
निशु जोशी, नेपालगन्ज, २५ असोज : करिब एक साता परेको वर्षाका कारण राप्ती सोनारी गाँउपालिकाका साढे ५ हजार मानीसहरु प्रभावित भएका छन् । गत असोज १८ गतेदेखि लगातार परेको वर्षाले आएको बाढी र डुबानमा परि गाँउपालिकाका साढे ५ हजार मानीसहरु प्रत्यक्ष रुपमा प्रभावित भएको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाको विपत व्यवस्थापन शाखाका अनुसार ९ वटै वडाका १ हजार ८७ घरधुरीका ५ हजार ४ सय ३५ जनसंख्या प्रभावित भएका हुन् ।
सबैभन्दा बढी गाँउपालिकाको वडा नं १ र २ मा क्षति पुगेको छ । सबैभन्दा बढी वडा नं २ का टिकुलीपुर, कचनापुर, खोरिया र राजपुर टोलमा बढी क्षति पुगेको छ । यहाँ आएको बाढी र डुबानबाट करिब २ हजार जनसंख्या प्रभावित भएको छ । वडाका १ हजार ९ सय ५० जना प्रभावित भएका छन् ।
वडा नं १ को चप्परगौडि र बाघखोरका गरी १ हजार ४ सय ७० जना प्रभावित भएका छन् ।
यस्तै वडा नं ३ को साइपुर, जंगपुर, सिनाबास र बैसामा गरि ३ सय ६५ जना प्रभावित भएको गाँउपालिकाको तत्थ्यांक छ । वडा नं ४ को लालपुर, भगवानपुर र पसामा धेरै क्षति पुगेको छ भने यहाँका २ सय ५० जना प्रभावित भएका छन् । वडा ५ मा धेरै क्षति नपुगेको भएपनि १५ जना बाढी र डुबानको मारमा परेका छन् । वडा ६ को गुलरी, जुरैया र ठेलाहियामा धेरै क्षति पुगेकाले यहाँका ६ सय जना मानीसहरु प्रभावित बन्न पुगेका छन् । यस्तै वडा नं ७ का ७ सय ५० जना प्रभावित भएका छन् भने वडा नं ८ को बालापुरमा १५ जना र वडा नं ९ को ढकेरीमा २० जना प्रभावित भएका छन् ।
१ हजार ८७ घरधुरीमा क्षति
बाँकेको राप्ती सोनारी गाँउपालिकामा १ हजार बढी घरमा रुपमा क्षति पुगेको छ । दशैको अघिल्लो दिनदेखी करिब १ साता परेको अबिरल वर्षाले गाँउपालिकाका १ हजार ८७ घरधुरीमा क्षति पुगेको गाँउपालिकाले जनाएको छ ।
करिब एक सातासम्म लगातार परेको वर्षाका कारण आएको बाढी र डुबानले पुगेको क्षतिको विवरण संकलन गरि गाँउपालिकाले मंगलबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा गाँउपालिकाका विपत व्यवस्थापन शाखा संयोजक जीवन न्यौपानेले ९ वटै वडामा क्षति विवरण संकलन गरिएको जानकारी दिदैँ १ हजार ८७ घरमा क्षति पुगेको जानकारी दिए । ७१ घरमा भने पुर्ण रुपमा क्षति पुगेको उनले बताए ।
गाँउपालिकामा सबैभन्दा बढी वडा १, २, ६ र ७ मा क्षति पुगेको छ । वडा १ मा रहेका २ सय ९४ घरधुरी प्रभावित भएकोमा ४५ घरमा पुर्ण रुपमा क्षति पुगेको छ ।
वडा २ मा ३ सय ९० घरधुरी प्रभावित भएकोमा ३ घरमा पुर्ण रुपमा क्षति भएको छ । वडा नं ६ मा १ सय २० घरधुरी प्रभावित भएका छन् भने ३ घरमा पुर्ण रुपमा क्षति पुगेको छ । वडा ७ मा १ सय ५० घरधुरी प्रभावित भएकोमा १० वटा घरमा पुर्ण रुपमा क्षति पुगेको छ ।
वडा ३ का १ घर, वडा ४ का ५ घर, वडा ५ का ३ घर, वडा ६ का ३ घर र ८ मा १ घर गरि ७१ घरमा पुर्ण रुपमा क्षति पुगेको तत्थ्यांक संकलन गरिएको छ । वडा नं ९ मा कुनै पनि घरमा पुर्ण रुपमा क्षति पुगेको छैन भने यहाँका ४ घरधुरी प्रभावित भएका छन् । घरहरुमा बाढी र डुबानले क्षति पु¥याएको हो ।
वडा १ का ७० घरधुरीलाई राहत
राप्ती सोनारी गाँउपालिकाले बाढी तथा डुबानबाट प्रभावित भएकाहरुलाई राहत दिन सुरु गरेको छ । बाँकेमा सबैभन्दा धेरै राप्ती सोनारी गाँउपालिकामा बाढी र डुबानले क्षति पुगेको बताउदै गाँउपालिकाका अध्यक्ष तप्त पौडेलले क्षतिको विवरण संकलन गर्नेदेखि राहत वितरणको प्रक्रिया समेत सुरु गरेको जानकारी दिए ।
