नेपालगन्ज : कुखुरा विकास फार्म खजुराले कालिज पालन समेतलाई अघि बढाएको छ । बाँकेको जानकी गाउँपालिका खजुरामा रहेको लुम्बिनी प्रदेश सरकार अन्तरर्गत संचालनमा रहिआएको सरकारको एक मात्र कुखुरा विकास फार्मले कालिजको चल्ला उत्पादन गर्न अग्रसर भएको हो ।
कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा. शकर न्यौपानेले पहाडमा मात्र नभएर तराईका जिल्लाहरुमा पनि कालिज पालन गर्न सकिने भएकोले यसको चल्ला उत्पादनतिर ध्यान दिएको उल्लेख गरे । कालिजको मासुको माग अत्याधिक रहेको तर यसको चल्लाको मुल्य पनि धेरै हुदाँ किसानहरुले सहजै पालन गर्न नसकिरहेको अवस्थामा प्रदेश स्थरबाटै यसको उत्पादन र बजारिकरणलाई ध्यान दिदै यस आर्थिक वर्ष बाट सुलभ मुल्यमा चल्ला उपलब्ध गराउन काम सुरु गरिएको डा. न्यौपानेले जानकारी दिए ।
‘अब केहि दिन पछि कालिजका चल्ला किसानलाई १५० रुपैया प्रति गोटाका दरले विक्रि वितरण गर्ने छौं’ – डा. न्यौपानेले भने । कालिजको १ दिने चल्ला देखी ८ हप्ते सम्मको दर रेट पनि प्रदेश सरकारले नै तोकिसकेको र सोहि अनुरुप विक्रि गरिने कुखुरा विकास फार्मका सुचना अधिकारी कर्मध्वज छत्यालले जानकारी दिए । छत्यालका अनुसार १ हप्तासम्मको १५०, ४ हप्तेको २५०, ६ हप्तेको ४०० र ८ हप्तेको ५५० रेट कायम गरिएको छ ।
कुखुरा विकास फार्म खजुरामा कालिज संगै लोकल, क्रस, गिरिराज, कडकनाथ, न्यू हेम्प्सायर र ब्ल्याक अस्टालोप जातका कुखुरा तथा चल्लाहरु उत्पादन गरि ग्रामिण किसान तथा व्यवसायिक किसानमाझमा पुगाइरहेको छ ।