नेपालगन्ज : नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिले पाँचजना पदेन सदस्यहरु मनोनित गरेको छ । कार्यसमितिको तेस्रो बैठकले पाँचजना आमन्त्रित पदेन सदस्यहरु कार्यसमितिले चयन गर्ने विधानको व्यवस्थाअनुसार मनोनित गरिएको सचिव मणी अर्यालले जानकारी दिए ।
मनोनयन गरिएका पदेन सदस्यहरुमा शिक्षित महिलातर्फ ललिता उपाध्याय, नजिकका विद्यालयका शिक्षकमा मंगलप्रसाद माविमा कार्यरत ऋचालक्ष्मी श्रेष्ठ, स्थानीय निकायको प्रतिनिधिमा पुस्तकालय अवस्थित नेपालगन्ज वडा नम्बर ८ का वडाध्यक्ष वा निजले तोकेका व्यक्ति, प्रतिष्ठित व्यक्तिमा वरिष्ठ साहित्यकार सनत रेग्मी र गैरसरकारी संस्थाका तर्फबाट सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारीप्रसाद भट्ट रहेका अर्यालले जानकारी दिए । यसैगरी नरैनापुर गाउँपालिकासँग पुस्तक राख्ने दराजका लागि माग गर्ने निणर्य पनि बैठकले गरेको छ । यससँगै अब पुस्तकालयले थप तीव्रताका साथ काम अघि बढाउने अर्यालको भनाइ छ ।
पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा बसेको बैठकले पुस्तकालयको तीन वर्षे र एक वर्षे कार्ययोजना तयार गर्ने निणर्य पनि गरेको छ । कार्ययोजनाका लागि गृहकार्य अन्तिम चरणमा रहेको अध्यक्ष यादवले बताएका छन् । यसैबीच पुस्तकालयका लागि आवश्यक सुझाव संकलनसमेत गर्ने उदेश्यले असोज १४ गते शुक्रबार दशैंतिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिने सचिव अर्यालले जानकारी दिएका छन् ।