खसी भनेर बाख्रीको मासु बेच्दै नेपालगन्जका मासु व्यापारी

नेपालगन्ज, १४ असोज : नेपालगन्जको रामलिला मैदान नजिकैको मासु मण्डीमा रहेका व्यापारीहरुले काट्नका लागि लुकाएर राखेका ६ वटा बाख्राह बाख्राहरु फेला परेका छन् । शुक्रबार संयुक्त बजार अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयको परिसरको कुनामा र नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचायको पछाडिपट्टि बाख्राहरु लुकाएर राखेको पाइएको हो । अनुगमन टोलीले ६ वटा बाख्रासहित एउटा खसी र एउटा भेडा जिल्ला प्रशासन कार्यालयको परिसरमा राखिएको फेला पारेको हो । अनुगमन टोलीले जिल्ला प्रशासनमा खबर गरेपछि प्रशासनका सुरक्षाकर्मीले ती खसी र बाख्राहरु नियन्त्रणमा लिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले ती बाख्राका सम्बन्धमा कानुनअनुसार कारबाही अघि बढाइने बताएका छन् ।

अनुगमनका क्रममा स्थानीय चाँद खसी मासु फ्रेस हाउसका सन्चालकले मासु मापदण्डको उल्लंघन गर्दै काठमाडौं पठाउन लागेको पाइएको छ । खसीको खुर र फल मासु एउटै प्याकेजमा आइससमेत नहालेर पठाउन लागेको फेला परेको हो । ती पसल सन्चालकलाई अनुगमन टोलीले मापदण्ड पालना गरेर मात्रै मासु पठाउन निर्देशन दिएको छ । ती मासु पसलेले भेटेरीनरी प्रमाणपत्रसमेत नबनाएर मासु काठामाडौं पठाउन लागेको फेला परेको थियो ।

यसैगरी अनुगमन टोलीले नेपालगन्ज वडा नम्बर दुईस्थित मासु पसलहरुको पनि अनुगमन गरेको छ । त्यसक्रममा त्यहाँ रहेका कुनैपनि मासु पसलले मापदण्ड पालना नगरेको, फोहोर वातावरणमा मासु बेचिरहेको पाइएको छ । फिल्महलको पछाडिको ढोकाकै छेउमा रहेको एक मासु पसल पनि तीन वर्षदेखि दर्ताबिनै सन्चालनमा रहेको पाइएपछि प्रक्रिया पूरा नहुन्जेलसम्म सन्चालनमा रोक लगाइएको छ ।

सबै मासु पसलहरुलाई सबै मापदण्ड पालना गर्न निर्देशन दिँदै अर्काेपटक सुधार नगरिएको पाइए कारबाही गरिने अनुगमन टोलीले निर्देशन दिएको हो । अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी कार्यालय, नेपालगन्ज उपमहानगरपालिका एवं उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधि तथा पत्रकारहरु सहभागी थिए ।

प्रतिक्रिया