गाँउपालिकाको वडा नं १ का ७० घरधुरीलाई पालिका र वडाको सहयोगमा राहत वितरण गरिएको उनले जानकारी दिए । वडामा १ हजार २ सय ५० किलो चामल, १ सय किलो दाल, ५० किलो नुन, ५० लिटर तेल, ४६ वटा कम्मल गरि अन्य आवश्यक सामाग्री वितरण गरिएको हो । प्रभावितहरुको आवश्यक्ताका आधारमा सानो ठुलो डेक्चि १ सय वटा वितरण गर्नुका साथै थाली, कचौरा, डाडु पन्यु ५०÷५० वटा वितरण गरिएको छ ।
गाँउपालिकाले ५० घरधुरीका लागि र वडा १ को कार्यालयले २० घरधुरीका लागि राहत वितरण गरेको जनाएको छ । गाँउपालिकाले प्रतिघर २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, कम्बल १, डेक्ची सानो ठुलो गरि २ वटा, डाडु, पनिउ, थाली कचौरा, त्रिपाल, गीलास गरि १÷१ का दरले वितरण गरेको जनाएको छ ।
यता वडाले २० घरधुरीका लागि प्रतिपरिवार चामल २५ किलो, दाल ३ किलो, तेल १ लिटर, नुन १ किलो, सोयाविन ०.५ किलो राहत स्वरुप वितरण गरेको जनाएको छ । यसका साथै ४ घरधुरीको आवश्यक्ताका आधारमा भाडाकुडा पनि वितरण गरिएको छ । प्रतिपरिवार डेक्चि २, थाली २, बाटा २, डाडु, पन्यू, बाल्टिन, जग १÷१ थान वितरण गरिएको जनाएको छ ।
राहत तथा पुनस्थापनाका लागि छलफल
वर्षाले पारेको प्रभाव र प्रभावितहरुलाई राहत र पुर्नस्थापना गर्ने सन्दर्भमा राप्ती सोनारी गाँउपालिकामा छलफल भएको छ । गत असोज १८ गतेदेखि २३ गतेसम्म निरन्तर परेको वर्षाले गाँउपालिकामा बाढी र डुबानले पारेको क्षतिबारे जानकारी दिन र प्रभावितहरुको राहत र पुनस्थापनाका लागि मंगलबार सरोकारवालाहरु विच छलफल गरिएको गाँउपालिकाले जनाएको छ ।
कार्यक्रममा यो एक सातामा गाँउपालिकामा भएको क्षतिको विवरण सार्वजनिक गरिएको छ । केहि घरहरुमा बाढी र डुबानले आंशिक रुपमा क्षति पुगेको अवस्था छ भने केहि घरहरुमा पुर्ण रुपमा क्षति पुगेको छ ।
घरमा पुर्ण रुपमा क्षति पुगेर विस्तापित बनेका स्थानीयहरु आश्रयस्थलमा बसीरहेका छन् । हाल करिब २ सय जना साइपुर सेल्टर हाउसमा आश्रय लिइरहेको गाँउपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।
यसपटक ठुलो वर्षा भएको उनले बताए । गतवर्ष पनि असोजमा परेको पानीले यस क्षेत्रका किसानहरुको धानबालीमा ठुलो क्षति पुगेको थियो । यसवर्ष पनि केहि किसानको धानबालीमा क्षति पुगेको छ । बाढीले काटेको धानै बगाएको अवस्था रहेको अध्यक्ष पौडेलले बताए ।
गाँउपालिकाको प्रमुख आम्दानीको श्रोत कृषि भएकाले वर्षाका कारण कृषिमा ठुलो क्षति पुगेको उनले बताए । अन्नबालीमा भएको क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।
क्षतिको विवरण अध्यावधिक गर्ने विषयमा सम्वद्ध वडाध्यक्षहरुले छलफल समेत गरेका छन् । प्रभावितहरुलाई छुट्न र दोहोरीन नदिनका लागि आफूहरु चनाखो रहेको उनीहरुले बताए ।
राहत वितरणमा एकरुपता ल्याउने सन्दर्भमा समेत कार्यक्रममा छलफल भएको गाँउपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताइन् । यस्तो विपतको समयमा गैरसरकारी संस्था, स्थानीय अन्य सरोकारवाला लगायतले गर्न सक्ने सहयोग लगायत विविध ९ वटा एजेण्डामा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशाशकिय अधिकृत, गाँउपालिकाका अन्य कर्मचारी लगायत ९ वटै वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
