज डांगीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहेका डांगीले यस क्षेत्रको विकासका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिनु परेको बताएका छन् ।
नेकपा एमालेको प्रदेश कमिटि सदस्य समेत रहेका उनले उम्मेदवारीका लागि टिकट नपाएपछि वागि उम्मेदवारी दिएका हुन् । राजनीतिको सुरुवाती चरणदेखि आफू एमालेमा रहेकाले बलियो दाबेदारका रुपमा रहेपनि टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिनुपरेको उनको भनाई छ । स्थानीयले पनि डांगीलाई संघ वा प्रदेशको निर्वाचनमा देख्न चाहेको बताउदै आएका थिए ।
चुनाव चिन्ह पानीको धारा
स्वतन्त्र उम्मेदवार डांगीले आगामी निर्वाचनका लागि चुनाव चिन्ह प्राप्त गरिसकेका छन् । पानीको धारा चुनाव चिन्ह प्राप्त गरेको उनले जानकारी दिए ।
को हुन् तिर्थराज डांगी ?
डांगी २०१७ सालमा रोल्पामा जन्मिएका हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका डांगी २०३६ सालको आन्दोलनका क्रममा थप सक्रिय बने । ०३९ सालमा बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं २ अगैयामा बसाई सरेपछि रोल्पाको राजनीति बाँकेमा पनि सुरु भयो । बाँके र रोल्पा बसाईका क्रममा पनि उनले राजनीतिलाई निरन्तरता दिइरहे ।
उनले रोल्पाबाटै माध्यामिक तहको शिक्षा पुरा गरे । ०४३ सालदेखी बाँके जिल्लाको राजनीतिले उनको साथ पायो । ०४५ सालसम्म भूमीगत रुपमा रहेर राजनीति गरेका उनी ०४६ देखि प्रत्यक्ष रुपमा राजनीति गर्न थाले ।
जनताको हितमा नरहेको ठानेपछि महाकाली सन्धि देखि लिएर पन्चायतका विरुद्धमा खरो रुपमा उत्रिए । किसान र जनजीविकाका मुद्धामा सधै आवाज उठाए ।
२०४८ सालमा जिल्ला कमिटि सदस्यका रुपमा काम गरे । सुरुवातदेखि नै एमालेमा रहेर काम गरेको भएपनि उनलाई पार्टीले संघ र प्रदेशको कुनै पनि टिकट दिएन । त्यसैले उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
के छन् एजेन्डा ?
आगामी निर्वाचनका लागि डांगीको प्रमुख एजेन्डा भनेको संगठित बजेट हो । राप्ती सोनारी र नरैनापुर जस्ता पिछडिएका क्षेत्रमा विकासका लागि संगठित बजेट आवश्यक हुने उनी बताउछन् । संगठित बजेट नभएसम्म यहाँका योजनाहरु पुरा हुन नसक्ने उनको भनाई छ ।
‘हामी कहाँ विकास निर्माण गर्दा बाटो बनाउने धारा नबनाउने, विजुली बनाउने अर्को योजना नबनाउने प्रवृति छ’ संगठित बजेटको आवश्यक्ता बारे उनले भने –‘कनिका छरेजस्तो बजेटले यहाँको गरिबि हट्न सक्तैन । शिक्षासंगै स्वास्थ्य, खानेपानी, विद्युत लगायतका सबै क्षेत्रको विकास एकैपटक भए मात्र यहाँको पुर्ण विकास हुन सक्छ । त्यसका लागि ठुलो बजेट छुट्याउनुपर्छ । यो नै मेरो प्रमुख एजेन्डा हो ।’
सबै क्षेत्रको विकासका लागि संगठित बजेट जरुरी रहेकाले यहि विषय नै आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए । उनी संगठित बजेट हुनुपर्छ भनेर यसअघिदेखि नै निरन्तर आवाज उठाउदै आएका छन् । संगठित बजेट चाहाना भएमा असम्भव नभएको उनको भनाई छ ।
संगठित बजेटले नै समग्र विकास हुने भएकाले यसलाई प्राथमिकतामा राखिएको उनले बताए । स्थानीयका माझ उनी लोकप्रिय नेताका रुपमा चिनिएका छन् । स्थानीयले पनि उनको नेतृत्वको जरुरी रहेको बताउदै आएका छन् ।